एमाले जस्तै कांग्रेसलाई ठेगान लगाउन नपरोस् : दाहाल

जेष्ठ १८, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको चुनावी जितका आधारमा कांग्रेसको अ‌हंकार बढ्न सक्ने भन्दै त्यस्तो भए एमालेकै जस्तो हालत बनाइदिने चेतावनी दिएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा दाहालले कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता बढेको बताएका हुन् ।

'कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार गर्‍यो  भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्,' दाहालले भने,'कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ ।'

बृहत्तर हितका लागि अझै पनि गठबन्धनको आवश्यकता रहेको उनले बताए । तर स्थानीय तह चुनावमा गठबन्धन इमानदार नभएको उल्लेख गर्दै यसबाट पाठ सिकेर आउँदो चुनावमा पनि गठबन्धनमा थप सुधार आवश्यक रहेको उनको भनाई थियो । 

'हामीले आफ्नो पार्टी भन्दा  धेरै ठाँउमा गठबन्धनमा भरोसा गर्‍यौैं त्यो गर्दा हामीले धेरै ठाँउमा गुमायौं' अध्यक्ष दाहालले भने,' अब हामीले प्रदेश र संघको चुनावमा शिक्षा लिएर अघि बढ्नु पर्छ ।'  उनले माओवादीले  कहिले कसको कहिले कसको दम्भ बढाईदिन्छ भन्ने आरोप लाग्ने गरेको उल्लेख गरे । 

'कहिले एमालेको दम्भ बढाइदिन्छ, कहिले कांग्रेसको दम्भ बढाइदिन्छ भन्ने आरोप छ' दाहालले भने,'त्यस्तो गरेको जस्तो पनि देखिन्छ तर जसले दम्भ देखायो अह‌ंकार त्यसविरुद्ध मा‌ओवादीले  विद्रोह गर्दै आएको छ ।' उनले गठबन्धनको  विषयलाई लिएर कांग्रेसले  दम्भ र अह‌ंकार देखाउने  अवस्था आए त्यसविरुद्ध विद्रोह गर्ने उल्लेख गरे ।

कान्तिपुर

Link copied successfully