काठमाडौँ — वाग्मती प्रदेश सरकारले समाजमा रहेका असमानता र विभेदको न्यूनिकरण गर्न नमुना वडा समाजवादी कार्यक्रम अघि सारेको छ । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गर्दै नमुना वडा समाजवादी कार्यक्रमका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
यहाँ सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्वमा सरकार छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पार्टीको नामसँग मिल्दो हुने गरी नमुना वडा समाजवादी कार्यक्रम अघि सारेका हुन् ।
आर्थिक मामिलामन्त्री जम्कट्टेलले उत्पादन र रोजगारी प्रवर्द्धनसहित आर्थिक र सामाजिक विकास व्यवस्थित गर्न र समाजमा रहेका सबै प्रकारका असमानता र विभेदको न्युनिकरण गर्न सो कार्यक्रम ल्याइएको बताए ।
‘संविधानले परिकल्पना गरेको समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवाद उन्मुख, समतामूलक र सुसंस्कृत समाजको निर्माण गर्न सेवा प्रवाहको जगको रुपमा रहेको वडास्तरबाट अभ्यास गर्ने गरी प्रदेश भित्रका केही वडाहरूको छनोट गरी नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्न २५ करोड रुपैयाँ विनियोजन गरेको छु,’ उनले भने, ‘यसबाट कार्यक्रम सञ्चालन भएका वडाभित्र उत्पादन र रोजगारी प्रवर्द्धनसहित आर्थिक र सामाजिक विकास व्यवस्थित हुँदै जाने र सबै प्रकारका असमानता र विभेदको क्रमशः न्यूनीकरण हुँदै जाने विश्वास लिएको छु ।’
