कांग्रेसको नीति, अनुसन्धान प्रतिष्ठानको प्रमुखमा उपसभापति खड्का मनोनीत- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसको नीति, अनुसन्धान प्रतिष्ठानको प्रमुखमा उपसभापति खड्का मनोनीत

किसान संघको अध्यक्षमा गणेश तिमिल्सिना र आदिवासी जनजाति संघको अध्यक्षमा ओमबहादुर घर्तीमगर मनोनीत
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्का मनोनीत भएका छन् । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उपसभापति खड्कालाई प्रतिष्ठानको प्रमुखमा मनोनयन गरेका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले विधानको धारा ३६ (१) (क) बमोजिम उपसभापति खड्कालाई केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा मनोनीत गरेको जानकारी दिए ।

त्यस्तै, सभापति देउवाले दुई वटा भ्रातृ संस्थाको अध्यक्षसमेत मनोनयन गरेका छन् । सभापति देउवाले शुक्रबार नेपाल किसान संघको अध्यक्षमा गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति संघको अध्यक्षमा ओमबहादुर घर्ती मगरलाई नियुक्त गरेका हुन् ।

यसअघि बसेको पार्टीको केन्द्रीय समिति बैठकले नेतृत्वबिहीन रहेका भ्रातृ संस्थाका पदाधिकारी नियुक्ति गर्ने अधिकार सभापति देउवालाई दिएको थियो । मुख्यसचिव पौडेलकाअनुसार पार्टी विधानको धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएका पार्टी भ्रातृ संघहरूको अध्यक्ष पदमा उनीहरूलाई नियुक्त गरिएको हो ।

प्रकाशित : असार १०, २०७९ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्

सूर्यविनायक नगरपालिकाकाको बजेट १ अर्ब ९२ करोड

कान्तिपुर संवाददाता

भक्तपुर — सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि १ अर्ब ९२ करोड १८ लाख रूपैयाँ अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा शुक्रबार भएको नगरसभाको ११ औं अधिवेशनमा उपप्रमुख सरिता तिम्सिना भट्टराईले बजेट सार्वजनिक गरेकी हुन् । 

नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि चालुतर्फ विषय क्षेत्रगत समिति र शाखाबाट प्रस्तावित कार्यक्रम संचालन गर्न २४ करोड ८२ लाख ३५ हजार रुपैयाँ, सामाजिक सुरक्षा भत्तामा १६ करोड रुपैयाँ, ससर्तका कार्यक्रम संचालन गर्न २६ करोड ६७ लाख ८४ हजार रुपैयाँ, चालु खर्चतर्फ २५ करोड २५ लाख रुपैयाँ र पुँजीगत कार्यक्रमतर्फ ९९ करोड ४३ लाख ५८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट २२ करोड २८ लाख ७५ हजार रुपैयाँ, घरजग्गा रजिष्ट्रेशनबाट ३५ करोड रुपैयाँ, चालु आर्थिक वर्षको राजस्व बचतबाट २५ करोड रुपैयाँ, संघ र प्रदेशबाट प्राप्त वित्तीय समानीकरण अनुदान २५ करोड ५ लाख १३ हजार रुपैयाँ, संघ र प्रदेशबाट प्राप्त सशर्त अनुदान ४२ करोड ६७ लाख ८४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, प्रदेशबाट प्राप्त विशेष अनुदान ७५ लाख रुपैयाँ, संघ तथा प्रदेशको राजस्व बाँडफाँटबाट १५ करोड ४२ लाख ५ हजार रुपैयाँ, समपूरक योजना कार्यान्वयनको लागि जिल्ला समन्वय समिति र प्रदेशबाट ५ करोड रुपैयाँ, सामाजिक सुरक्षा कार्यक्रमबाट १६ करोड रुपैयाँ, सडक बोर्डबाट १ करोड रुपैयाँ र नगद लागत सहभागिताबाट ४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको उपप्रमुख भट्टराईले बताइन् ।


प्रकाशित : असार १०, २०७९ २२:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×