कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माग पूरा भए सरकारमा सहभागी हुन्छौँ : लोसपा

मधु शाही

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नागरिकता समस्या समाधान र आफ्ना कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता गरिए सरकारमा सहभागी हुने जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार बालुवाटारमा छलफल गर्ने क्रममा लोसपा नेताले सरकारमा सहभागी हुनका लागि सर्त अघि सारेका हुन् ।

माग पूरा भए सरकारमा सहभागी हुन्छौँ : लोसपा

केन्द्रीय कार्यकारिणी समितिको बैठकलगत्तै लोसपाका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । बबरमहलस्थित पार्टी कार्यालयमा उनीहरूले स्थानीय तह निर्वाचनको तयारी, पार्टीको गतिविधि, सरकारमा सहभागिताजस्ता विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री देउवासँग अपराह्न साढे ५ बजे लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, नेताहरू अनिल झा र सर्वेन्द्रनाथ शुक्लाले भेटेका हुन् ।

लोसपाका वरिष्ठ नेता भण्डारीले प्रधानमन्त्री देउवासँग करिब ४५ मिनेट भएको छलफलपछि आफूहरू सरकारसँग सहकार्य गर्न सकारात्मक भएको बताए । उनले स्थानीय तह, प्रदेश र संघको चुनावमा कांग्रेससँग तालमेल हुन सक्ने पनि बताए । ‘प्रधानमन्त्री देउवा धेरै हदसम्म हामीसँग सहकार्य गर्न तयार हुनुहुन्छ,’ उनले भने, ‘लोसपा पनि सकारात्मक छ ।’ उनले नागरिकतासम्बन्धी समस्या, मुद्दा फिर्ताजस्ता विषय सम्बोधनमा प्रधानमन्त्रीबाट सकारात्मक प्रतिक्रिया आएको पनि भण्डारीले बताए । कांग्रेस र लोसपाबीच लामो समयसम्म सहकार्य गर्ने तयारी रहेको भण्डारीको भनाइ छ । स्थानीय तहको चुनावदेखि संघ र प्रदेशको चुनावसम्म तालमेल गर्ने कुरा भएको छ । आवश्यकताअनुसार सहकार्य गर्न सक्ने भनेका छौं,’ उनले भने ।

बुधबारको केन्द्रीय कार्यकारिणी समिति बैठकमा १० सदस्यले धारणा राखेका थिए । बैठकमा स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया, पार्टीको विधान परिमार्जन, संगठन विस्तारजस्ता विषयमा छलफल भएको केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले बताए । बैठक अझै दुई दिनसम्म लम्बिन सक्ने उनले बताए ।

प्रकाशित : चैत्र १७, २०७८ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?