चुनावी गठबन्धनबारे ओली - '२०७४ मा आकस्मिक निर्णय भयो, भोलि पनि हुनसक्छ'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावी गठबन्धनबारे ओली - '२०७४ मा आकस्मिक निर्णय भयो, भोलि पनि हुनसक्छ'

जयसिंह महरा

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जे पनि हुनसक्ने बताएका छन् । पार्टीबाट राष्ट्रिय सभामा सदस्य रहेकाहरूलाई भक्तपुरको बालकोटस्थित निवासमा बोलाएर ओलीले आगामी संघीय र प्रदेश निर्वाचनमा एक्लै जाने तयारी थाल्न र आकस्मिक निर्णय हुनसक्ने कुरालाई मध्यनजर गर्न पनि सुझाएको बैठकमा सहभागी सांसदहरूले बताएका छन् । 

राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता खिमलाल भट्टराईले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एमालेले अहिलेको सत्तारुढ गठबन्धनसँग एक्लै लड्ने क्षमता विकास गरेर जानुपर्ने अध्यक्ष ओलीले भनेको जानकारी दिए ।

अध्यक्ष ओलीले आफूहरूसँग २०७४ सालमा माओवादी केन्द्रसँग भएको चुनावी गठबन्धन घोषणासँगै पार्टी एकताको घोषणाको घटना स्मरण गरेको पनि भट्टराईले बताए । 'अब पनि गठबन्धन हाम्रो विरुद्धमा छ, हामी एक्लै आगामी निर्वाचन फेस गर्ने गरी अगाडि बढ्नुपर्छ र विजय हासिल गर्नेगरी जानुपर्छ भन्ने कुरा उहाँले राख्नुभयो,' ओलीले राष्ट्रिय सभाका सांसदलाई भनेका कुरा उल्लेल गर्दै भट्टराईले थपे, 'गठबन्धन के हुन्छ त ? कसरी हामी अगाडि बढ्छौं ? भन्ने विषयमा उहाँले अहिलेसम्म केही भएको छैन तर हिजो (२०७४ को निर्वाचनमा) पनि घटनाक्रम अगाडि बढ्दै जाने सिलसिलामा आकस्मिक रूपमा निर्णय भएको थियो । नयाँ अवस्था निर्माण भएको थियो । यो कुरा राजनीतिक रूपमा भोलि पनि हुनसक्छ ।' आगामी निर्वाचनमा गठबन्धन गर्नेबारे भने आजको दिनसम्म केही नभएको ओलीले बताएको भट्टराईको भनाइ थियो ।

राष्ट्रिय सभामा एमाले प्रमुख सचेतक देवेन्द्र दाहालले पनि ओलीले गठबन्धन गर्नैपर्छ र गर्नैहुन्न भनेर केही भन्न नहुने बताएको उल्लेख गरे । उनले भने, 'निर्वाचनको तयारी गर्नुपर्छ भन्नुभयो । वाम गठबन्धनकै बारेमा त धेरै छलफल भएन । आवश्यकताका आधारमा गर्ने कुरा हो । हुँदै हुँदैन भन्ने पनि होइन, हुन्छ भनेर किटान गरेर जाने कुरा पनि होइन भन्नुभयो,' ओलीले भनेका कुरा उल्लेख गर्दै दाहालले भने, 'आवश्यकताको आधारमा तल तल पनि गर्न सकिन्छ, आम रूपमा गर्ने भन्ने केही छैन । हुँदै हुँदैन भनेर ठोकुवा गर्ने पनि होइन भन्ने संकेत भयो ।'

ओलीले मुलुकमा एमालेले समाजवादीको र कांग्रेसले पुँजीवादीको नेतृत्व गरिरहेको बताएको नेता भट्टराईले जानकारी दिए । जनताले पनि एमाले समाजवादी भएकाले विश्वास गरिरहेको ओलीले दाबी गरेका थिए । उनले स्थानीय तह निर्वाचनपछि वाम गठबन्धनका लागि एमाले, माओवादी र एकीकृत समाजवादीका नेताहरूबीच छलफल भइरहेको हो कि भन्नेबारे केही उल्लेख नगरेको बताए । 'तर, राजनीतिक रूपमा हिजो पनि आकस्मिक रूपमै यस्ता घटना भएका थिए भनेदेखि राजनीतिमा यस्ता कुरा हुन सक्छन् भन्नुभयो,' भट्टराईले भने ।

स्थानीय तहको चुनावको वस्तुनिष्ठ समीक्षा गरेर जानुपर्ने धारणा ओलीबाट आएको सांसद दिलकुमारी रावलले जानकारी दिइन् । 'स्थानीय तह निर्वाचनमा गठबन्धन भएपनि जनमत एमालेसँग छ भन्नुभयो । अन्तरविरोधको वस्तुनिष्ठ र यथार्थतामा टेकेर समीक्षा गर्ने भन्ने कुरा आयो,' उनले भनिन् । ‌ओलीले स्थानीय तह निर्वाचनमा आन्तरिक समस्या र गठबन्धनका कारण पार्टीले सोचेजस्तो जित हासिल गर्न नसकेको बताएका थिए । 'परिणामको हिसाबले अलिकति हाम्रो सोचेजस्तो भएन, त्यसको पछाडि पार्टीको आन्तरिक अन्तरविरोध र गठबन्धन मुख्य कारक रह्यो,' ओलीले भनेको कुरा सांसदहरूले सुनाए ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आगामी कार्तिक अन्तिम वा मंसिर पहिलो साता गर्ने सरकारको तयारी रहेको छ । निर्वाचन आयोगले सोहीअनुसार तयारी पनि गरिरहेको अवस्थामा राजनीतिक दलहरू कस्तो गठबन्धन बनाउने भन्ने विभिन्न कसरतमा लागेका छन् । अहिले सरकारमा रहेका दलहरू नै चुनावसम्म जाने कि एमालेसँग वाम गठबन्धन बनाउने भन्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेका छन् ।

केही पहिले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीलाई बालकोट नै गएर भेटेका थिए । त्यस्तै, एमाले र माओवादीका दोस्रो तहका नेताहरू चुनावमा गठबन्धन निर्माण गर्न सकिन्छ भन्ने छलफलमा रहेको बताइएको छ भने एकीकृत समाजवादी र एमाले नेताहरू पनि चुनावमा मिलेर जान सकिन्छ भन्ने कसरतमा रहेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने अहिलेको सत्ता गठबन्धनलाई प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनसम्म नै लैजाने कोसिसमा छन् । यो चुनावी राजनीतिक हलचलका बीच प्रमुख प्रतिपक्षी दलका नेता ओलीले २०७४ मा जस्तो आकस्मिक रूपमा चुनावी गठबन्धन हुनसक्नेतर्फ पार्टीबाट राष्ट्रिय सभामा रहेका सांसदहरूलाई संकेत गरेका हुन् ।

प्रकाशित : असार ९, २०७९ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्

भारतको असममा बाढीपहिरोबाट करिब ५५ लाख प्रभावित, मृत्यु हुनेको संख्या १०१ पुग्यो

रासस

नयाँ दिल्ली — भारतको उत्तरपूर्वी राज्य असममा आएको बाढीले ५४ लाख ५० हजार भन्दा बढी मानिस प्रभावित भएका भारत सरकारले जनाएको छ । बिहीबारसम्म बाढीपहिरोका कारण १०१ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार जनाएका छन् । 

वर्षापछि थुप्रै ठाउँमा डुबान भएको छ भने ठाउँठाउँमा पहिरो गएर पाइपहरू बगाइदिँदा कतिपय स्थानमा खानेपानीको अभावसमेत देखिएको छ ।

बुधबार राज्यभर १२ जनाको मृत्यु भएको स्थानीय समाचारमा जनाइएको छ । बाढीले आसममा बाढी आउन थालेपछि मे महिनाको मध्यदेखि मृत्यु हुनेको संख्या १०१ पुगेको छ । हाल राज्यका ३२ जिल्ला बाढीबाट प्रभावित छन् ।

प्रभावित जिल्लामा झण्डै पाँच हजार गाउँ डुबानमा परेको र ९९ हजार २६ हेक्टर क्षेत्रफलमा बाली क्षेत्रमा क्षति पुगेको अधिकारीहरुले बताए ।

स्थानीय तहले प्रभावित जिल्लामा १ हजार ८७१ राहत शिविर र वितरण केन्द्र स्थापना गरेका छन् । शिविरमा सात हजार ९७८ बालबालिकासहित २७ हजार १२५ जनाले आश्रय लिइरहेका बताइएको छ ।

प्रभावित जिल्लाका स्थानीय प्रशासनले उद्धार र राहत कार्यलाई तीव्रता दिएको बताइएको छ । ठाउँठाउँमा हेलिकोप्टर प्रयोग गरी राहत सामग्री उपलब्ध गराइएको छ । मनसुनको समय आसममा वर्षेनी बाढीले हजारौँ व्यक्ति प्रभावित हुने गरेका छन् ।

प्रकाशित : असार ९, २०७९ २१:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×