बजेटले सपना मात्रै बाँड्यो, त्यसले निराशा पैदा हुन्छ : शंकर पोखरेल

जेष्ठ २२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार हुनेगरी अघि बढिरहेको आरोप लगाएका छन् ।

महासचिव पोखरेलले गठबन्धन सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मुलुकमा विद्यमान राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने बताए । आइतबार सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको अन्तरक्रियामा बोल्दै उनले जनतामा चरम निराशा छाउने गरी बजेटबाट सपना बाँडिएको र त्यसले मूलधारका राजनीतिक पार्टीहरुप्रति जनताको असन्तुष्टि झनै बढेर जाने खतरा रहेको तर्कसमेत गरे ।

महासचिव पोखरेलले राजस्व वृद्धि हुने वस्तुहरुको अति धेरै आयातका कारण आगामी वर्ष राजस्व वृद्धि हुने कुनै आधार नभए पनि आगामी आर्थिक वर्षको बजेटमा आर्थिक वृद्धिदर हुने हावादारी कुरा उल्लेख गरिएको बताए ।

उनले लगानी बढाउने अवस्था नभएकाले आर्थिक वृद्धिदर हुने कुनै आधार नरहेको पनि पटकपटक दोहोर्‍याएका थिए । महासचिव पोखरेलले भने, ‘बजेटमा सपना मात्रै बाँडिएको छ । त्यसले जनतामा चरम निराशा पैदा हुन्छ । निराशाको परिणाम के हुन्छ भन्ने कुरा चाहिँ सहरी क्षेत्रका मतदाताले मूलधारका राजनीतिक पार्टीप्रति देखाएको असन्तुष्टिले प्रकट गरिसकेको छ भन्ने मलाई लाग्दछ । यो राजनीतिक प्रणालीमाथि प्रहार गर्ने बाटोतर्फ गठबन्धन सरकार अगाडि बढेको छ । बजेटमा ठूलाठूला कुरा गरिएको छ । समग्रमा भन्नु हुन्छ भने–यो व्यापारिक पूँजीवाद वा दलाल नोकरशाही पूँजीवादको हिमायतीको रुपमा प्रकट भएको छ ।’

महासचिव पोखरेलले बैंकहरुले लगानी गर्ने अवस्था नभएको बेला आगामी आर्थिक वर्ष उत्पादन वृद्धि गर्ने सरकारले सोच नै वस्तुपरक नभएको बताए ।

कान्तिपुर

Link copied successfully