प्रतिनिधिसभाको चुनाव कात्तिक-मंसिरभित्रै हुन्छ : प्रधानमन्त्री देउवा- समाचार - कान्तिपुर समाचार

प्रतिनिधिसभाको चुनाव कात्तिक-मंसिरभित्रै हुन्छ : प्रधानमन्त्री देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर कि फागनुमा गर्ने भन्ने विवाद चलिरहेका बेला प्रधानमन्त्री शेरबहादु देउवाले भने कात्तिक वा मंसिरभित्रै चुनाव हुने बताएका छन् ।

स्थानीय तह चुनावको परिणामले गठबन्धनका केही दलहरुबीच सम्बन्ध चिसिइरहेको र यस्तो अवस्थामा चुनाव गरिहाल्दा राम्रो नतिजा नआउने भन्दै केही नेताहरुले फागुनमा चुनाव गर्नुपर्ने धारणा राखिरहेका छन् ।

यसका लागि कतिपय नेताहरुले चुनाव भएको मिति भन्दा पनि संसद्ले काम सुरु गरेको मितिबाट अहिलेको प्रतिनिधि सभाको कार्यकाल गणना हुने भन्दै तर्क गरिहेका छन् । यी सबै तर्क र प्रयासलाई प्रधानमन्त्री देउवाले अस्वीकार गरेका छन् ।

'हामी सरसल्लाह गर्दैछौं । कात्तिकमै गरे पनि हुन्छ । ढिलो गर्‍यो भने झन् विवाद हुन्छ । तपाईंहरुले पनि ढिलो भयो भनेर लेखिदिइहाल्नुहुन्छ । गठबन्धनका पार्टनरसँग कुरा गरेर कात्तिक वा मंसिरमै चुनाव हुन्छ,' शनिबार 'कान्तिपुर हाफ म्याराथन' को उद्घाटनपछि कान्तिपुरसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले भने ।

उनले अहिलेको चुनावी परिणाम राम्रो रहेको र आउँदो चुनावसम्म गठबन्धन कायम रहने पनि बताएका छन् । 'जे गठबन्धन भने पनि नेपाल अब प्रतिस्पर्धात्मक नेपाल चुनाव प्रणालीमा गइसक्यो । यो खुल्ला लोकतन्त्रमा राम्रो कुरा हो । मलाई विश्वास छ यो गठबन्धन रहन्छ,' उनले भने ।

उनले जे प्रयोजनका लागि गठबन्धन बनेको हो त्यसको उपादेयता नसकिएको उल्लेख गरे । 'जे कारणले गठबन्धन बनेको हो । त्यो कारण सकिएको छैन,' उनले भने ।

गठबन्धनभित्र समस्या रहे पनि त्यस्ता समस्या समाधान हुने खालका रहेको उल्लेख गर्दै उनले समाधान गर्नका लागि दलहरुबीच छलफल गर्ने बताए । चुनावअघि गठबन्धन बनाउने विषयमा कांग्रेसभित्रै पनि खटपट थियो । अहिले त्यस्तो गठबन्धन बनाउने विषयमा पार्टीमा कुनै विवाद नरहेको देउवाले बताए ।

'पार्टीभित्र त निर्णय भएपछि भइहाल्छ नि ! डेमोक्रेटिक पार्टी हो आ-आफ्नो विचार त भइहाल्छ नि । हाम्रो पार्टीमा त्यस्तो समस्या छैन,' प्रधानमन्त्री देउवाले भने ।

प्रकाशित : जेष्ठ २१, २०७९ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्

कर्पोरेट रनमा विकास पोखरेल प्रथम

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘जलवायु परिवर्तन’ नाराका साथ कान्तिपुर हाफ म्याराथनको दसौं संस्करण अन्तर्गत ५ किलोमिटरको कर्पोरेट रनमा विकास पोखरेल प्रथम भएका छन् । पोखरेलले १७ मिनेट ४८ सेकेन्डमा निर्धारित दूरी पार गरेका हुन् ।

यस्तै दौडमा शेरबहादुर थाउ द्वितीय र रितेश वलीले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । थाउले १८ मिनेट ४७ सेकेन्ड र वलीले १९ मिनेट ४२ सेकेन्डमा निर्धारित दुरी पार गरेका हुन् ।

यस्तै कर्पोरेट रेसको महिलातर्फ भने सनी तामाङ प्रथम भएकी छन् । उनले २६ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी पार गरेकी हुन् । दोस्रो भएकी सुनिता महर्जनले २७ मिनेट ४ सेकेन्डमा निर्धारित दूरी पार गरिन् भने तेस्रो भएकी लादेन प्रधानले ३० मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार गरेकी हुन् ।

कर्पोरेट दौड (५ किमि) को रहेको थियो । ५ किलोमिटर कर्पोरेट दौड थापाथलीबाट सुरु भएर माइतीघर, बानेश्वर, तीनकुनेबाट फर्किएर पुन: सोही रुटमा थापाथली आएर टुंगिएको थियो ।

कर्पोरेट रनका विजेतालाई पोखरा र दोस्रो हुनेले नगरकोटमा बस्ने–घुम्ने प्याकेज पाएका छन् भने तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकट हात पारेका छन् ।

कोभिड–१९ महामारीका कारण पछिल्लो दुई वर्ष यो हाफ म्याराथन प्रभावित भई आयोजना हुन सकेको थिएन ।

म्याराथनमा सहभागी हुने सबैलाई एक–एक वटा बिरुवा प्रदान गरिएको छ ।

प्रकाशित : जेष्ठ २१, २०७९ ०९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×