नेपालको कला विश्वकै चिनारी : उपराष्ट्रपति- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालको कला विश्वकै चिनारी : उपराष्ट्रपति

कान्तिपुर संवाददाता

काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली कला विश्व कै चिनारी भएको बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०७९’को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाल प्राकृतिक, सांस्कृतिक र कलाले समृद्ध रहेकाले विश्वकै लागि पहिचान भएको बताए ।

उनले राष्ट्रिय विभूति अरनिकोदेखिका कलाकारले कलाका माध्यमबाट विश्वमा नेपालको शिर उँचो बनाउने काम गरेको स्मरण गरे । उपराष्ट्रपति पुनले विश्वका जुनसुकै कुनामा पनि नेपाली कला पुगेकोमा खुसी व्यक्त गरे ।

केही वर्षअघि अष्ट्रियाको भियानामा भएको एक कार्यक्रममा सहभागी हुने क्रममा नेपाली लोक, आधुनिक कला प्रदर्शनी देख्दा आफूलाई गौरवको अनुभूति भएको उनले उल्लेख गरे । उपराष्ट्रपति पुनले विश्वमा नेपालीको पहिचान स्थापित गर्नमा नेपाली कलाको महत्वपूर्ण भूमिका रहेको बताए ।

नेपाली कलाको इतिहास दुई हजार वर्षदेखिकै रहेको र परम्परागत रुपमा धर्म, संस्कार र संस्कृतिका कला रहेकामा वर्तमानमा हरेक विधामा कला सिर्जना हुँदै आएको उनको भनाइ थियो । अन्य क्षेत्रमा जस्तै नेपाली ललितकलाको क्षेत्रले पनि समस्या र चुनौती भोगिरहेको तथा कलाकारलाई टिकाउनसमेत चुनौती रहेको उनले बताए ।

ललितकलालाई बचाइ राख्न राज्यबाट आवश्यक सहयोगको खाँचो रहेको उपराष्ट्रपति पुनले औंल्याए । कला साधना भएकाले ललितकलाप्रति आफ्नो पनि रुचि रहेको सुनाउँदै उनले नेपालको चिनारी र गौरव विश्वमाझ बचाइ राख्न ललितकलाको भूमिका अहम् रहेको बताए ।

समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले एक महिनासम्म चल्ने ललितकला प्रदर्शनी कला क्षेत्रकै लागि महोत्सव भएको बताए । समारोहमा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले प्रदर्शनीमा ३६५ कलाकारका ४२६ चित्र समावेश गरिएको जानकारी दिए ।

समारोहमा उपराष्ट्रपति पुनले एक/एक लाख राशि रहेको ‘अरनीको प्राज्ञ सम्मान’ अग्रज कलाकार कृष्ण मानन्धर र सूर्यबहादुर चित्रकारलाई प्रदान गरे । यस्तै राष्ट्रिय ललितकला लेखन पुरस्कार पत्रकार देवेन्द्र थुम्केलीलाई र ललितकला पत्रकारिता पुरस्कार सुशीला तामाङलाई प्रदान गरिएको छ ।

सो अवसरमा विधागत रुपमा सात कलाकारलाई राष्ट्रिय ललितकला पुरस्कार, १७ जनालाई ललितकला विशेष पुरस्कार तथा सात जनालाई ललितकला प्रादेशिक पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित : वैशाख २, २०७९ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्

सप्तरीमा आगलागीमा परी बालकको मृत्यु

अवधेशकुमार झा

राजविराज — सप्तरीको बोदेवरसाइन नगरपालिका १० अमरैयामा शुक्रबार दिउँसो भएको आगलागीमा पाँच वर्षीय बालकको मृत्यु भएको छ । स्थानीय शत्रुधन यादवका पाँच वर्षीय छोरा शैलेशको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो ४ बजे शत्रुधन यादप, मिन्टु यादव र ओम यादव तीनै दाजुभाइको संगोलमा रहेको गोठघरमा अचानक आगलागी भएको थियो ।

आगलागीमा गोठघर र त्यसभित्र रहेका सरसामान पूर्णरुपमा जलेको छ । आगो लागेको हल्ला हुनासाथ गोठतिर गएका बालकको जलेर मृत्यु भएको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार बाँसको टाटी, जस्तापाता र अबलेष्टरले छाएको घर र सरसामान जल्दा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यस्तै शत्रुधनको घरबाट सुरु भएको आगो छिमेकी रघुनन्दन यादव र जागेश्वर यादवको घरमा समेत सल्केको थियो । रघुनन्दनको एउटा घर र जागेश्वरको पक्की घरको झ्याल जलेको छ । ती घरहरुमा रहेका सम्पूर्ण सरसामान जलेर नष्ट हुँदा ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो सुरक्षाकर्मी र स्थानीयले निभाएका थिए ।

प्रकाशित : वैशाख २, २०७९ १८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×