कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बल्ल न्याय पाएको अनुभूति भयो : हरेराम ढकाल

काठमाडौँ — सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी रन्जन कोइरालालाई पत्नी गीता ढकालको हत्यामा जन्मकैद गर्ने फैसला गरेको छ । बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतकै संयुक्त इजलासले गरेको फैसला उल्ट्याउँदै कोइरालालाई २० वर्ष नै कैद गर्ने फैसला गरेको हो ।

बल्ल न्याय पाएको अनुभूति भयो : हरेराम ढकाल

पत्नी ढकालको हत्या गरेको पुष्टि हुँदा पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले २०७७ साउनमा कोइरालालाई साढे ८ वर्ष मात्र कैद हुने फैसला गरेका थिए ।

त्यतिन्जेल साढे ८ वर्ष नै जेल बसेका कोइराला फैसलापछि जेलमुक्त भएका थिए । त्यसविरुद्ध सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा गरेको पुनरावलोकन निवेदनमा सुनुावइ गर्दै बिहीबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरू टंक मोक्तान र कुमार चुडालको इजलासले कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको यसअघिको फैसला उल्टाएका हुन् ।

रञ्जन कोइरालाको सजाय घटाउने फैसला उल्टियो, २० वर्ष नै जेल बस्नुपर्ने

सर्वोच्चको बिहीबारको फैसलापछि मृतक गीता ढकालका बुवा हरेराम ढकालले कान्तिपुरसँग कुरा गर्दै आफूहरूले बल्ल न्याय पाएको अनुभूति गरेको प्रतिक्रिया दिए । ढकालको प्रतिक्रिया उनकै शब्दमा :

पहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको फैसलाले न्याय हराएको थियो । नेपालको प्रचलित कानुन अनुसार हुनै नसक्ने फैसला गरेर उनले अपराधीको सजाय घटाइदिएका थिए ।

तत्कालीन पुनरावेदन अदालतले गरेको फैसला उल्ट्याउँदै जबराले साढे ८ वर्ष मात्र कैद हुने फैसला गरेका थिए । रन्जनले हत्या गरेको ठहर गरेका थिए, तर हत्यामा हुने सजायलाई जन्म कैदबाट घटाएर साढे ८ वर्ष गराइदिएका थिए ।

सर्वोच्च अदालतको आजको फैसलाले त्यसलाई उल्टाइदिएको छ । न्याय मार्ने पुरानो फैसला उल्टिएपछि हामीले न्याय पाएको महशुस गरेका छौं । हामीमाथि भएको अन्यायलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ र रन्जनलाई २० वर्ष नै कैद हुनुपर्ने गरी पहिलेको पुनरावेदन अदालतले गरेको फैसलालाई सदर गरेको छ । यो फैसलाले हामी पीडित परिवारका सबै सदस्यले न्याय पाएको अनुभूति गरेका छौं । फैसला गर्ने न्यायाधीशहरू तीनै जनालाई हाम्रोतर्फबाट धन्यवाद छ ।

प्रकाशित : जेष्ठ १२, २०७९ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?