निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद् : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद् भएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद् भएको बताएका हुन् ।

निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद् : पूर्वप्रधानमन्त्री नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद् भएको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद् भएको बताएका हुन् । लामो समयको अध्ययनपश्चात् निजगढमा विमानस्थल निर्माण सुरु भएको भन्दै त्यसरी रोकिनु गलत भएको उनको भनाइ थियो । विमानस्थल निर्माणमा अर्बौं रुपैयाँ खर्च भइसकेको र जग्गासमेत अधिग्रहण भइसकेको अवस्थामा काम रोकिनु दुखद् भएको उनले बताए ।

‘धेरै लामो समयसम्म छलफल गरेपछि १९९५ देखि यो प्रक्रिया अगाडि बढेको हो । १० वटा स्थानको गहिरो अध्ययनपछि सबैभन्दा उपयुक्त निजगढ हो भन्ने कुरालाई लिएर विमानस्थलको निम्ति आवश्यक ८ हजार हेक्टर जमिन व्यवस्थापन र वन विनाश नगरी विमानस्थल बनाउने कुरा भइसकेपछि अहिले फेरि रोकिएको कुरा सुनिन्छ, यो मास्टरप्लान तयार भइसकेको स्थितिमा,' उनले भने, 'झन्डै ३ अर्ब रुपैयाँ नागरिक उड्ययन प्राधिकरणले खर्च गरिसकेको अवस्थामा, जग्गाहरु अधिग्रहण गरिसकेको अवस्थामा, अझै त्यसैको लागि नै २ खर्ब रुपैयाँको फास्टट्रयाक त्यति खर्च भइसकेको स्थितिमा, फास्टट्रयाक त्यही कामको निम्ति बनाउने अवस्थामा अहिलेको निम्ति जम्मा १९ सय हेक्टरभित्र ४ हजार मिटरको रनवे बनाएर त्यसलाई काम अगाडि बढाउन सकिने अवस्थामा रोकिएको कुरा सुन्नमा आयो । बडो दु:ख लाग्यो मलाई ।'

अध्यक्ष नेपालले विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलामा पुनर्विचार हुनुपर्ने बताए । सरकार र राजनीतिक दलहरुले पनि यस विषयलाई गम्भीरताका साथ लिनुपर्ने उनको भनाइ थियो । निजगढमा विमानस्थल बनाउनु सबै हिसाबले उपयुक्त भएको उनको दाबी छ । निजगढमा विमानस्थल बनाउँदै गर्दा वनविनास नभएको र वन्यजन्तुको आगमनलाई समेत असर नपरेको उनको भनाइ छ ।

‘मैले पटक–पटक निजगढ विमानस्थल भ्रमण, निरीक्षण गर्ने मौका पनि पाएको हो । त्यहाँ सुरुमा जाँदा अलिकति वरिपरी जग्गा थियो । पछिल्लो पटक जाँदाखेरी मान्छेले सबै जंगल सखाप पारिसकेका छन् । जंगल छँदै छैन त्यहाँ । जंगल नै नभएको ठाउँमा विमानस्थल नबनाउनु भनेर यो रोक्ने कुराको पछाडिको कारण के हो ?,' पूर्वप्रधानमन्त्री नेपालको प्रश्न थियो, 'कतै अरु अरु चिजबाट हामी प्रभावित त भएका छैनौं ? यस बारेमा गहन चिन्तन होस् । त्यो निर्णयको बारेमा पनि सम्बन्धित निकायले आफैले पनि विचार गरोस् ।'

प्रकाशित : जेष्ठ १३, २०७९ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?