'दलाई लामाको अफिस बन्द गर्ने मै हो, चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुँदैन'

काठमाडौँ — प्रमुख प्रतिपक्षीलगायतका दलहरूले छिमेकी चीनसँगको सम्बन्धको सन्तुलन गुमाएको भन्दै आलोचना गरिररहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले चीनबारे नेपालको धारणामा कुनै बदलाव नआएको स्पष्ट पारेका छन् ।

तिब्बती मामिला हेर्ने अमेरिकी उपमन्त्री उज्रा जियाले जेठ पहिलो साता नेपाल भ्रमण गरेको विषयमा समेत प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाउँदै संसद्मै सरकारको आलोचना गरेको थियो । यही सन्दर्भतर्फ संकेत गर्दै प्रधानमन्त्री देउवाले शनिबार कान्तिपुरसँगको संक्षिप्त कुराकानीमा तिब्बती शरणार्थीको कार्यालय आफैले बन्द गराएको घटना समेत स्मरण गरे ।
'चीनको सम्बन्धमा कुरा गर्ने हो भने एक चीन नीति हाम्रो पहिलेदेखि नै हो । अहिले पनि छ । कुरै गर्ने हो भने कोही कसैले हिम्मत नगरेको काम मैले गरेको हो । दलाई लामाको अफिस नै मैले बन्द गरेको हो । सबै प्रधानमन्त्री भएका हैनन् ? कसैले बन्द गरे ? त्यसैले चीनको सम्बन्धमा नेपाल प्रस्ट छ । नेपालको भूमि चीनको खिलाफमा कुनै हालतमा प्रयोग हुँदैन' प्रधानमन्त्री देउवाले भने ।
२०६१ सालमा प्रधानमन्त्री भएका बेला देउवाले नेपालस्थित तिब्बती शरणार्थीको कार्यालय बन्द गराएका थिए ।
देउवा अहिले प्रधानमन्त्री भएपछि उनले भारतको भ्रमण गरिसकेका छन् । केही समयपछि अमेरिकाको भ्रमण जाँदैछन् ।
उनले आफ्नो भारत भ्रमण र हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले नेपाल भारतको सम्बन्ध थप प्रगाढ बनाएको पनि बताए ।
