३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी गर्न माधव नेपालको निर्देशन

'नजानिँदो रूपमा देश अन्तर्राष्ट्रिय शक्तिको खेल मैदान बन्यो'

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघ तथा प्रदेशको निर्वाचनमा सबै क्षेत्रबाट उम्मेदवार उठाउने गरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रबारबाट सुरु भएको पोलिटब्युरो बैठकमा गठबन्धनका लागि खुला भए पनि देशभर उम्मेदवार उठाउने गरी तयारीका लागि परिचालन हुन निर्देशन दिएका हुन् । 

सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी गर्न माधव नेपालको निर्देशन

'चुनावको तयारीका विषयमा बोल्दै अध्यक्ष नेपालले गठबन्धनलाई प्राथमिकता दिए पनि गठबन्धन मात्रै भनेर बस्दैनौँ, गठबन्धनले हामीलाई मुख्य एजेन्डा बनाउँछ कि बनाउँदैन भन्ने विषयमा पनि ध्यान दिन्छ भन्नुभयो,' प्रवक्ता जगन्नाथ खतिवडाले भने 'सबै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार उठाउने गरी तयारी साथ लाग्दछ र लाग्नुपर्दछ । त्यसैअनुसार कार्यकर्ताहरु पनि लाग्नुहोस भनेर आह्वान गर्नु भएको छ ।'

उनले स्थानीय तहको चुनावमा कांग्रेस र माओवादीले विगतमा गरेको व्यवहारलाई' करेक्सन' गरेपछि मात्रै गठबन्धनले सशक्त हुने बताएका थिए । 'माओवादी र कांग्रेस करेक्सन भयो भने मात्रै बढी स्थान जित्न सकिन्छ । त्यसैले पहिले कांग्रेस र मा‌ओवादी सच्चिनु पर्छ,' खतिवडाले भने । स्थानीय तह चुनावमा कांग्रेस र माओवादीले गठबन्धनभित्र उपगठबन्धन बनाएको अध्यक्ष नेपालले बताउँदै आएका छन् । सो दलले यसअघि नै कांग्रेस र माओवादीले गठबन्धनभित्र धोका दिएको आरोप लगाउँदै आएको छ ।

देशको भूराजनीतिक परिस्थितिको बारेमा चर्चा गर्दै अध्यक्ष नेपाले अन्तर्राष्ट्रिय शक्तिहरूको खेल मैदानका रूपमा विकास हुन लागेको धारणा राखेका थिए ।

'नेपालको असंलग्न परराष्ट्र नीति प्रतिकूल हुनेगरी कुनै पनि प्रकारको सैन्य गतिविधि वा गठबन्धन वा कुनै पनि गतिविधिमा संलग्न अवस्था सिर्जना गर्न पूरै पार्टी पंक्ति परिचालन गर्नुपर्ने र धारणा बनाउनु पर्ने जोड दिनु भएको छ,' खतिवडाले भने, 'नजानिँदो ढंगले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको देश खेल मैदान बन्न लागेको अवस्था बनेको बताउनुभयो । देशभक्ति र स्वाभिमानका लागि प्रत्येक नेपालीहरूको आवाज उठाउनु पर्ने वा बोल्नै पर्ने छ । जनताले जबजब बोल्न थाल्छन देशको स्वभिमान र स्वतन्त्रता अझ सुदृढ बन्दै जान्छ । त्यसकैले देशका लागि सबै नागरिक बोल्नका लागि आह्वान गर्नुभएको छ ।' बैठकमा मन्त्री परिवर्तनसम्बन्धी निर्णय कार्यान्वयन हुने जानकारी अध्यक्ष नेपालले बैठकलाई गराएका थिए ।

'आज वा भोलिसम्ममा मन्त्री परिवर्तनसम्बन्धी निर्णय कार्यान्वयन भइसक्ने यस विषयमा थप निर्णय केन्द्रीय कमिटीले गर्ने बताउनु भएको छ। यस विषयमा भोलि नै केन्द्रीय कमिटीमा जवाफ दिने बताउनु भएको छ,' खतिवडाले भने ।

शुक्रबारको बैठकमा पोलिटब्युरो सदस्यहरूले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गरेका थिए । शनिबारबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पोलिटब्युरो सदस्यहरूबाट प्राप्त गरेको सुझावहरुलाई समेत समावेश गरेर प्रस्तुत गरिने तयारी छ ।

प्रकाशित : असार १०, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?