कांग्रेस कम्युनिस्टहरूको मित्र पार्टी हो : गौतम

'कांग्रेस र कम्युनिस्ट मिल्दा मात्र खोसिएको जनताको अधिकार प्राप्त भएको छ'

असार ११, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कांग्रेस र कम्युनिस्ट पार्टीहरू मिल्दा मात्रै नेपालमा परिवर्तन र विकास सम्भव भएको बताएका छन् । शनिबार 'नेकपा राष्ट्रिय एकता अभियान'को दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गौतमले कांग्रेसलाई हेर्ने आफ्नो दृष्टिकोण बदलिएको बताएका हुन् ।

पहिले गाली गरे पनि कांग्रेस परिवर्तन र सुधारको पक्षधर पार्टी भएको उनको भनाइ थियो । 'पहिले हामीले नेपाली कांग्रेसलाई गाली गर्‍यौँ  । यो दलाल पुँजीपतिहरूको पार्टी हो भनेर भन्यौँ । तर नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी नमिल्दा सम्म कहिल्यै पनि जनताले अधिकार पाएनन् । नेपालको विकास निर्माणको काम पनि अगाडि बढेन,' उनले भने । 

कांग्रेस र कम्युनिस्ट पार्टीकै कारण स‌ंवैधानिक लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उनको भनाइ थियो । 'जब दुइटा पार्टी मिले खोसिएको जनताको अधिकार सुस्त सुस्त प्राप्त हुने काम सुरु भयो । सबैभन्दा पहिले २०४७ सालमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र पुन:स्थापना भयो । त्यसपछि कांग्रेस र कम्युनिस्ट मिले, राजतन्त्र समाप्त भयो र संवैधानिक लोकतान्त्रिक गणतन्त्र स्थापना भयो,'उनले भने । 

कांग्रेस र कम्युनिस्ट मिलेर गरेका आन्दोलन मात्रै सफल भएको उल्लेख गर्दै गौतमले भने, ' नेपालमा कांग्रेसले एक्लै नेतृत्व गरेका आन्दोलन पनि सफल भएका छैनन्, कम्युनिस्ट एक्लैले गरेका आन्दोलन पनि सफल भएका छैनन् । दुइटा मिलेर गरेका आन्दोलन मात्र सफल भएका छन् । यसबाट के पुष्टि हुन्छ भने नेपाली कांग्रेस दलाल नोकरशाही पुँजीपति वर्गको पार्टी होइन । यो पुँजीवादी पार्टी हो । सुधारवादी पार्टी हो । राष्ट्रिय हितका निम्ति वकालत गर्ने राष्ट्रिय पुँजीवादी पार्टी हो । त्यसकारण कांग्रेस कम्युनिस्ट पार्टीको पनि मित्र पार्टी हो ।'

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका दलहरूलाई दबाब दिएर एमसीसी सम्झौता संसद्‍बाट पारित गराएको पनि गौतमले बताए । 'कांग्रेसलाई मात्र नेतृत्व सुम्पने हो भने नआउनुपर्ने एमसीसीजस्ता कार्यक्रमहरू आउँछन् । एमसीसी पनि कांग्रेस प्रधानमन्त्री शेरबहादुर देउवाका पालामै तत्कालीन अर्थमन्त्रीले हस्ताक्षर गर्नुभयो । अहिले पनि गठबन्धनका पार्टीलाई उहाँले दबाब दिनुभयो । त्यसपछि प्रचण्ड पनि प्रचण्ड रहनु भएन उहाँ पुष्पकमल दाहाल मात्र रहनु भयो । माधव नेपाल पनि खुट्टा कमाउन्नँ भन्नुहुन्थ्यो तर त्यसो भएन,' उनले भने । 

कान्तिपुर

Link copied successfully