कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ : अध्यक्ष दाहाल

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सबै पूर्व माओवादीहरुको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको बताएका छन् ।

अब फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ : अध्यक्ष दाहाल

आइतबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले पूर्व माओवादीहरुको नयाँ एकताको श्रृंखला नजिकिएको बताएका हुन् । उनले अब पुनः विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिने दाबी गरे ।

अध्यक्ष दाहालले कर्मचारीहरु भित्र पनि बिस्तारै एकीकृत हुने अवस्था बन्ने बताए । उनले भने, ‘हामी केही समयदेखि एकता र विभाजनको जे श्रृंखला पार गरेर यहाँ आइपुगेका छौँ, अहिले । हाम्रो माओवादी आन्दोलनभित्र पनि विभाजनको एउटा श्रृंखला र एकताको नयाँ प्रक्रिया हुँदै अब करिब करिब कस्तो ठाउँमा आइपुगेका छौँ भने सबै पूर्व माओवादी भन्नेजति एक ठाउँमा आउने वातावरण भएको छ । अब फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ । छिटै त्यो टुंगोमा पुग्दैछ । त्यसको असर विभिन्न जनसंगठनहरुमा पनि पर्नु स्वभाविक हो पर्छ । मलाई लाग्छ कर्मचारीभित्र पनि बिस्तारै बाँकी रहेका साथीहरु एकीकृत हुनेअवस्था बन्छ ।’

अध्यक्ष दाहालले कर्मचारीभित्र पनि र समग्र राजनीतिक वृत्तमा पनि संघीयता कमजोर बनाउने काम भइरहेको बताए । उनले कर्मचारीतन्त्रभित्र उपल्लो तहका कर्मचारीहरुले संघीयता वा संघीय निजामती ऐन अघि बढाउने कुरा वा वृत्ति विकाससँग सम्बन्धित नयाँ प्रक्रियातिर जान चाहने कुराहरुलाई सम्बोधन हुन नदिने प्रयास भइरहेको बताए । अध्यक्ष दाहालले संघीय निजामति ऐन सदनको समितिबाट पारित गरेर प्रधानमन्त्री कार्यालयमा पठाइएको तर कर्मचारीतन्त्रको उच्च पदाधिकारी हरुबाट नै व्यवधान भइरहेको बताए ।

उनले भने, ‘कर्मचारीभित्र पनि र समग्र राजनीतिक वृत्तमा पनि संघीय लोकताीन्त्रक गणतन्त्र उल्ट्याउन चाहने प्रवृत्ति अहिले पनि छ । कर्मचारीतन्त्रभित्र उपल्लो तहका कर्मचारीहरु यो संघीयता वा संघीय निजामति ऐन अघि बढाउने कुरा वा वृत्ति विकाससँग सम्बन्धित नयाँ प्रक्रियातिर जान चाहने कुराहरुलाई सम्बोधन हुन नदिने र प्रकारान्तरले अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्रलाई, संघीयतालाई कमजोर पार्ने, उल्ट्याउन खोज्ने प्रवृत्ति अहिले पनि कायम नै छ । अहिले संघीय निजामति ऐन बनाउने कुरामा समस्या सदनको समितिबाट पारित गरेर गएको छ, लामो समयसम्म प्रधानमन्त्रीको अफिसमा रहीराखेको अवस्था छ । त्यसलाई अघि बढाउने सन्दर्भमा मुख्यतः कर्मचारीतन्त्रबाट कर्मचारीतन्त्रको हाईयर लेभलका अफिसरबाट नै केही न केही व्यवधान भइरहेको अवस्था छ । यो ऐन अघि बढाउन तपाईहरुले पनि विभिन्न रुपमा पहल गर्न र स्थानीय तहमा काम गर्ने कर्मचारीहरुको वृत्तिविकाससँग सम्बन्धित कर्मचारी प्रशासन ऐन निर्माण र लागू गर्ने कुरामा आफ्नो ठाउँबाट आवाज उठाउनु होला ।’

अध्यक्ष दाहालले गठबन्धनको बैठकमा निजामित ऐन र वृत्ति विकाससँग सम्बन्धित नयाँ प्रक्रियाको बारेमा कुरा राख्ने प्रतिवद्धता जनाए । उनले स्थानीय तहमा काम गर्ने कर्मचारीहरुको वृत्ति विकाससँग सम्बन्धित कर्मचारी प्रशासन ऐन निर्माण र लागू गर्ने कुरामा सबैले आवाज उठाउनु पर्नेमा जोड दिए ।

प्रकाशित : असार ५, २०७९ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?