कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु

माधव ढुंगाना

भैरहवा — गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि नियमित रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान विमानस्थलको उद्घाटन गरेका हुन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु

यससँगै अब मुलुकमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । अब काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि २४ सै घण्टा सञ्चालनमा आउने छ ।

हवाई उडाको सुरक्षाका लागि आवश्यक पर्ने अत्याधुनिक उड्ययन उपकरण आईएलएस सहितको यस विमानस्थलमा ३ हजार मिटर लामो धावनमार्ग छ । बोइङ ७७७, एयरबस ३३० र त्यही क्षमताका बाइडबडी विमान अवतरण गर्न सक्ने क्षमता छ । अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन तथा प्राधिकरणले तोकेको मापदण्ड अनुसार निर्माण भएको यस विमानस्थललाई नेपाल नागरिक उड्ययन प्राधिकरणले गत वैशाख २१ गते प्रमाणीकरण गरिसकेको छ ।

विमानस्थलको उद्घाटन हुनुअघि कुवेतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि व्यवसायिक उडान भरेको जजीरा एयरलाइन्सको एयरबस ३२० विमान बिहान ७ बजेर ८ मिनेटको समयमा अवतरण गरेको थियो । यस विमानस्थलमा पहिलो व्यवसायिक हवाई उडान सञ्चालन गरेको जजीरा एयरलाइन्सको उक्त विमानबाट आएका सबै यात्रुलाई विमानस्थलमा स्वागत गरिएको थियो ।

जजीरा एयरलाइन्सले हप्ताको तीन वटा उडान सञ्चालन गर्ने अनुमति लिएर आफ्नो तालिका अनुसार सोमबारदेखि उडान सञ्चालन सुरु गरेको हो ।

विमानस्थल उद्घाटनको क्रममा प्रधानमनत्री शेरबहादुर देउवाले यस विमानस्थल सञ्चालनमा आएपछि मुलुकको बढ्दो हवाई चाप कम हुने र अन्तर्राष्ट्रिय हवाइ यात्राका लागि काठमाडौं पुग्नु पर्ने बाध्यता हटेको बताए । यस विमानस्थल सञ्चालनमा आएपछि मुलुकको आर्थिक विकासमा समेत ठूलो सहयोग पुग्ने उनले बताए । नेपालको हवाई नीतिलाई उदार र खुल्ला प्रतिष्पर्धी बनाइने पनि देउवाले बताए ।

वि स २०७१ मघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले यस विमानस्थल आयोजनाको शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सम्पन्न भइसक्नु पर्ने यस विमानस्थल आयोजना मुख्य ठेकेदार कम्पनी र सहठेकेदार कम्पनीबीच विवाद, मधेस आन्दोलन, भारतको नाकाबन्दी, निर्माण सामग्रीको आपूर्तिमा असहजता र कोभिड १९ का कारण निर्माण अवधि लम्बिएको हो ।

सबै ठेक्का कार्गो भवनसहित विमानस्थलका लागि १० अर्ब र जग्गा अधिग्रहणको मुआब्जाका लागि २२ अर्ब ४७ करोड रुपैयाँ खर्चेर विमानस्थल सञ्चालनमा आएको आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए ।

पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम बहादुर आलेले यस विमानस्थलमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न विमानस्थल सेवा शुल्कमा छुट दिइने बताए । पोखारामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाईपनि चाँडै नै सञ्चालनमा ल्याइने मन्त्री आलेले बताए ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि मौसम वा अन्य कारणले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्न नसकेपछि अन्य देशको विमानस्थलमा जानुपर्ने बाध्यता सोमबारदेखि हटेको बताए ।

प्रकाशित : जेष्ठ २, २०७९ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?