कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोदीका लागि लुम्बिनीमा ४ हेलिप्याड

मनोज पौडेल

लुम्बिनी — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ मा नेपाल आउने भएपछि लुम्बिनीमा चहलपहल बढ्न थालेको छ । २५६६ औं बुद्ध जयन्तीका अवसरमा आयोजना हुने कार्यक्रम लागि मोदी हेलिकोप्टरबाट लुम्बिनी आउन लागेका हुन् । उनको अवतरणका लागि चारवटा हेलिप्याड बनाइँदै छ । अन्तर्राष्ट्रिय सभा हलको पश्चिम तथा दुई नम्बर गेटको दक्षिणमा हेलिप्याड बनाउन सुरु गरिएको छ ।

मोदीका लागि लुम्बिनीमा ४ हेलिप्याड

एउटा हेलिप्याडको संरचनामा सरिया राखेर बाँध्न थालिएको छ भने अर्कोको रेखांकन गरेर खन्न थालिएको छ । बाँकी दुईवटा हेलिप्याड बनाउन ठाउँ सफा गरिँदै छ । आरसीसी ढलान गरेर ३० मिटर गोलाइको हेलिप्याड बनाइने प्राविधिकले बताए । ‘गुरुयोजनामा अहिले बनाउन लागेको ठाउँमा तीनवटा हेलिप्याड बनाउने डिजाइन थियो,’ लुम्बिनी विकास कोषका प्राविधिकले भने, ‘त्यही ठाउँमा अब चारवटा बन्ने भए ।’

हेलिप्याडसम्म पुग्न ढुंगा छापेर चार मिटर चौडा पक्की बाटो बनाइँदै छ । चारवटै हेलिप्याडमा बाटो पुर्‍याइँदै छ । उत्रिनासाथ हिँड्नुपर्दैन । हेलिप्याडको काम ५ दिनदेखि भइरहेको छ । वैशाख मसान्तसम्म तयार गर्ने गरी ठेकेदारले काम गरिरहेका छन् । ५० बढी मजदुर काममा खटिएका छन् । मोदीसँग चार वटा हेलिकप्टर आउने बताइएको छ । सोही दिन काठमाडौंबाट आउने दुईवटा हेलिकप्टरका लागि अस्थायी हेलिप्याड बनाइने भएको छ । बिजुली बस चार्जिङ स्टेसनअघि एउटा र अर्को पाँचतारे होक्के होटलअघि अस्थायी हेलिप्याड बनाउन लागिएको छ ।

भारतले बनाउन लागेको ९ नम्बर गेट हुँदै बिहारसम्म पुग्ने बाटो पनि अहिले तीव्रताका साथ बनाइँदै छ । भारत सरकारले अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेडेसन (आईबीसी) मार्फत जर्मन स्तूप उत्तर बिहार बनाउन लागेको हो । आईबीसी भारतको संस्कृति तथा पर्यटन मन्त्रालयमातहत छ । गेटदेखि त्यहाँसम्म पुग्ने करिब ७ सय मिटर बाटो पनि पक्की बनाउन थालिएको छ । बिहारको बाउन्ड्री वाल बनाउने काम पनि तीब्रताका साथ भइरहेको छ । विहार प्रहरीले त्यसलाई सुरक्षा दिन थालेको छ । एक अर्ब भारतीय रुपैयाँमा तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको बिहारको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रूपमा शिलान्यास गर्ने कार्यक्रम छ ।

कुल बजेटको १० प्रतिशत धरौटी र ५ प्रतिशत सेवा शुल्क आईबीसीले लुम्बिनी विकास कोषलाई बुझाइसकेको छ । ८० मिटर वाई ८० मिटर क्षेत्रफलको प्लट वर्तमान प्रधानमन्त्री देउवाले पर्यटनमन्त्रीको कार्यभार सम्हालेका बेला बसेको कोषको बोर्ड बैठकले निर्णय गरेर दिएको हो ।

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने कुरा आफूहरूले सुनेको भन्दै तयारी पनि थालेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए । भ्रमणबारे विस्तृतमा परराष्ट्र मन्त्रालयले बताउने उनले जनाए । लुम्बिनीमा निर्माणाधीन ५ हजार जना अट्ने बौद्ध सभा हल तथा ध्यान केन्द्रको काम पनि अहिले तीव्रताका साथ भइरहेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

नेपाल सरकारबाट भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबारे औपचारिक घोषणा नभए पनि नेपाल र भारतीय उच्च सुरक्षाकर्मी साताअघिदेखि नै लुम्बिनी आउने क्रम बाक्लिएको छ । भ्रमण तयारीका लागि लुम्बिनीमा उनीहरू लुम्बिनी विकास कोषसँग पटक–पटक छलफल गरिरहेका छन् । दुवै मुलुकका वरिष्ठ सुरक्षा अधिकारीले रेकी गरेर फर्किएका छन् । दिल्लीबाट समेत सुरक्षाकर्मी आएर अवस्था बुझेका छन् । काठमाडौंस्थित भारतीय दूतावासको टोली पनि दिनदिनैजसो यहाँ आउने गरेको छ । दूतावासको टोलीले कोषका पदाधिकारीसँग छलफल गरिरहेको छ । बिहीबार पनि एउटा टोली आएर फर्किएको छ । लुम्बिनीभरि सुरक्षाकर्मीको उपस्थिति बढेको छ ।

भ्रमणलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन लुम्बिनी विकास कोषका पदाधिकारी काठमाडौंमा छन् । उपाध्यक्ष त्रिपाठीको नेतृत्वमा सदस्य–सचिव सानुराजा शाक्य, योजना प्रबन्धक सरोज भट्टराई र वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानीन राई मंगलबार राजधानी गएका हुन् ।

मोदी लुम्बिनी आएर मायादेवी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ । अशोक स्तम्भमा द्वीप प्रज्ज्वलन र पुष्करणी पोखरी दक्षिणमा रहेको बोधी वृक्षमा विश्राम गर्ने कार्यक्रम छ । मध्याह्न एक होटलमा दुई पक्षीय सरकारी टोलीबीच छलफल र वार्ताको कार्यक्रम छ । जेठ २ गते दिउँसो २ बजे बुद्धजयन्ती मूल समारोह समितिको कार्यक्रममा सहभागी हुने तयारी छ । त्यहाँ प्रम देउवा र समकक्षी मोदीले सम्बोधन गर्नेछन् ।

भारतको कुशीनगर हुँदै मोदी लुम्बिनी आउने र सोही दिन भारत फर्कने कार्यक्रम छ । ‘भ्रमणका लागि विशेष तयारी थालेका छौं,’ कोषका योजना प्रबन्धक सरोज भट्टराईले भने, ‘थप कुरा सुरक्षा निकायबाट बुझ्नूस् ।’ यसअघि भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने भनेर व्यापक प्रचार गरिए पनि अन्तिममा भ्रमण रद्द भएको थियो ।

प्रकाशित : वैशाख २५, २०७९ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?