कांग्रेसले महाधिवेशन सकिएको चार महिनामै खुलायो सदस्यता

प्रकाश धौलाकोटी

काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण खुला गरेको छ । क्रियाशील सदस्य पार्टीभित्र नेतृत्व चयन गर्ने मतदाता हुन् । विगतमा कांग्रेसले महाधिवेशनको मुखमामात्रै सदस्यता नवीकरण र वितरण गर्ने गर्दै आएको थियो । तर, यसपटक भने महाधिवेशन सकिएको चार महिना नबित्दै क्रियाशील सदस्यता वितरण खुला गरेको हो ।

कांग्रेसले महाधिवेशन सकिएको चार महिनामै खुलायो सदस्यता

मंगलबार सकिएको केन्द्रीय कार्यसमिति बैठकले आसन्न निर्वाचन समेतलाई लक्षित गर्दै सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय गरेको छ । प्रवक्ता प्रकाशशरण महतले विधानको धारा ४ बमोजिम देशव्यापीरुपमा पार्टीको सदस्यता र क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय भएको जानकारी दिए ।

१४ औँ महाधिवेशनअघि सदस्यताको विवादकै कारण कांग्रेसले डेढ वर्षसम्म महाधिवेशन नै गर्न सकेको थिएन । विवादका कारण सदस्यता नवीकरण र वितरण प्रभावित हुने भएपछि रमेश लेखकको संयोजकत्वमा छुट्टै छानविन समिति गठन गरी महिनौँ लगाएर छानबिनको काम गरेको थियो ।

छानबिन समितिको काममा समेत न्यायपूर्ण नभएको भन्दै जिल्लाका नेता कार्यकर्ताले केन्द्रीय कार्यालयमा महिनौँसम्म अनसन गरेका थिए । सदस्यताको विवादकै कारण कांग्रेसले पटक–पटक महाधिवेशनको मिति सार्‍यो, केन्द्रीय महाधिवेशनअघि नै हुनुपर्ने जिल्ला अधिवेशन कतिपय जिल्लाले महाधिवेशन पछि मात्रै गरे ।

महाधिवेशनको मुखमा मात्रै सदस्यता वितरण र नवीकरण गर्ने पूरानो अभ्यासलाई तोड्ने प्रयासस्वरुप विधानको व्यवस्थाबमोजिम सदस्यता खुला गर्ने निर्णय भएको सहमहामन्त्री जीवन परियारले बताए ।

‘विधानले सदस्यतासम्बन्धी प्रष्ट व्यवस्था गरेको छ, जसले महाधिवेशनको मुखमा होइन, महाधिवेशन आउनुभन्दा छ महिना अगावै सदस्यता वितरण बन्द गर्नुपर्ने भनेको छ,’ उनले भने, ‘विगतमा विधानको त्यो व्यवस्था लागू हुने गरेको थिएन, अहिले हामीले त्यसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेका हौँ ।’

कांग्रेस विधानको धारा ४ ले कांग्रेसका दुई खाले सदस्य हुने व्यवस्था गरेको छ— पहिलो साधारण सदस्य र अर्को क्रियाशील सदस्य । १८ वर्ष उमेर भएका, कांग्रेसको आदर्श, उद्देश्य र विधानमा आस्था भएको व्यक्तिलाई साधारण सदस्यता दिने व्यवस्था छ । साधारण सदस्यता प्राप्त गरेको एक वर्ष पूरा भएपछि त्यस्तो व्यक्तिलाई तोकिएको फारम भराई शुल्क लिएर क्रियाशील सदस्यता दिने व्यवस्था छ ।

विधानबमोजिम सदस्य लिएपछि हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । तर, विगतमा कांग्रेसले एउटा महाधिवेशन सकिएपछि एकैपटक अर्को महाधिवेशनमा मात्रै सदस्यता अद्यावधिक गर्दै आएको थियो ।

पार्टीमा आस्था र शुभेच्छा राखेर भन्दा पनि नेताले आफुनिकट र आफूलाई मतदान गर्ने सुनिश्चितता खोजेर मात्रै क्रियाशील सदस्यता दिने अभ्यास गरेका थिए । तर, अब जो कोही व्यक्ति कांग्रेसप्रति आस्था राखेर प्रक्रिया पुर्‍याएर आए सदस्यता दिने व्यवस्था लागू गर्ने प्रयास रहेको सहमहामन्त्री परियारले बताए ।

यसअघि क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यतालाई व्यवस्थित गर्न पार्टीले छुट्टै विभाग बनाउनुपर्ने र महाधिवेशनको समयबाहेक सधैँ सदस्यता खुला राख्नुपर्ने सिफारिस गरेको थियो ।

तत्कालिन छानबिन समितिका सदस्य समेत रहेका नेता प्रदीप पौडेलले अब महाधिवेशन हुने वर्षबाहेक सधैं सदस्यता खुला हुने बताए । ‘यो कुनै नयाँ त होइन, विगतदेखि नै हाम्रो विधानमै भएको कुरा हो । तर, त्यसको कार्यान्वयन हुने गरेको थिएन,’ उनले इकान्तिपुरसँग भने, ‘अहिले केन्द्रीय समितिले छानबिन समितिको सिफारिस बमोजिम महाधिवेशन सकिएलगत्तै सदस्यता आव्हान गरेको छ । अब कांग्रेसको सदस्य हुन चाहने व्यक्तिले जहिले पनि प्रक्रिया पुर्‍याएर सदस्यता प्राप्त गर्न सक्छ ।’

उनले विगतमा अस्तव्यस्त भएको सदस्यता वितरण र नवीकरणलाई अब व्यवस्थित गरेर अघि लैजानुपर्ने बताए । ‘यो नीतिगत निर्णय मात्रै हो, तर सदस्यता वितरणलाई पार्टीका नेताहरूले मलाई भोट हाल्छ कि हाल्दैन भन्ने छिनोफानो गरेर मात्रै सदस्यता दिने अभ्यास छ, जुन एकदमै गलत छ,’ उनले भने, ‘महाधिवेशनको वर्ष सदस्यता थप गर्दा चुनावी हिसाब किताब धेरै भयो, त्यसैले महाधिवेशनको वर्ष सदस्यता वितरण नगरेर अन्य वर्ष सदस्यता वितरण गर्ने अभ्यासलाई जोड दिनुपर्छ ।’

नेता पौडेलले सदस्यता वितरण र नवीकरणलाई मात्रै पारदर्शी बनाए पार्टीमा युवा आकर्षण बढ्ने, पार्टीप्रति कार्यकर्ताको जिम्मेवारी र दायित्व बढ्ने तथा पार्टीको संगठन मजबुत हुने कुरालाई नेताहरूले बेवास्ता गर्दै आएको बताए ।

१३ औँ महाधिवेशनमा कांग्रेसले ४ लाख ७० हजार क्रियाशील सदस्य बनाएको थियो । त्यसलाई दोब्बर गरेर यसपटक १४ औँ महाधिवेशनमा ८ लाख ४० हजार १०६ जना क्रियाशील सदस्य पुर्‍याइएको छ । क्रियाशील सदस्य वडा तहमा कांग्रेसको नेतृत्व चयनका मतदाता हुन् । ती नै क्रियाशील सदस्यले चुनेका प्रतिनिधिले स्थानीय तहदेखि प्रदेश र केन्द्रीय समितिसम्म छ तहमा पार्टीको नेतृत्व चयन गर्छन् ।

कांग्रेसले १४ औँ महाधिवेशनमा ४ लाख १० हजार ६८४ जना पूराना सदस्यको नवीकरण गरेको थियो भने ४ लाख २९ हजार ४२२ जना नयाँ सदस्य थपिएका थिए ।

कुन प्रदेशमा कति छन् कांग्रेसका क्रियाशील सदस्य ?

प्रदेश १ – १,७४,८१३

प्रदेश २ – १,००,९९९

बाग्मती – १,८६,३३५

गण्डकी – १,१८,१४५

लुम्बिनी – १,३१,११७

कर्णाली–५३,५९६

सुदुरपश्चिम–७५,१०१

प्रकाशित : चैत्र १६, २०७८ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?