काठमाडौँ — नेपाल–अमेरिका कुटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा अमेरिकाबाट अर्को एक उच्चस्तरीय भ्रमण हुने भएको छ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जिया नेपालमा स्थानीय तहको निर्वाचन सकिएलगत्तै नेपाल आउन लागेकी हुन् ।
परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित अमेरिकी दूतावासका एक अधिकारीका अनुसार उपमन्त्री जियाले जेठ ६ देखि ८ सम्म तीन दिने औपचारिक भ्रमण गर्न लागेकी हुन् । तर उनको नेपाल भ्रमणको सम्बन्धमा अमेरिका र परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी नै छ ।
भ्रमणका क्रममा उपमन्त्री जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र अन्य वरिष्ठ अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । जिया अमेरिकाको तिब्बती मुद्दाका लागि विशेष संयोजक पनि हुन् । नेपालमा बसोबास गर्ने तिब्बती शरणार्थीप्रति अमेरिकाले चिन्ता व्यक्त गर्दै नेपालमा रहेका करिब १० हजार तिब्बती शरणार्थीलाई परिचयपत्र उपलब्ध गराउन आग्रह गर्दै आइरहेको छ ।
तर‚ एक चीन नीतिमा कटिबद्ध नेपालले सन् १९९५ देखि तिब्बती शरणार्थीलाई परिचयपत्र दिन बन्द गरिसकेको छ । तिब्बती शरणार्थीलाई लिएर नेपालमा चीनको विशेष चासो छ । नेपाल सरकारले आफ्नो भूमिमा तिब्बतीहरूको कुनै पनि चीन विरोध कार्यक्रमलाई सम्पूर्ण राज्य संयन्त्र प्रयोग गर्दै रोक्दै आएको छ ।
उपमन्त्री जियाको भ्रमण झन्डै एक दशकपछि नेपालमा हुन लागेको अमेरिकी अधिकारीहरूको उच्चस्तरीय भ्रमण हो । नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेसँगै नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाउन दुवै देश जुटेका छन् । लगत्तै अमेरिकाबाट एकपछि अर्को भ्रमण हुन थालेको छ ।
यसअघि यहि महिनाको ९ देखि ११ सम्म सेनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा ५ सदस्यीय सांसदहरुको टोलीले नेपालको भ्रमण गरेको थियो । वैशाख ६ देखि ८ सम्म दक्षिण तथा मध्यएसिया मामिला हेर्ने उपसहायक विदेश मन्त्री केली केइडरलिङले नेपालको भ्रमण गरेकी थिइन् । त्यस अघि नेपालले फागुन १५ मा एमसीसी अनुमोदन गर्नुअघि दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालको भ्रमण गरेका थिए ।
बिहीबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले अमेरिकाबाट उच्चस्तरीय भ्रमण हुने सक्ने तर त्यसबारेमा बाहिर ल्याउन मिल्ने खालको नभइसकेको बताएकी थिइन् ।
‘हामीले उच्चस्तरीय भ्रमण गर्ने र आदानप्रदान गर्ने प्रयास गरिरहेका छौं । तर‚ अहिलेसम्म त्यस्तो खास प्रस्ताव आएको छैन । यो वर्ष नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ हो,’ उनले भनिन्, ‘त्यसैले निकट भविष्यमा केही उच्चस्तरीय भ्रमणका लागि काम गरिरहेका छौं ।’
नेपाल–अमेरिकाको सन् १९४७ अप्रिल २५ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । यसअघि सन् २०१२ मा अमेरिकाका दुई उपसचिव वेन्डी सेरम्यान र मारिया ओटेरोले नेपाल भ्रमण गरेका थिए । सन् २००२ मा तत्कालिन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेका थिए । त्यसयता त्यहि उच्चस्तरको अमेरिकी पक्षबाट नेपालमा भ्रमण हुन सकेको छैन ।
त्यसयता राजा महेन्द्रले अमेरिकाको दुई पटक (सन् १९६० र १९६७ मा) र राजा वीरेन्द्र (सन् १९८३ मा) ले एक पटक राजकीय भ्रणण गरेका थिए । त्यसपछि नेपालबाट राष्ट्रप्रमुखको रुपमा कसैले पनि अमेरिकाको भ्रमण गरेका छैनन् । सरकार प्रमुखको रुपमा भने शेरबहादुर देउवाले सन् २००२ मा प्रधानमन्त्रीको हैसियतमा भ्रमण गरेका थिए ।
नेपालबाट पछिल्लो पटक चार वर्ष अघि सन् २०१८ मा (२०७५, पुस ३-५) तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए ।
अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरले दुई पटक (सन् २००७ र २००८) मा नेपालको भ्रमण गरेका थिए । उनी त्यस बेला कार्टर सेन्टरको फाउन्डरको रुपमा आएका थिए ।
अमेरिकी उपराष्ट्रपति स्पाइरो एग्रेउले सन् १९७० मा नेपालको भ्रमण गरेका थिए । सन् १९७५ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी श्रीमतीको हैसियतमा हिलारी नेपाल आएकी थिइन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कुटनीतिक सम्बन्ध ७५औं वर्ष पुगेको अवसरमा अमेरिकाबाट अझै उच्च तहको भ्रमण हुन सक्ने आकलन गरिएको उल्लेख छ । ‘अमेरिकाबाट विदेशमन्त्री एन्टोनी ब्लिंकन वा उपराष्ट्रपति कमला ह्यारिससम्मको पनि भ्रमण हुन सक्छ,’ उक्त स्रोतले भन्यो, ‘र, नेपालबाट पनि प्रधानमन्त्रीस्तरमै उच्च भ्रमण हुनसक्छ ।’
अमेरिकाका लागि नेपालका पूर्वराजदूत अर्जुन कार्की भने दुवै मुलुकले कुटनीतिक सम्बन्धको ७५औं वर्षगाँठलाई विशेष रुपमा मनाउन लागेको मान्छन् । ‘यसले हाम्रो राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक सम्बन्धहरूलाई पनि थप मजबुत बनाउँदै लाने छ,’ उनले भने, ‘दुवै मुलुकले उच्च तहको भ्रमणलाई प्राथमिकतामा राख्नुले सही सन्देश लिन्छ ।’
