३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

अवैध रूपमा अमेरिका छिर्न हिँडेका ८१ नेपाली मोरक्कोबाट डिपोर्ट 

जनकराज सापकोटा

काठमाडौँ — संगठित मानव तस्करको भर परेर अवैध बाटोबाट अमेरिका छिर्ने भन्दै हिँडेका ८१ जना नेपाली मोरक्कोको कासाब्लांकाबाट डिपोर्टमा परेका छन् । डिपोर्टमा परेमध्येका एक नेपालीले एकैपटक धेरै संख्यामा नेपाली देखिएपछि अध्यागमनले शंका लागेर अनुसन्धान थालेपछि डिपोर्टको निर्णय भएको सुनाए । 

अवैध रूपमा अमेरिका छिर्न हिँडेका ८१ नेपाली मोरक्कोबाट डिपोर्ट 

स्रोतका अनुसार पछिल्लो समय अवैध रूपमा अमेरिका लैजाने नयाँ रुटका रूपमा दुबईबाट मोरक्कोको कासाब्लांका पुर्‍याउने र त्यहाँबाट बोलिभिया वा ब्राजिल छिराउने काम भइरहेको छ । कोरोना संक्रमणको तेस्रो लहर रोकिएपछि यो रुट हुँदै केही नेपाली अघि बढेपछि संगठित मानव तस्करका एजेन्टहरूले यो रुटको प्रयोग बढाएका थिए । डिपोर्टमा परेका नेपालीहरु कसरी त्यहाँ पुगे भन्नेमा स्पष्ट विवरण आइसकेको छैन ।

यतिका धेरै नेपाली एकैचोटि कसरी त्यहाँ पुगे भन्ने खुलिसकेका छैन् । कान्तिपुरसँग सम्र्पकमा आएका एकजनाले भने केही लामो समयअघि नै भिजिट भिसामा दुबई आएका नेपाली रहेको र केही हालसालै भिजिट भिसामा दुबई पुगेको रहेको बताए । सरकारले भिजिट भिसामा दुबई जानेमाथि कडाइ गरिरहेका बेला ती नेपाली कसरी दुबई पुगे भन्ने शंकास्पद देखिएको छ ।

यसअघि पनि नेपालीहरू अवैध रूपमा अमेरिका जाने भन्दै काठमाडौंबाट दिल्ली–इन्डोनेसिया हुँदै इथोपिया पुगेर अलपत्र भएका वा काठमाडौंबाट भियतनाम, इथोपिया, माडागास्कर, जोर्डन, दुबई, अजरबैजान पुगेर बन्धक बनेका घटना सार्वजनिक भएका थिए । मानव तस्करहरूले मुख्यगरी दिल्लीबाट रुस हुँदै स्पेन–बोलिभिया–इक्वेडर–कोलम्बिया–पानामा–कोस्टारिका–निकारागुवा–होन्डुरस–ग्वाटेमाला–मेक्सिको रुट प्रयोग गरेर अमेरिका छिराउने प्रयास गरेको देखिन्छ ।

यो घटनाबारे जानकार एक उच्च प्रहरी अधिकारीले पछिल्लो रुटको प्रयोग गरेर यति धेरै नेपाली अमेरिका छिर्न अघि बढेको घटना भने पहिलोपटक सार्वजनिक भएको बताए । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो स्रोतका अनुसार डिपोर्ट भएकामध्ये केही सोमबार रातिसम्म नेपाल आईपुग्ने बुझिएको छ । यो घटनाबारे जानकार प्रहरी प्रधान कार्यालयका एक उच्च प्रहरी अधिकारीले भने, ‘अब यो घटनाको अनुसन्धान कसरी अघि बढ्छ भन्ने हेर्न उनीहरु डिपोर्ट भएर आएपछि मात्रै भन्न सकिन्छ ।’

प्रकाशित : जेष्ठ २३, २०७९ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?