मार्च महिनामै उखुम गर्मी

चैत्र २७, २०७८

मणि दाहाल

काठमाडौँ — काठमाडौं उपत्यकामा यस वर्षको मार्च महिना ५४ वर्षयताकै सबैभन्दा बढी गर्मी मार्च महिना भएको छ । १९६८ यताको काठमाडौंको उपलब्ध तथ्याकंअनुसार २०२२ को मार्च अर्थात् फागुन १७ देखि चैत १७ गतेसम्मको अवधि सबैभन्दा बढी गर्मी वर्ष महिना रह्यो ।

हिउँद सकिने र प्री-मनसुन मौसम सुरु हुने महिनाको रुपमा मार्चबाट बिहान बेलुका चिसो र दिउँसो न्यानो हुन सुरु हुन्छ । तर यस वर्षको मार्च महिना अलि फरक रह्यो । बिहान बेलुका मात्रै होइन यस महिना दिउँसो पनि अघिल्ला वर्षहरुभन्दा बढी न्यायो महशुस भयो।

मार्चको तेस्रो सातामा आइपुग्दा अधिकांश दिनमा औषतभन्दा बढी तापक्रम मापन भएको छ । जसले मार्च महिनाको तथ्यांक राख्न सुरु गरेयताकै सबैभन्दा तातो बन्न पुग्यो ।

काठमाडौंको १९६८ देखिको मौसमी तथ्यांक अध्ययन गर्दा यसपटकको मार्चमा काठमाडौंको औषत तापक्रम २०.४ डिग्री सेल्सियस रह्यो । जबकि काठमाडौं गौचरनस्थित मौसम मापन केन्द्रको मार्च महिनाको सामान्य औषत तापक्रम १७.४ डिग्री सेल्सियस छ । औषत तापक्रम ३० वर्षमा सम्बन्धित महिनाको अधिकतम र न्युनतमलाई गणना गरेर निकाल्ने गरिन्छ ।

ग्राफिस सौजन्य : पियुष दाहाल

अहिले १९९१ देखि २०२० सम्मको अधिकतम र न्युनतम तापक्रमको आधारमा निकालिएको हो । काठमाडौंमा औषत न्युनतम तापक्रम ८.८ र अधिकतम २५.५ डिग्री सेल्सियस रहेको छ । यसपटक मार्च महिनाको औषत अधिकतम तापक्रम २८.२५ डिग्री सेल्सियस र न्युनतम १२.२५ सेल्सियस रह्यो ।

यसअघि यस्तै न्यानो मार्च महिना १२ वर्षअघि अर्थात् २०१० थियो । २०१० मार्चको औषत तापक्रम काठमाडौंको २० डिग्री सेल्सियस थियो । जबकि २०२१ मार्चमा औषत तापक्रम १८.४ रह्यो । २०२० मा भने १७.१ र २०१९ मा १६.८ डिग्री सेल्सियस थियो । त्यसैगरी २०१८ मार्चमा १८.४, सन् २०१७ मा १६.८ र २०१६मा १८.७ सेल्सियस रहेको थियो ।

‘१९६८ देखि मौसम विभागले नियमित रुपमा राख्न थालेको तथ्यांकलाई विश्लेषण गर्दा गत ५४ वर्षको मार्चमध्ये यस वर्षको मार्च महिना सबैभन्दा गर्मी रह्यो’ वातावरण तथा जलवायु अनुसन्धानकर्ता पियुष दाहालले भने, ‘यो मार्च महिनाको औषत अधिकतम र न्युनतम तापक्रम यो ५४ वर्षमा बढी हो । काठमाडौंमा कुनै दिन औषतभन्दा लगभग ८ डिग्री सेल्सियससम्म बढेको छ भने अधिकतम औषतभन्दा ५ डिग्री सेल्सियससम्म बढेको छ ।’ 

काठमाडौंको गौचरनस्थित नेपाल जल तथा मौसम विज्ञान विभागको मापन केन्द्रको तथ्याकंले यो मार्च महिना सबैभन्दा बढी १९ तारिखमा ३१.५ डिग्री सेल्सियस मापन गरेको थियो । यस वर्ष काठमाडौंमा मार्चको अन्तिम दिन अर्थात् चैत १७ मा सबैभन्दा बढी न्युनतम तापक्रम १७.५ डिग्री सेल्सियस रह्यो ।

जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार ललितपुरको खुमलटार र भक्तपुरको चाँगुनारायणमा रहेका मौसम मापन केन्द्रहरुको न्युनतम र अधिकतम तापक्रममा पनि नयाँ रेकर्ड बनेको देखिएको छ । चाँगुमा चैत १६ मा न्युनतम तापक्रम १६.५, र खुमलटारमा १७.५ डिग्री सेल्सियस रहेको थियो । दुवै आफैंमा रेकर्ड बनेका थिए ।

देशभर बढेको छ तातो

जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानको मार्चमा विभिन्न मापन केन्द्रमा अधिकतम तथा न्युनतम तापक्रमतर्फ रेकर्ड बनेको जनाएको छ । अर्थात् पछिल्ला वर्षहरूका मार्च महिना गर्मी बढ्न थालेका छन् ।

देशका विभिन्न स्थानको मौसम मापन केन्द्रहरुको मापनमा पनि यस वर्ष न्युनतम र अधिकतम तापक्रम रेकर्ड निर्माण भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्युनतम तापक्रम बढी हुनु भनेको राति वा बिहान पनि न्यानो हुने अवस्था हुन्छ ।

‘अहिले हामीले अनुगमन गरिरहेको २० वटा स्टेसनमा तथ्यांक हेर्दा मार्च महिनाको तापक्रम सरदरभन्दा बढी रहेको छ । मार्च महिना औषतभन्दा तातो रहेको देखिन्छ । कुनै कुनै स्टेसनहरुमा मार्च महिनाका दिनहरुमा सरदरभन्दा ६ डिग्री बढिरहेको छ,’ जल तथा मौसम विज्ञान विभागको जलवायु विभागकी प्रमुख इन्दिरा कंडेलले भनिन्, ‘यसपटकको हिउँदमा केही पानी पर्‍यो र प्री मनसुन पनि भएन । वर्षा गराउने प्रणाली सक्रिय नहुँदा जति हुनुपर्ने हो त्यति वर्षा भएकै छैन । त्यसले तापक्रम बढाएको हो ।’

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागका सह प्राध्यापक विनोद पोखरेल सामान्यता अप्रिल महिनामा निर्माण हुने उच्च चापीय प्रणाली यसपटक मार्चमा देखिएको र जसले पश्चिमी वायुलाई यस क्षेत्रमा आउन नदिएर वर्षा भएको बताउँछन् । 

‘यस वर्ष मार्च महिनामा गर्मी भएको देखिन्छ । नेपाल, भारत र पाकिस्तानमा पनि मार्च महिनामा सरदरभन्दा बढी गर्मी रह्यो’ पोखरेलले भने, ‘अहिले वायु प्रदूषण बढ्नुको प्रमुख कारण त्यो पनि हो । हावाको गति जति मात्रामा हुनुपर्ने थियो त्यो औषतभन्दा निकै कम रह्यो ।’

जल तथा मौसम विभागले उपलब्ध गराएको तथ्याकंहरुमा तराईका जिल्लाहरुमा भन्दा यस पटक पहाडी जिल्लामा न्युनतम र अधिकतम तापक्रममा उल्लेख्य वृद्धि देखिन्छ । मुस्ताङको जोमसोममा चैत ३ मा अधिकतम तापक्रमको रेकर्ड बन्यो । त्यस दिन अधिकतम तापक्रम २४.२ डिग्री सेल्सियस पुगेको थियो । जबकि जोमसोममा मार्चको औषत अधितकतम तापक्रम १५.२ डिग्री सेल्सियस मात्रै हो ।

त्यसैगरी न्युनमत तापक्रममा पनि बढेको पाइयो । चैत ३ र ५ गते न्युनतम तापक्रम ९ डिग्री सेल्सियस रहँदा पनि रेकर्ड बनाएको थियो । जबकि जोमसमको मार्चको औषत न्युनतम तापक्रम २ डिग्री सेल्सियस मात्रै छ । 

धरानमा पनि यसपटक मार्च महिनामा निकै गर्मी रहेको बताइन्छ। चैत ५ गते न्युनतम तापक्रममा औसतभन्दा ७ डिग्री सेल्सियस भएको थियो । चैत ५ मा भने बजारको तापक्रम २४.९ डिग्री सेल्सियस पुगेको थियो । धरानमा औषत न्युनतम तापक्रम १७.९ डिग्री सेल्सियस छ। यसअघि सबैभन्दा बढी २०५५ चैत १७ मा २४.५ डिग्री सेल्सियस रहेको थियो ।

यस्तै यस वर्ष नलवपरासीको दुम्कौलीमा मार्च १८ अर्थात् चैत ४ गते सबैभन्दा बढी अधिकतम तापक्रम ३८.९ डिग्री सेल्सयस मापन गरियो । त्यस स्थानका लागि आफैंमा गर्मीको नयाँ कीर्तिमान हो । यसअघि सो स्थानमा १९८६ मार्च ३० (२०४२ चैत १७ ) मा ३८.६ डिग्री सेल्सियस रहेको थियो । दुम्कौलीमा अहिलेसम्मकै सबैभन्दा बढी न्युनतम तापक्रम चैत १६ मा २४.५ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि २०४७ चैत १७ मा न्युनतम तापक्रम २४.२ डिग्री सेल्सियसको रेकर्ड थियो ।

त्यसैगरी झापाको दमकमा अधिकतम तापक्रम चैत ३, ४ र ५ गते लगातार ३ दिन तापक्रम ३७ डिग्री सेल्सियस रहँदै मार्चको सबैभन्दा गर्मी दिन बने ।

सिराहा (सिराहा) , चैनपुर (संखुवासभा), खाँदबारी (संखुवासभा), धरान (सुनसरी), तरहरा (सुनसरी), कन्याम चिया बजार (इलाम), नेपालगञ्ज विमानस्थल (बाँके), घोराही (दाङ), दुम्कौली (नवलपरासी), सेमारी (नवलपरासी), चौतारा (सिन्धुपाल्चोक), रामपुर (चितवन), खुमलाटार (ललितपुर), चाँगुनारायण (भक्तपुर), चरिकोट (दोलखा), सिन्धुली माढी (सिन्धुली), जोमसोम रिसोर्ट (मुस्ताङ), दमौली (तनहुँ)मा रहेका मौसम मापन केन्द्रमा मार्च महिनामा अत्यधिक न्युनतम तापक्रमको रेकर्ड देखियो ।

त्यसैगरी हर्दिनाथ (धनुषा), जलेश्वर (महोत्तरी), उदयपुरगढी (उदयपुर), सिराहा (सिराहा), दिक्तेल (खोटाङ), धरान बजार (सुनसरी), चतारा (सुनसरी), तरहरा (सुनसरी), खाँदबारी (संखुवासभा), दमक (झापा), कन्याम चिया बगान (इलाम), गुलेरिया (बर्दिया), खाँचीकोट (अर्घाखाँची), मार्तडी (बाजुरा), सीमकोट (हुम्ला), धुलिखेल (काभ्रे), पाँचखाल (काभ्रे), बाह्रबिसे (सिन्धुपाल्चोक), भक्तपुर (भक्तपुर), चाँगुनारायण (भक्तपुर), चरिकोट (दोलखा), जोमसोम (मुस्ताङ), हुम्दे (मनाङ), दुम्कौली (नवलपरासी)मा अत्यधिक अधिकतम तापक्रमतर्फ रेकर्ड बनेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

औसत अवस्थाभन्दा बढी तातोका कारण तापक्रममा द्रूत वृद्धिले शरीरको तापक्रम नियन्त्रण गर्ने क्षमतामा असर गर्छ र यसले थकान र हाइपरथर्मिया लगायत रोगहरू निम्त्याउन सक्छ। जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसी) ले हालै जारी गरेको प्रतिवेदनले दक्षिण एसियामा तातो हावाको लहर र आर्द्रता सम्बन्धी असर तीव्र हुने चेतावनी दिएको छ। यस्ता अत्यधिक मौसमी घटनाले जनस्वास्थका साथै कृषि उत्पादनमा असर गर्छ र भविष्यमा सुख्खा क्षेत्रहरुमा थप खडेरी पर्नसक्ने सम्भावना रहन्छ।

मणि दाहाल विगत डेढ दशकदेखि पत्रकारितामा क्रियासिल छन् । उनी हाल इकान्तिपुरसँग आवद्ध रहेका छन्।

Link copied successfully