२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

तालमेल नभएका ठाउँमा आजै समझदारी गर्न सत्ता गठबन्धनको निर्देशन

काठमाडौँ — पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तहमा उम्मेदवारी दर्ता भइसकेपनि तालमेल नभएका ठाउँमा बुधबारै छलफल गरी समझदारीको वातावरण बनाउन निर्देशन दिएको छ । शीर्ष नेताहरूले गठबन्धन दलबाहेक अन्य दलसँग कही कतै तालमेल भएको भए त्यस्तो तालमेलसमेत तत्काल खारेज गर्न निर्देशन गरेका छन् ।

तालमेल नभएका ठाउँमा आजै समझदारी गर्न सत्ता गठबन्धनको निर्देशन

‘गठबन्धनका दलहरुका बीचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडाहरुमा समेत आजै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने, र त्यसका निमित्त स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीइ संयन्त्रसँग आवश्यक परामर्श र सहयोग लिने,’ गठबन्धनले निर्देशन गरेको छ ।

बैठकपछि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन गरेका हुन् । ‘गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने,’ पाँच दलका प्रमुखहरूले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

गठबन्धनको बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यसअघि प्रमुख पदमा तालमेल गर्ने निर्णय भइसकेका छ महानगर र ११ उपमहानगरका वडा तहमा समेत सिट बाँडफाँट गरी तालमेल गरेर अघि बढ्न निर्देशन गरेको छ । गठबन्धनले सम्बन्धित प्रदेश र जिल्ला संयन्त्रको बुधबारै बैठक राखेर तालमेल गर्न बाँकी रहेका ठाउँमा तत्काल गठबन्धन दलभित्र भागबन्डा गरेर समझदारी गर्न निर्देशन गरेको हो ।

गठबन्धनले महानगर र उपमहानगरमा गठबन्धनको निर्णयविपरीत परेका दलगतरुपमा परेका र स्वतन्त्ररुपमा परेका उम्मेदवारीसमेत फिर्ता गर्ने निर्णय गरेको छ । गठबन्धनले नगरपालिका र गाउँपालिकाहरुमा गठवन्धनका दलहरुका बिचमा भईसकेको सिट बाँडफाँट समझदारीविपरीत गठबन्धनभित्रका दलहरुवाट दर्ता भएका उम्मेदवारीहरु समेत फिर्ता गर्ने निर्णय गरेको छ । स्वतन्त्र उम्मेदवारी जुन दलका कार्यकर्ताले दिएका छन्, सम्बन्धित दलले नै पहल गरेर त्यस्तो उम्मेदवारी फिर्ता गराउने गठबन्धनको सहमति छ ।

प्रकाशित : वैशाख १४, २०७९ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?