२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

आइजीपी खनालले पाए अवकास, निमित्त प्रमुखमा केसी

काठमाडौँ — सशस्त्र प्रहरी बल (एपीएफ)को निमित्त महानिरीक्षक जिम्मेवारी पुष्पराम केसीले पाएका छन् । महानिरीक्षक शैलेन्द्र खनाल ४ वर्षे पदावधिका कारण चैत २९ गतेबाट अवकास पाउने भएपछि उनले वरियतामा अगाडि रहेका अतिरिक्त महानिरीक्षक (एआइजी) केसीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएर संगठनबाट बिदा लिएका हुन् ।

आइजीपी खनालले पाए अवकास, निमित्त प्रमुखमा केसी

सेवा अवधिका हिसावले खनालको आगामी वैशाख १८ सम्म कार्यकाल थियो । तर आइजीपीको ४ वर्षे सेवा अवधिका कारण त्यसअघि नै उनी अवकासमा गएका हुन् ।

उनको अवकासपछि सशस्त्रमा आगामी आइजीपी को हुने भन्नेबारे सरकारले निर्णय नलिएका कारण वरियतामा अगाडि रहेका केसीलाई निमित्त प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेर खनाल संगठनबाट बाहिरिएका हुन् । केसीसँगै तीन साताका लागि संगठन प्रमुख हुन अर्का एआइजी रामशरण पौडेल पनि दावेदारका रुपमा छन् ।

तर सरकारले निर्णय गरिनसकेका कारण वरियतामा अगाडि रहेका एआइजीलाई निमित्त दिनुपर्ने बाध्यकारी व्यवस्था भएर केसीले जिम्मेवारी पाएका हुन् । केसीको पनि सशस्त्रमा अब वैशाख १८ सम्म मात्रै कार्यकाल रहने छ ।

आइजीपी खनाल र निमित्त आइजीपी केसी एउटै ब्याजका अधिकृत हुन् । दुवैजना २०४९ वैशाख १८ मा नेपाल प्रहरीको निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृत हुन् । दुवैजनाले सशस्त्र प्रहरी स्थापनासँगै २०५८ मा सेवा स्थानान्तरण गरेका थिए ।

एआइजी केसीले जिम्मेवारी सम्हाल्नुअघि सोमबार सशस्त्र प्रहरी मूख्यालयमा खनालको बिदाइ कार्यक्रम राखिएको थियो । त्यस क्रममा सम्बोधन गर्दै खनालले संगठन अहिलेको अवस्थामा आइपुग्न पूर्वज नेतृत्व र अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको योगदान रहेको बताएका थिए ।

खनालले सशस्त्र प्रहरी कर्मचारीहरु उत्तरी सिमानाको हिमाली क्षेत्रको चीसोदेखि तराइको हावाहुरी तथा गर्मी ठाउँहरुमा व्यक्तिगत स्वार्थलाई परवाह नगरी देश र जनताको पक्षमा अहोरात्र खटिएको भन्दै आगामी दिनमा यसले निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको बताएका थिए ।

‘नागरिकको सुरक्षा, सीमा अपराध नियन्त्रण, विपत् पीडित नागरिकको उद्वार तथा चोरीनिकासी तथा पैठारी नियन्त्रणमा खटिइ प्रदर्शन गरेको उच्च व्यावसायिकता र उत्कृष्ट कार्यसम्पादन तथा कोभिड–१९ महामारी नियन्त्रण, तथा संक्रमितको उपचारमा नेपाल एपीएफ अस्पताल मार्फत् प्रदर्शन गरेको सेवा तथा समर्पण भाव सधैं स्मरणयोग्य छन्,’ बिदाइ कार्यक्रममा उनले भने, ‘सशस्त्रले यो जिम्मेवारी आगामी दिनमा पनि कुशलताका साथ निर्वाह गर्ने छ ।’

४ वर्षको कार्यकालमा खनालले चीन र भारततर्फको सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बढाएका थिए । उनले आफ्नो कार्यकाल सुरु गर्दा भारततर्फ ८७ बोर्डर आउटपोस्ट (बीओपी) र चीनतर्फ शून्य उपस्थिति रहेकोमा अहिले चीनतर्फ ७ र भारतीयतर्फ २ सय २० स्थानमा पुर्‍याएका छन् । सरकारले आगामी २ वर्षभित्र सीमा सुरक्षार्थ भारत र चीनतर्फ गरी ५ सय बोर्डर आउटपोस्ट पुर्‍याउने घोषणा गरिसकेको छ । यसैबीच सशस्त्रमा बिदाइ कार्यक्रमअघि गृहमन्त्री बालकृष्ण खाँणले आइजीपी खनाललाई गृह मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच बिदाइ सम्मान गरेका थिए ।

प्रकाशित : चैत्र २८, २०७८ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?