कांग्रेसका बागी उम्मेदवारलाई गगनको आग्रह- 'पार्टीको निर्णय मान्नुस्, पछि हिसाब गरौंला'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसका बागी उम्मेदवारलाई गगनको आग्रह- 'पार्टीको निर्णय मान्नुस्, पछि हिसाब गरौंला'

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई फिर्ता लिन आग्रह गरेका छन् । 

महामन्त्री थापाले निर्वाचनमा होमिएका बेला पार्टीको निर्णयको सम्मान गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका हुन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले गठबन्धन गरेर अघि जाने क्रममा भएका कमी कमजोरीबारे पार्टीले निर्वाचनपछि छलफल गर्ने उल्लेख गर्दै निर्वाचनमा होमिएको बेला पार्टीको निर्णय विपरीत उम्मेदवारी दिन नमिल्ने बताए ।

त्यसरी उम्मेदवारी दिँदा पार्टीका कर्मठ नेताहरुको हितमा नहुने उनले भन्दै स्वतन्त्र उम्मेदवारी फिर्ता लिन उनले आग्रह गरेका हुन् । महामन्त्री थापाले पार्टीभित्र गठबन्धन गरेर चुनावमा जाने कुरामा फरक मत रहे पनि अहिले पार्टीको निर्णय अनुसार मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए । ‘गठबन्धन बनाएर निर्वाचनमा जाने विषयमा पार्टीभित्र फरक मत मात्रै होइन ठूलो भिन्न मत पनि छ । यसका बारेमा संघर्ष पनि भयो । त्यो संघर्ष छ र भोलिको दिनमा पनि रहन्छ । तर राजनीतिक दल भनेकै आफ्नो मतलाई दलको मत बनाउन कोसिस गर्ने हो । दलको मत बन्न सकेन भने पनि आफ्नो मतलाई दलको मत बनाउन कोसिस गरिरहन्छु भनेर दलले गरेको निर्णयलाई स्वीकार गर्ने हो । हामी पार्टीलाई जिताउन चाहन्छौं, पार्टीको निर्णयलाई कार्यान्वयन गराउन चाहन्छौं । तर यसपछि फेरि छलफल हुन्छ । फेरि बहस हुन्छ । यो विषय ओझेलमा राखिन्न । एउटा, एउटा विषयमा छलफल हुन्छ । तालमेलको विषयमा छलफल हुन्छ । सैद्धान्तिक विषयमा छलफल हुन्छ,' नेता थापाले भने ।

गठबन्धनबारे कैयौं ठाउँबाट निवेदन आएको भन्दै उनले पार्टीको विधान र नियतबारे छलफल हुने भन्दै कार्यकर्तालाई आश्वासन दिएका थिए । साथै उजुरीहरु संकलन गरिरहेको र दोषीमाथि कारबाही गर्ने पनि उनले बताए ।

उनले भने, 'तर आज म पार्टीका साथीहरुलाई यहीँबाट आह्वान गर्न चाहन्छु– जब पार्टी एउटा निर्णय गरेर निर्वाचनमा होमिन्छ । त्योभन्दा अगाडिसम्म आफ्ना मतभेदहरु हुन्छन् । चुनाव पछाडि फेरि ती विषयमा मतभेदहरु हुन्छन् । तर चुनावमा होमिइसकेपछि त पार्टीको निर्णयलाई सबैले मान्नुपर्छ । सम्मान गर्नुपर्छ । म देशभरीका पार्टीका साथीहरु, जसले अहिले पार्टीको निर्णय भन्दा बाहिर गएर स्वतन्त्र ढंगले उम्मेदवारी दिनु भएको छ । म तमाम ती साथीहरुलाई महामन्त्रीको रुपमा अनुरोध गर्न चाहन्छु–हामीसँग अरु २ दिनको समय बाँकी छ । तपाईँहरुमाथि भएको एउटा एउटा अन्यायको हिसाब किताब हुन्छ । तपाईँहरुमाथि जसलाई विभेद भएको छ । त्यसको एउटा एउटा हिसाब किताब हुन्छ । तपाईँहरुको यसको क्षतिपूर्ति पनि गर्ने गरी न्यायको निर्णय पनि हामी गराउने त्यो ठाउँसम्म पनि हामी पुर्‍याउँछौं ।'

महामन्त्री थापाले आफूले पनि चुनावी तालमेलको विषयमा फरक मत राखेको तर पार्टीले गरेको निर्णय कार्यान्वयन गरेर अघि बढेको बताए । अन्यथा पार्टीमा फेरि फर्केर काम गर्न पाउने अवस्था नरहने उनले स्मरण गराएका थिए ।

प्रकाशित : वैशाख १४, २०७९ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्

बाँकेका दुई वडामा फरक पार्टीबाट दाजुभाइ प्रतिस्पर्धा गर्दै

ठाकुरसिंह थारु

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका १ र कोहलपुर नगरपालिका ३ मा सहोदर दाजुभाइले फरक पार्टीबाट उम्मेदवारी दिएका छन् । नेपालगन्ज उपमहानगर १ मा अध्यक्षका लागि वर्तमान वडाध्यक्ष प्रमोद रिजालले नेकपा (एमाले) र उनका सहोदर दाजु बिनोद रिजालले नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका हुन् । 


प्रमोद लामो समयदेखि एमालेनिकट विद्यार्थी संगठनको राजनीतिमा सक्रिय थिए । त्यस्तै, दाजु बिनोद विद्यार्थी राजनीति गर्दै हाल तरुण दल बाँकेको सचिवका रुपमा काम गर्दै आएका छन् ।

त्यस्तै कोहलपुर नगरपालिका ३ को वडाध्यक्षका लागि दाजु तारकेश्वर रिजाल नेकपा (माओवादी केन्द्र) र भाइ माधव रिजाल एमालेको तर्फबाट उम्मेदवारी दिएका छन् । २०७४ को स्थानीय निर्वाचनमा माधव वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै, दाजु तारकेश्वर ६५ मतले पराजित भएका थिए ।

प्रकाशित : वैशाख १४, २०७९ १५:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×