भाजपा मुख्यालयमा देउवा प्रधानमन्त्रीको हैसियतमा जानुभएको होइन : मन्त्री खड्का - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाजपा मुख्यालयमा देउवा प्रधानमन्त्रीको हैसियतमा जानुभएको होइन : मन्त्री खड्का 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको पहिलो दिन सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालय गएको विषयमा परराष्ट्रमन्त्री नारायण खड्काले प्रस्ट पारेका छन् । उनले भाजपाको मुख्यालयमा जानु कूटनीतिक मर्यादाविपरीत नभएको बताए । 

भारत भ्रमण सकेर स्वदेश फर्किइ अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले भाजपाको मुख्यालयमा देउवा प्रधानमन्त्रीका हैसियतमा नगएको प्रस्टोक्ति दिए । 'नेपाली कांग्रेसको सभापति भएको नाताले, नेपाली कांग्रेसले अन्य विभिन्न देशका पार्टीहरूसँग पनि मैत्रीपूर्ण सम्बन्ध राख्दै आएको छ । जस्तो चीनको कम्युनिस्ट पार्टीसँग पनि राम्रो सम्बन्ध छ । त्यसै गरेर भारतको कंग्रेस पार्टीसँग पनि छ । अहिले भारतीय जनता पार्टी कार्यालयमा उहाँ प्रधानमन्त्रीका हैसियतमा जानुभएको होइन,' उनले भने, 'उहाँ नेपाली कांग्रेसको सभापतिको नाताले पार्टी-पार्टीबीचको सम्बन्ध स्थापित गर्नका लागि भाजपा हेडक्वाटरमा जानुभएको हो ।'

प्रधानमन्त्री देउवा भाजपाको मुख्यालयमा गएको विषयमा कूटनीतिक क्षेत्रमा आलोचना भएको थियो ।

प्रकाशित : चैत्र २०, २०७८ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री देउवा नेपाल एयरलाईन्सको विमानबाट आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनलाई कार्यावाहक प्रधानमन्त्री बालकृष्ण खाँण, सभामुख अग्निप्रसाद सापकोटासहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । देउवाको स्वागतमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

गत शुक्रबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका थिए । भ्रमणको क्रममा उनले भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायत नेतासँग द्धिपक्षीय हितका विषयमा छलफल गरेका थिए ।

यस्तै प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले जनकपुर–जयनगर रेल सेवाको भर्चुअल्ली उद्घाटन गरेका थिए । प्रधानमन्त्री देउवा आइतबार बिहान भारतको वाराणसी पनि पुगेका थिए ।

त्यहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले वाराणसीको प्रसिद्ध काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना समेत गरेका थिए । प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, कृषिमन्त्री महिन्द्र राय यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि थिए ।

प्रकाशित : चैत्र २०, २०७८ २०:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×