'दक्षिण एसियाली मुलुकहरुमा थुप्रै संकट'

श्रीलंकामा आर्थिक, अफगानिस्तानमा राजनीतिक, बंगलादेशमा शरणार्थी तथा भारत र पाकिस्तानमा धार्मिक अतिवादको संकट

काठमाडौँ — गरिबी उन्मूलनका लागि दक्षिण एसिया मञ्च (सापे) ले दक्षिण एसियाली मुलुकहरुमा व्यापक संकट रहेको निचोड निकालेको छ । काठमाडौंमा आयोजित तीनदिने भेलापछि दक्षिण एसियाका प्रतिनिधिहरुले दक्षिण एसियाका मुलुकहरुमा थुप्रै समस्या रहेको बताएका हुन् ।

'दक्षिण एसियाली मुलुकहरुमा थुप्रै संकट'

दक्षिण एसियाका प्रतिनिधिहरुले श्रीलंकामा राजपाक्ष परिवारको गलत कामको कारण आर्थिक संकट, अफगानिस्तानमा तालिबानको राजनीतिक नेतृत्वको कारण जनताको मौलिक अधिकारमै संकट, बंगलादेशमा म्यान्मारबाट लखेटिएका रोहिंग्या शरणार्थीको संकट तथा भारत र पाकिस्तानमा धार्मिक अतिवादको संकट रहेको औंल्याएका थिए।

काठमाडौंमा भएको छैटौं वार्षिक सभा तथा जनसार्क बैठकमा यस क्षेत्रका सामाजिक अभियान्ता, अधिकारकर्मी तथा विज्ञहरुले यस क्षेत्रमा बढ्दै गएको आर्थिक, राजनीतिक र सामाजिक संकट तथा कोभिड महामारीपछिको आर्थिक पुनरुत्थानका विषयहरुमा गम्भीर बन्न सरोकारवालाहरुको ध्यानाकर्षण गएका हुन् ।

छलफलमा भारतका बाबु माथ्यु, जाकीया सोमन, बाबु पी रमेश, नीता, शोभा रघुराम, बंगलादेशका सहनाज सुमि, मनोहवर मुस्तफा, श्रीलंकाका लोगेश्वरी पुनि, नलिनी रतनराज, नेपालका हरि शर्मा, शुशील प्याकुरेल, नेत्र तिम्सिना, शर्मिला कार्की, उद्धव प्याकुरेल, कनकमणि दीक्षित, अर्जुन कार्की, बिमला राई पौडेल, भुटानका गोविन्द रिजाल, पाकिस्तानका फारुक तारिकले दक्षिण एसियाको समग्र अवस्था र नयाँ सामाजिक आन्दोलन र जनसंघर्षबारे आफ्नो धारणा राखेका थिए ।

तीनदिने छलफलपछि १५ बुँदे काठमाडौं घोषणापत्र समेत जारी गरिएको छ । उनीहरुले दक्षिण एसियाको समस्या समाधान गर्न सार्क मुलुकहरु मिल्नु पर्ने पनि सुझाव दिएका छन् । यस्तै भारत र पाकिस्तानले द्वन्द्व गर्न नहुने तथा अफगानिस्तान र श्रीलंकाको संकटलाई सबै मिलेर सम्बोधन गर्नुपर्ने उनीहरूको सुझाव थियो । दक्षिण एसियाली मुलुकहरु बीचमा बन्द सीमालाई खुला गर्नुपर्ने पनि उनीहरुको माग थियो ।

प्रकाशित : जेष्ठ १३, २०७९ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?