निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण शीघ्र अघि बढाउन संसदीय समितिको निर्देशन

जेष्ठ १६, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई शीघ्र अघि बढाउन सरकारका नाममा निर्देशन जारी गरेको छ । 

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण देखिएका कानुनी र अन्य अड्चन हटाई निर्माण कार्य अघि बढाउन भनेको हो । सर्वोच्च अदालतले गत बिहीबार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न दिएको फैसलाको आलोचना गर्दै समितिले तत्काल निर्माण कार्य अगाडि बढाउन निर्देशन दिएको हो । 

समिति सभापति पवित्रा निरौला खरेलले नेपालको अर्थतन्त्रलाई सबल बनाउने भएकाले पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने बताएकी हुन् । 'राष्ट्रिय हितअनुकूल अर्थतन्त्रलाई सुदृढ तुल्याउने उद्देश्यका साथ लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने भन्ने निर्णय कुनै दृष्टिकोणबाट उचित देखिन्न,' उनले भनिन्, 'बाह्य र आन्तरिक ऋणको बोझ बोक्दै कठिन अवस्थामा रहेको नेपालको अर्थतन्त्रलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रयोजनका लागि भइसकेको अर्बौं रूपैयाँलाई निरर्थक तुल्याउँदा झन‌ै धक्का लाग्छ ।'

समितिले सरकारलाई दिएको निर्णयमा भनिएको छ, 'अत: राष्ट्रिय हित, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानुनी, प्रशासनिक र व्यावहारिक कार्य गर्नू ।'

कान्तिपुर

Link copied successfully