ऋण लिएर सुरुङ मार्ग र चक्रपथ निर्माण अघि बढाउँछौं : मुख्यमन्त्री पाण्डे

कृष्ण थापा

नुवाकोट — वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ऋण लिएर खुला सडक र सुरुङ मार्ग निर्माण अघि बढाइने बताएका छन् ।  

नुवाकोटमा शनिबार पीपलटार फुटसल उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पाण्डेले चिनियाँहरुले सुरु गरेको एसियन इन्फ्रास्ट्रक्चर बैंकबाट १ प्रतिशत व्याजमा ऋण लिएर सुरुङमार्ग र रणनीतिक सडक निर्माण गरिने बताएका हुन् ।

ऋण लिएर सुरुङ मार्ग र चक्रपथ निर्माण अघि बढाउँछौं : मुख्यमन्त्री पाण्डे

उनले नुवाकोटको गुर्जेभन्ज्याङ मुनि छहरे–टोखा सुरुङ, खुर्कोट–चियाबारी सुरुङ सिन्धुलीमा, धादिङको हुदीखोला–चितवन शक्तिखोर जोड्ने, काठमाडौंको थानकोट–कुलेखानी सुरुङ अध्ययन गरिसकेकोले निर्माणका लागि एक वर्षभित्र टुंगो लगाउने बताए । सोही बैंकमार्फत प्रदेश चक्रपथ बनाउन पनि ऋण मागिएको उनले जनाए ।

हेटौंडा–सिन्धुली–रामेछाप–दोलखा–सिन्धुपाल्चोक–नुवाकोट भएर एउटा चक्रपथ राष्ट्रिय राजमार्ग भएर जोड्ने गरी कार्य अगाडि बढाएको मुख्यमन्त्री पाण्डेले बताए । ‘यो बनाउन कोसिस जारी रहेको छ,’ मुख्यमन्त्रीले भने ।

विशेषगरी डोजर लगाएर सडक बनाउने प्रवृत्ति हटाएर दीगो सडक निर्माण गर्नुपर्नेमा उनले जोड दिए । सीमित स्रोत साधनबाट राम्रो काम गर्नुपर्ने अवस्था रहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । उनले राजमार्गले सडक जाम नथेग्ने भएकाले अब त्यसको पारि छुट्टै मार्ग बनाउनपर्ने उनले बताए ।

उनले त्रिशूली अस्पतालमा बेड वृद्धि नभई स्तर वृद्धि गर्न उपकारण र प्राविधिक दिइने आश्वासन दिए ।

प्रकाशित : चैत्र १९, २०७८ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?