गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने, काठमाडौंमा वैशाख २२ गते

वैशाख ८, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीय तहको निर्वाचनमा देशभर गठबन्धन गर्ने निर्णय गरेका सत्तारुढ पाँच दलले सातवटै प्रदेशका मुख्य सहरहरूमा संयुक्त चुनावी सभा गर्ने भएका छन् । गठबन्धनको चुनावी परिचालन तथा अनुगमन समितिको बिहीबार बिहान बसेको बैठकले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले वैशाख १८ गतेदेखि २२ गतेसम्म सात प्रदेशका सात मुख्य सहरहरूमा चुनावी सभा गर्ने निर्णय भएको जानकारी दिए ।

गठबन्धनले वैशाख २२ गते काठमाडौंमा संयुक्त चुनावी सभा गर्नेछ । सो सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । 

‘निर्वाचन प्रचार प्रसार १७ गतेबाट सुरु हुन्छ । हामीले १८ देखि २२ गतेसम्म गठबन्धनको तर्फबाट संयुक्त चुनावी सभाहरू गर्ने निर्णय गरेका छौँ,’ नेता गुरुङले भने । 

गठबन्धनले वैशाख १८ गते धनगढी र सुर्खेत, १९ गते बुटवल र पोखरा, २० गते जनकपुर र विराटनगर तथा २२ गते काठमाडौंमा संयुक्त चुनावी सभा गर्ने नेता गुरुङले जानकारी दिए । ‘हाम्रो समितिको काम चुनावी परिचालन र अनुगमन गर्ने हो । हामी त्यो कामलाई निरन्तर राख्छौँ,’ उनले भने, ‘अब गठबन्धनका उम्मेदवारहरूलाई जिताउन हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।’ 

कान्तिपुर

Link copied successfully