सुन्दर हरिजन आत्महत्या छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले सुन्दर हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे तयार भएको प्रतिवेदनका समेटिएका विषय कानुनअनुरुप कार्यान्वयन प्रक्रियामा लगिने बताएका छन् । उनले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कैदी हरिजनले झुण्डिएर आत्महत्या गरेको घटना सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाईं नेतृत्वको समितिले स्थलगतरूपमा छानबिन गरी तयार पारेको प्रतिवेदन बुझ्दै घटनामा प्रतिवेदनले दोषी औंल्याएकालाई कानुनअनुरुप कारबाहीको प्रक्रिया सुरु गरिने बताएका हुन् ।

घटनाबारे छानबिन गर्न सहसचिव सेढाईको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट १७ जेठमा ५ सदस्यीय समिति गठन भएको थियो । समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य थिए ।

समितिले प्रतिवेदनमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा तत्कालीन अवस्थामा कारागार प्रशासनसँग सम्बद्ध कर्मचारीहरूले कारागार ऐन र नियमावली तथा आफ्नो पदीय जिम्मेवारी एवं दायित्व निर्वाहमा लापरबाही तथा त्रुटि गरेको र कर्तव्य पालनामा उदासिनता देखाएको उल्लेख छ । प्रतिवेदनमा प्रस्तुत गरिएका सुझाव लागू गर्न साफारिस गर्दै लागू भएमा कारागार प्रशासन सुध्रन सक्ने संयोजक सेढाईले बताए ।

समितिले २०७७ मंसिर ८ गते बाँके कारागारबाट रोल्पा कारागारमा कैदीहरू हरिजन र विजयविक्रम शाहको स्थानान्तरण गर्दा भएको त्रुटि तथा कैदीले आत्महत्या गरेको सम्बन्धमा अनुसन्धान गरेको जनाएको छ । समितिले अनुसन्धानका क्रममा नेपाल सरकारका सम्बद्ध पदाधिकारीहरूको स्वीकृति र सहयोगमा भारत सरकारसँग अनौपचारिक समन्वय गरी भारतको उत्तर प्रदेशको बारबंकी जिल्लामा लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका हरिजनसँग सँगै बाँकेबाट रोल्पा कारागारमा स्थानान्तरण गरिएका शाहसँग पनि सोधपुछ गरेको जनाएको छ ।

समितिले घटनाको स्थलगत अध्ययन/अवलोकन, सूचना संकलन तथा विष्लेषण, सोधपुछ तथा बनाउन, फोन कल विवरण अध्ययन र घटना विवरण विश्लेषण गरेर प्रतिवेदन तयार पारेको जनाएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७९ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्

नेपालविरुद्ध ओमानको पहिला ब्याटिङ

विनोद पाण्डे

ह्युस्टन, अमेरिका — ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेललाई समावेश गर्दै नेपालले विश्वकप लिग २ क्रिकेटमा ओमानविरुद्ध खेल्न लागेको छ । ओमानले मोसा क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । अमेरिका भ्रमणमा लिग २ को पहिलो खेलमा नेपाल बिहीबार ओमानसँग १३ रनले पराजित हुँदा आसिफ र कुशल दुबै चोटका कारण खेल खेलेका थिएनन् ।

अभ्यास खेलहरुमा यी दुई घाइते भएपछि सुवास खकुरेललाई नेपालबाट झिकाई ओमानसँगको खेलमा उनले र सुनिल धमलाले ओपनिङ ब्याटिङ गरेका थिए । दुबैले सम्झनलायक प्रदर्शन गर्न सकेका थिएनन् ।

अमेरिकासँग शनिबार दोस्रो खेलमा टिममा फर्किएर आसिफ र कुशल दुवैले ब्याटिङ गरेका थिए । आसिफले कुशलसँग मिलेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । यी दुईले १२ ओभरभित्र पहिलो विकेटमा ५६ रन जोडेका थिए । कुशलले ३६ बलमा १९ र आसिफले ७० बल खेली ६ चौकासहित ६१ रन बनाएका थिए ।

तर दुबै फिल्डिङका क्रममा घाइते भएका थिए । विकेटकिपिङका क्रममा आसिफलाई उनको चोटग्रस्त घुँडामा बलले लागेको थियो । कुशल फिल्डिङका क्रममा घाइते भएका थिए । जसका कारण दुबैले प्रतियोगिताको थप खेल खेल्नेमा शंका गरिएको थियो । तर दुवैले सोमबार नेट्समा ब्याटिङका लागि समय बिताएका थिए ।

नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ । सुशन भारीको स्थानमा अर्का देव्रे हाते स्पिनर सागर ढकाललाई समावेश गरिएको छ । पहिलो दुई खेलमा सुशनले कुनै विकेट लिन सकेका थिएनन् ।


लिग २ को ३ वर्षे साइकलमा यो ओमानको अन्तिम खेल हो । ३५ खेल खेलेको ओमान ४४ अंकसहित शीर्ष स्थानमा छ । नेपालले १४ खेल मात्र खेलेको छ र १३ अंकसहित सात राष्ट्र सहभागी प्रतियोगिताको छैटौं स्थानमा छ ।

लिग २ अर्को वर्ष हुने एकदिवसीय विश्वकप छनोट र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको आधार हो । अमेरिकामा भइरहेको लिग २ नेपालको चौथो शृंखला हो । लिग २ मा सहभागि ७ टोलीले ९ शृंखला अर्थात् ३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नु पर्ने प्रावधान छ ।

लिग २ को शीर्ष ३ टोली सोझै जुलाईमा हुने एकदिवसीय विश्वकप छनोटमा पुग्नेछन् भने चौथो र पाँचौं हुने टोलीले शीर्ष तीन टोलीले जस्तै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्दै विश्वकप छनोटमा पुग्ने अर्को मौका पाउने छन् ।

पहिलो खेलमा अमेरिकासँग १ सय १४ रनले पराजित ओमानले त्यसपछि नेपाल र अमेरिकालाई समान १३ रनले पराजित गरेको थियो । नेपाल र अमेरिका बीचको अघिल्लो खेल ‘टाई’मा टुंगिएको थियो ।

प्रकाशित : जेष्ठ ३१, २०७९ २०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×