गठबन्धन पनि हुन्छ, भरतपुरको मेयरमा हाम्रो दाबी रहन्छ : दाहाल 

चैत्र १६, २०७८

रमेशकुमार पौडेल

चितवन — पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन हुने बताएका छन् । साथै भरतपुर महानगरपालिकाको मेयरमा पनि माओवादीको दाबी रहने उनले बताएका छन् । 

भरतपुर विमानस्थलमा बुधबार बिहान पत्रकारहरुसँग कुरा गर्दै दाहालले भने, ‘अब स्थानीय चुनावमा आवश्यक तालमेल हुन्छ ।’ नेपाली कांग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल हुन सक्ने निर्णय गरेको थियो । 

‘महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाटै तालमेल गर्ने छलफल चलेको छ । भोलि हाम्रो गठबन्धनको बैठक बस्दै छ । सम्भवत: महानगरपालिकाको बारेमा केही न केही निर्णयमा पुग्छौं । तालमेलकै निर्णय हुन्छ, भरतपुरको मेयरमा हाम्रो दाबी रहन्छ,’ दाहालले भने । 

यसअघिको स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो । माओवादीबाट दाहालकी छोरी रेणु दाहाल मेयरमा निर्वाचित भएकी थिइन् भने कांग्रेसकी पार्वती शाह उपमेयरमा निर्वाचित भएकी थिइन् । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully