स्वदेशी शिक्षालाई प्रोत्साहन गर्न एडुफेयर 

विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक क्यालेन्डर लागू गर्न सके विद्यार्थी विदेश जानु नपर्ने विज्ञको भनाइ
पहिलो दिन करिब २५ हजार विद्यार्थी, अभिभावक र सरोकारवालाले गरे अवलोकन

काठमाडौँ — विद्यार्थी र अभिभावकलाई स्वदेशकै शिक्षण संस्थामा पढ्न–पढाउन प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबारदेखि राजधानीमा शैक्षिक मेला सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शुक्रबार ‘कान्तिपुर हिसान एडुफेयर (मेला)’ को उद्घाटन गरे ।

स्वदेशी शिक्षालाई प्रोत्साहन गर्न एडुफेयर 

मेला उद्घाटन गर्दै उनले सरकार र निजी क्षेत्रले लगानी बढाउँदै लगे नेपाललाई शिक्षाको अन्तर्राष्ट्रिय हब बनाउन सकिने प्रस्ट्याए । त्यसका लागि नेपाली विद्यार्थीलाई पढ्न विदेश पठाउने प्रवृत्ति रोक्नुपर्ने उनको धारणा थियो ।

विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक क्यालेन्डर लागू गर्न सके विद्यार्थी विदेश जानु नपर्ने उनको भनाइ थियो । ‘विश्वविद्यालयले समयमा नै भर्ना नखोल्दा पनि विद्यार्थी विदेश जान बाध्य छन्, नतिजा पनि समयमा आउँदैन,’ उनले भने, ‘विद्यार्थी मात्रै विदेश गएका छैनन्, वार्षिक अर्बौं नेपाली रुपैयाँ विदेश पुगेर आर्थिक संकटको स्थिति आएको छ ।’ राज्यले शिक्षाको सम्पूर्ण जिम्मा लिन सक्ने अवस्था नभएकाले निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको उनको भनाइ थियो । त्यसका लागि निजी क्षेत्रबाट विश्वविद्यालयसमेत सञ्चालन गरिनुपर्ने उनले जनाए ।

‘लगानीकर्ताले पनि शिक्षालाई पूरै व्यापार ठान्नु हुँदैन, सेवामूलक क्षेत्र हो भन्ने ठानेर लगानी वृद्धि गर्दै जानुपर्छ,’ उनले भने । काठमाडौं उपत्यकाबाहिर पनि लगानी गर्न र सुविधा सम्पन्न शिक्षण संस्था विस्तार गर्न उनले सुझाव दिए ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले शैक्षिक मेलाले नेपालमै सञ्चालनमा रहेका शिक्षण संस्था प्रवद्र्धनमा टेवा पुर्‍याउने बताए । ‘विदेशका विश्वविद्यालयले दिने स्तरको शिक्षा दिन कहाँ चुक्यौं ?’ प्रश्न गर्दै उनले भने, ‘समीक्षा गर्ने बेला भएको छ, सरकारी र निजी शिक्षालयले सहकार्य गरेर अन्तर्राष्ट्रिय मापदण्डको शिक्षा स्वदेशमै दिन सकिन्छ ।’ शर्माले परीक्षा सकेको साढे दुई महिनामा नतिजा सार्वजनिक गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।

‘कोरोनाले शैक्षिक क्यालेन्डर केही प्रभावित भएको छ, त्यसलाई बोर्डले मिलाउँछ, समयमा नै परीक्षा लिने र नतिजा सार्वजनिक गर्ने व्यवस्था मिलाइन्छ,’ उनले भने, ‘यसबाट पनि विदेश जाने विद्यार्थीलाई यहीँ पढ्न प्रोत्साहन मिल्छ ।’ परीक्षा प्रणाली सुधार गर्ने योजना बोर्डको प्राथमिकतामा रहेको र त्यसका लागि शिक्षकको क्षमता वृद्धि गरिने उनको भनाइ थियो ।

नेपाली विद्यार्थीलाई नेपालमै बसेर शिक्षा लिन प्रोत्साहन गर्ने उद्देश्यले मेला आयोजना गरिएको हिसानका अध्यक्ष रमेश सिलवालले बताए । ‘विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक क्यालेन्डर बनाएर लागू गर्न सके विदेश जाने विद्यार्थीको संख्यामा केही हदसम्म कमी आउँछ,’ उनले भने, ‘राज्यले समेत सरकारी र निजी शिक्षण संस्थालाई उचित मार्गनिर्देशन गर्न सकेको छैन ।’

कान्तिपुर पब्लिकेसन्सका सीईओ महेश स्वाँरले उत्कृष्ट शिक्षा नेपालमै सम्भव छ भन्ने सन्देश दिन मेला आयोजना गरिएको जनाए । ‘त्यसका लागि कान्तिपुरले हिसानसँग सहकार्य गरेको हो,’ उनले भने, ‘मेला अवलोकन गरेर विद्यार्थी अभिभावकले आफूलाई सुहाउँदो शिक्षण संस्था रोज्न सक्नेछन् ।’

स्वदेशकै शिक्षण संस्था, विषय, पठनपाठन पद्धति छनोट, भर्ना, छात्रवृत्ति मापदण्डलगायतका विषयमा जानकारी दिने उद्देश्यले आयोजित मेलामा ७४ शिक्षण संस्थाका स्टल छन् । एसईई उत्तीर्णपछि कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई लक्षित गरी मेला सञ्चालन गरिएको संयोजक युवराज शर्माले जानकारी दिए । शिक्षाका लागि सरकारले कानुनसमेत बनाउन नसकेको गुनासो गर्दै उनले कानुन अभावमा शिक्षण संस्थाले दीर्घकालीन योजना बनाउन नसकेको बताए । सरकारले शिक्षण संस्था सञ्चालनको मापदण्ड तोक्नुपर्ने उनको सुझाव थियो ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ नारा दिइएको मेला सोमबारसम्म सञ्चालन हुनेछ । आयोजकका अनुसार पहिलो दिन करिब २५ हजार विद्यार्थी, अभिभावक र सरोकारवालाले अवलोकन गरेका छन् । शनिबार विद्यार्थीबीच कविता प्रतियोगितासमेत हुँदै छ । एसईई दिएर बसेका करिब ५ लाख विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको हो । मेलामा उपस्थित हुन नसक्ने विद्यार्थीले अनलाइनबाट पनि अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

मेलामा १ हजारभन्दा बढी विद्यार्थीका लागि पूर्ण तथा आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ । कान्तिपुर हिसान एडुफेयरको यो सातौं संस्करण हो । कक्षा १२ का विद्यार्थीलाई लक्षित गरी छिट्टै उच्च शिक्षासम्बन्धी मेला आयोजना गरिने आयोजकको भनाइ छ ।

के भन्छन् विद्यार्थी ?

इन्जिता श्रेष्ठ

डल्लु, काठमाडौं

मैले एसईई सकें, अब विज्ञान पढ्ने तयारीमा छु । मेलामा नामै नसुनेको कलेजबारे पनि बुझ्ने मौका पाएँ । स्वयंसेवकहरूले शिक्षण संस्थाका बारेमा विविध जानकारी दिनुभयो । के पढ्ने, कहाँ पढ्ने भनेर धेरै नै कन्फ्युजमा थिएँ, मेलामा आएपछि प्रस्ट भएँ । विज्ञानमा पनि के पढ्ने भन्ने दोधार थियो । विद्यार्थी, अभिभावकले आएर मेला घुम्दा धेरै नै सहयोग पुग्ने रहेछ । अब कुन विषय पढ्ने भन्ने अन्योल हटाउन मेला उपयोगी लाग्यो ।

०००

अजय साह

गोलबजार, सिरहा

मैले म्यानेजमेन्ट पढ्ने विचार गरेको छु । मेलाका स्टलहरूमा सबै कलेजले एउटै कुरा भने । सुविधाहरू उस्तैउस्तै रहेछन् । एउटै विषय पढ्न पनि विषयचाहिँ कलेजपिच्छे फरक रहेछन् । अब आफूलाई मन परेका कलेज घुम्ने विचारमा छु । शुल्क, ल्याब, पुस्तकालयबारे जानकारी पाएँ । शिक्षकले कसरी पढाउँछन्, कोर्स कहिले सकिन्छ लगायतका समयतालिका पनि पाएँ । शिक्षण संस्थाका बारेमा बुझ्नचाहिँ मेलामा सजिलो भयो । धेरै ठाउँ डुल्न नपर्ने ।

०००

सृष्टि निरौला

बुढानीलकण्ठ, काठमाडौं

प्लस टुमा म्यानेजमेन्ट पढ्ने सोच्दै छु । म अभिभावकको सल्लाहमा मेला आएको हुँ । यहाँ सस्तोदेखि महँगो कलेजका बारे जानकारी पाएँ । छात्रवृत्तिबारेमा पनि थाहा भयो । कलेजपिच्छे गुणस्तर पनि फरक रहेछ कि जस्तो लाग्यो । अतिरिक्त क्रियाकलापबारे पनि जानकारी दिइने रहेछ । शिक्षकहरूसँग पनि मेलामै भेट हुने अवसर रहेछ । इन्ट्रास र कलेज भिजिट गर्न समय पनि दिनुभएको छ । हामीजस्ता विद्यार्थी एक पटक मेला आए धेरै कुरा थाहा हुन्छ ।

०००

सुदीप खड्का

चन्द्रागिरि, काठमाडौं

मेलामा कलेजका धेरै राम्राराम्रा मात्र कुरा सुनियो । अब आफू पढ्ने कलेजको भिजिट गर्ने विचारमा छु । आफ्नो आर्थिक अवस्थाअनुसार कुन विषय पढ्ने, सोच्नुपर्ने रहेछ । म कक्षा ११ मा भर्ना हुने तयारीमा छु । कलेजको पढाइ हुने समयतालिका, सातापिच्छे हुने परीक्षा, शुल्क, खेलकुद, भ्रमणलगायत कार्यक्रमबारे पनि जान्न पाइयो । एकै ठाउँमा धेरै कलेजबारे जानकारी पाउने मेला एकदमै उपयोगी लाग्यो ।

प्रकाशित : असार ११, २०७९ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?