कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

म्यादीमा भर्ना हुन दुई दिनमै ८३ हजार बढीको आवेदन

काठमाडौँ — आसन्न स्थानीय तह निर्वाचन सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि दुई दिनमै ८३ हजार बढीले आवेदन दिएका छन् । उपत्यकामा महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुर तथा उपत्यकाबाहिर ७४ जिल्लाबाट चैत ६ देखि एकसाथ म्यादी प्रहरीका लागि खोलिएको आवेदनमा २ दिनमा ८३ हजार ५ सय ९८ जनाको दरखास्त परेको हो ।

म्यादीमा भर्ना हुन दुई दिनमै ८३ हजार बढीको आवेदन

मंगलबार परेको आवेदनको विवरण भने आउन बाँकी छ । मंगलबार बाहेक अझै थप ३ दिन दरखास्त दिने समय छ । प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णु केसीले दुई दिनको दरखास्तको संख्या हेर्दा कोटाभन्दा अत्यधिक आवेदन पर्ने स्थिति देखिएको बताए ।

म्यादी भर्नाका लागि आइतबार ७ प्रदेश र उपत्यकाबाट ६ हजार ४ सय ९४ महिला र २३ हजार २ सय ९९ पुरुष गरी ३० हजार २ सय ९९ को दरखास्त परेकोमा सोमबार ११ हजार ९ सय ३२ महिला र ४१ हजार ३ सय ६७ पुरुष गरी ५३ हजार २ सय ९९ को आवेदन परेको हो । आवेदन खुला गरिएको दुई दिनमै तोकिएको कोटा बराबरको दरखास्त परिसकेको छ । थप ४ दिनको विवरण संकलन गरिसक्दा कोटाभन्दा निकै बढी संख्यामा आवेदन पर्ने अवस्था देखिएको प्रवक्ता केसीले जानकारी दिए ।

२०७९ वैशाख ३० मा ७ सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्यको एकसाथ एकै दिन निर्वाचन हुँदै छ । निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति बाहेक थप १ लाख म्यादी प्रहरीलाई ४० दिनको कार्यअवधि तोकेर प्रहरी जवान सरह तलब, पोशाकवापत एकमुष्ट ६ हजार, रासनभत्तावापत एकमुष्ट ७ हजार २ सय र सवारी भाडावापत एकमुष्ट १ हजारका दरले प्रत्येक म्यादी प्रहरीको सेवासुविधा निर्धारण गरिएको छ । एकजना म्यादीले प्रहरी जवानले प्रति महिना पाउने सुरु स्केलको तलब २२ हजार ६ सय ३० रुपैयाँ अनुसार ४० दिनको कार्यअवधिमा पारिश्रमिकवापत एकमुष्ट ३० हजार २ सय ४०, पोसाकको ६ हजार, रासनभत्ताको एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चवापत प्रतिव्यक्ति एक हजार पाउने छन् । यो रकम दुई किस्तामा उपलब्ध गराइने मापदण्डमा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना गर्न प्रदेश १ का १४ जिल्लाका लागि १७ हजार ८ सय ३१, मधेश प्रदेशका ८ जिल्लामा २१ हजार ६ सय ९८, वागमती प्रदेशका उपत्यकाबाहेक १० जिल्लामा ११ हजार ३ सय ६३, उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका लागि ४ हजार ७ सय ३५, गण्डकी प्रदेशका ११ जिल्लामा १० हजार ६ सय ३५, लुम्विनीका १२ जिल्लामा १६ हजार ९८, कर्णालीका १० जिल्लामा ७ हजार ७ सय ३१ र सुदुरपश्चिम प्रदेशका ९ जिल्लाबाट ९ हजार ९ सय ३७ म्यादी प्रहरी भर्ना गर्न कोटा छुट्याएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ अन्तर्गतका जिल्लाबाट आइतबार ४ हजार ५ सय ५२ ले आवेदन दिएकोमा सोमबार आवेदन दिनेको संख्या ८ हजार ७ सय ७ जना छन् । मधेस प्रदेशमा आइतबार ५ हजार २ सय १४ र सोमबार १२ हजार ४९ जनाको आवेदन परेको छ । बागमती प्रदेशमा आइतबार ३ हजार ८ सय ३२ को आवेदन परेकोमा सोमबार आवेदन दिनेको संख्या ८ हजार ६९ छ ।

उपत्यकाका तीन जिल्लाबाट आइतबार आवेदन दिनेको संख्या १ हजार ६ सय ७४ रहकोमा सोमबार थप २ हजार ३ सय ८३ को दरखास्त परेको हो । गण्डकी प्रदेश अन्तर्गतका जिल्लाबाट आइतबार २ हजार ८ सय ८९ जनाको आवेदन परेकोमा सोमबार ४ हजार ६ सय ४९ ले म्यादीमा भर्ना हुन दरखास्त दिएका छन् । लुम्विनीमा आइतबार ६ हजार ४ सय २१ र सोमबार ९ हजार ७ सय ६८, कर्णालीमा आइतबार २ हजार ४ सय ३५ र सोमबार ३ हजार ४० तथा सुदुरपश्चिममा आइतबार ३ हजार २ सय ८२ र सोमबार ४ हजार ६ सय ३४ जनाको आवेदन परेको छ ।

पहिलो दिन आवेदन दिनेको संख्या तुलनात्मक रुपमा केही कम देखिएपनि सोमबार उक्त संख्या झण्डै दोब्बरले बढेको देखिन्छ । आवेदन दिएका मध्येको विवरण उमेर, लिंग, शैक्षिक योग्यता, विगतको पृष्ठभूमि, भुगोल, जातीय क्लस्टरसमेत खुल्ने गरी संकलन गरिएको छ । प्रहरी प्रवक्ता केसीले दश जोड दुई भन्दा माथी शैक्षिक योग्यता हासिल गरेका आबेदकको संख्या उल्लेख्य मात्रामा रहेको बताए ।

म्यादी भर्नाका लागि चैत ११ गतेसम्म आवेदन दिने समय तोकिएकोमा चैत ६ मा करिब ३० हजार र दोस्रो दिन ५३ हजार बढीले दरखास्त दिएका छन् । १८ वर्ष उमेर पूरा भएर ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा प्रतिस्पर्धा गर्न पाउने मापदण्ड तय गरिएको छ । म्यादी भर्ना हुन१८ वर्ष उमेर पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड छ ।

यस्तै, आवेदक कुनै पनि नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी नठहरिएको, राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त, साधारण लेखपढ गर्न जान्ने, आाखाको दृष्टि माइनस वा प्लस २ भन्दा कमजोर नभएको, उचाइ पुरुषको ५ फिट २ इन्च र ५० केजी तौल, महिलाको हकमा ५ फिट उचाइ र तौल कम्तीमा ४२ केजी हुनुपर्ने सर्त राखिएको छ ।

साथै, सेना, प्रहरी र सशस्त्रबाट उपदान/निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्व वन रक्षक, विदेशी सुरक्षा निकायबाट अवकाश/उपदानमा निस्किएका व्यक्ति, विगतको निर्वाचनमा म्यादीमा भर्ना भएका तथा २०७८ साउनपछि सुरक्षा निकायहरुले खुला गरेको आवेदनमा शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण व्यक्तिलाई म्यादी भर्नामा प्राथमिकता दिइने मापदण्डमा उल्लेख छ ।

प्रकाशित : चैत्र ८, २०७८ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?