शोकमा गाउँले

जनकपुर — आइतबार बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनामा धनुषाको एकै परिवारका सात जना परेपछि गाउँले शोकमा डुबेका छन् ।

विमान दुर्घटनामा १३ जना नेपालीमध्ये ७ जना धनुषाको मिथिला नगरपालिका–११ लोटाका हुन् । विमान दुर्घटनामा अन्दाजी ४२ वर्षीय राजनकुमार गोलेसहित उनका आफन्त परेका छन् । राजनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङ गरी सात जना एक परिवारका सदस्य विमान दुर्घटनामा परेका छन् । उनीहरु मुक्तिनाथ दर्शन गर्न जोमसोम उडेका थिए ।
एकै परिवार तथा एउटै टोलमा बस्ने सात जना विमान दुर्घटनामा परेपछि गाउँवासी नै शोकमा डुबेका छन् । दुर्घटनामा परेका आफन्तलाई सान्त्वना दिन गाउँलेहरु घरमा भेला भएका छन् ।
सान्त्वना दिन मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघन महतो आफन्तको घर पुगेका थिए । गोले परिवारसँग मन्त्री महतोको निकट सम्बन्ध रहेको थियो ।
प्रकाशित : जेष्ठ १६, २०७९ १२:१५