कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउन माग छ : महामन्त्री थापा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपाली कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि माग आइरहेको बताएका छन् । पार्टीमा औपचारिक रूपमा भने मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको उनले बताए ।

कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउन माग छ : महामन्त्री थापा

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीका तर्फबाट मन्त्रिपरिषद्मा हेरफेरको निर्णय प्रधानमन्त्री तथा पार्टीको सभापतिको चाहनामा भर पर्ने बताए ।

‘नेपाली कांग्रेसको कुनै पनि बैठकमा यो विषयका बारेमा कुनै छलफल भएको छैन । यद्यपी पार्टीको केही नयाँ सांसदहरू जसले मन्त्री बनेर काम गर्ने अनुभव गर्न पाउनुभएको छैन । निर्वाचित भएर आउनुभएका केही नयाँ साथीहरुले यत्रो नेपाली कांग्रेसको सरकार हुँदै गर्दाखेरी पनि केही नयाँ साथीहरुले मौका पाएको भए केही नयाँ कुराहरु सिक्ने मौका हुन्थ्यो,’ उनले भने ।

एकल र संयुक्त जुनसुकै सरकार बने पनि एउटै अनुहार मन्त्री बन्ने गरेकाले नयाँ अनुहारले भूमिका खोजेको उनको भनाई छ । ‘नेपाली कांग्रेसमा एकल सरकार बने पनि एउटै अनुहारले मन्त्री हुने । गठबन्धन सरकारमा पनि तिनै मन्त्री हुने यस्तो हुने हो भने त भोलि गएर निर्वाचन जित्दै गर्दाखेरी पनि मन्त्री को हुने भन्ने बारेमा अहिले अनुमान लगाउन सकियो, केही नयाँ साथी आउलान् । नयाँ काम गर्लान्,’ उनले भने ।

अहिलेसम्म औपचारिक रूपमा छलफल नभएको उल्लेख गर्दै थापाले सभापति आफै संसदीय दलका नेता भएकोले गर्दा मन्त्री परिवर्तन गर्ने नगर्ने उनकै निर्णयमा निर्भर हुने बताए । ‘खासगरीकन नयाँ, अहिलेसम्म मन्त्री नहुनुभएका केही साथीहरूलाई आफ्नो काम देखाउने मौका पाउनुपर्छ भन्ने व्यापक रूपमा माग छ । त्यसलाई त्यहाँ पुर्‍याउने काम हुन्छ । थोरै समय भएकोले गर्दा गर्ने कि नगर्ने भन्नेकुरा धेरै हदसम्म चाहिँ दलको नेता भएकोले गर्दा उहाँले के चाहनुहुन्छ भन्ने कुरामा भर पर्छ,’ उनले भने ।

नेकपा एकीकृत समाजवादीले अहिलेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेपछि मन्त्रिपरिषद् हेरफेरको चर्चा चुलिएको हो । एकीकृत समाजवादीले निर्णय गरे पनि तत्काल मन्त्रीहरू हेरफेर गर्दा गठबन्धनमै धक्का पुग्न सक्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा भने त्यसमा अनिच्छुक देखिएका छन् । सोमबार सत्तारुढ गठबन्धनको बैठकमा तत्काल मन्त्री हेरफेर नगर्ने सहमतिसमेत बनेको छ ।

प्रकाशित : जेष्ठ २३, २०७९ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?