होमस्टे सुरू गरेपछि आम्दानीसँगै पूर्वाधार विकासमा अघि आएको पुरानो गुरूङ बस्तीले आतिथ्यमा नाम कमाएको छ
लमजुङ — लमजुङ हिमालको काख । मर्स्याङ्दी र मिदिम खोलाबाट उठेको थुम्को । केही नीलोबाहेक एकनासै रातो जस्ताले छाएका झुपुक्क परेका घरहरू । घलेगाउँको चित्र आँखामा नाच्ने यही हो । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा केही नभएको गाउँलाई कसरी सुखी बनाउन सकिन्छ भनेर तत्कालीन गाविस अध्यक्ष प्रेमबहादुर घलेले छलफल चलाए । उनी भारतीय सेनामा भर्ती हुन पुगेर पनि फर्केका थिए । उनले स्याङ्जाको सिरुबारीमा घरमा पाहुना राख्ने गरेको सुने ।
गाँस र बास दिएबापत पैसा लिने गरेको सुने । यही अध्ययन गर्न उनी सिरुबारी पुगे । उनले पनि घलेगाउँमा पाहुना राख्ने योजना बुने । ‘हाम्रो गाउँमा पाहुना आइरहने । धेरै आफन्त हुने भएकाले खाने, बस्ने सित्तैमा हुन्थ्यो । एक गाँस ढिँडो गाउँकै सागपातसँग खुवाउँथें,’ २ दशकअघिको कुरा सुनाउँदै घलेले भने, ‘टाढाको पाहुना बोलाउँछु । घरमा बसाउँछु र गाउँलाई ५ पैसाको मुख देखाउँछु भन्ने सोच आयो ।’ उनले गाउँलेसँग सल्लाह गर्न खोजे । उनको योजनामा कोही सहमत भएनन् ।
उनले गाउँमा पाहुना बोलाउन थाले । काठमाडौं, पोखराका सरकारी कर्मचारी घलेगाउँ आउन थाले । खाना र बस्न दिएबापत केही पैसा छोडेर गए । तत्कालीन विद्रोही माओवादी र सेना आउने र दुःख दिने समय थियो । २०५७ वैशाख २३ मा प्रथम महोत्सव गरी घलेगाउँमा १२ घर होमस्टे स्थापना गरे । गाउँको प्रचारप्रसार गर्न २०५८ वैशाखमा घलेगाउँ कला महोत्सव आयोजना भयो । ‘मान्छे भीडभाड हुँदा, कार्यक्रम गर्दा माओवादीले किन गरेको भनेर प्रश्न गरे । यो गाउँलेको लागि हो, गाउँलेलाई सुखी बनाउने योजना हो भनी सम्झाएँ बुझाएँ । माओवादीलाई तपाईंहरूको केही बिग्रँदैन, म साथमै छु । म पनि जनतालाई सुखी बनाउने योजनाले अघि बढेको छु भनें । त्यसपछि रोकतोक भएन,’ उनले सम्झिए ।
समुद्री सतहदेखि २१ सय मिटर उचाइको घलेगाउँमा विस्तारै पाहुना आउन थाले । यहाँ घले, गुरुङ र विक समुदायको बसोबास छ । प्रकृति, संस्कृति र रहनसहन देखाएर, गाउँमै उत्पादित खाद्य पदार्थ खुवाएर उनीहरूले आम्दानी गर्न थाले । घलेगाउँबारे देशविदेशमा प्रचार हुँदै गयो । तत्कालीन विद्रोही माओवादी १२ बुँदे सम्झौता गर्दै खुला राजनीतिमा प्रवेश गर्यो । अन्तरिम सरकार बन्दा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए । उनको पहलमा २०६४ फागुनमा घलेगाउँलाई दक्षिण एसियाको नमुना गाउँ (सार्क भिलेज) घोषणा भयो । घलेगाउँ २०७० मा पनि सार्क भिलेज बन्न सफल भयो ।
यहाँ होमस्टेका कोठा समान किसिमका छन् । सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायतको आधारभूत सुविधा पुगेपछि घलेगाउँलाई २०७६ मंसिर १७ मा स्मार्ट भिलेजको सुरुवात भएको घोषणा गरियो । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत गर्यो । आधारभूत मापदण्ड पूरा भएकाले घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने तयारीमा रहेको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए । उनका अनुसार आगामी वैशाख २ मा घलेगाउँलाई सुखीगाउँ घोषणा गरिने कार्यक्रम तय भएको छ ।
क्व्होलासोंथर गाउँपालिका–३ मा पर्ने घलेगाउँमा १ सय ३० घर छन् । अमेरिका, बेलायत गएकासमेत घलेगाउँ आएर होमस्टे चलाउन थालेका छन् । विक समुदायले सञ्चालन गरेको दुईसहित अहिले ४२ घरमा होमस्टे छ । घलेगाउँमा यो अवधिमा सवा २ लाख बढी पर्यटकले बास बसेका छन् । पर्यटन समितिका सविच उमलबहादुर विकका अनुसार अन्य घरका बासिन्दाले पर्यटकलक्षित व्यापार व्यवसाय गरेका छन् । भेडाको ऊन, निगालोको चोया, अल्लोबाट हस्तकलाका सामग्री तयार पार्छन् । घलेगाउँका बासिन्दाको आम्दानीका स्रोत थपिँदै छन् ।
गाउँका अगुवा लीलाबहादुर घलेका अनुसार चौबिसे राज्यकालमा घले राजाले यस ठाउँमा शासन गरेका थिए । करीब ८ सय वर्ष पुरानो मानिएको घलेगाउँलाई गुरुङ भाषामा ‘कोइम्ली’ भनिन्छ । घले राजाले शासन गरेको र घले जातिको बाहुल्य भएकाले गाउँको नाम घलेगाउँ रहन गएको हो । यहाँ अन्तिम राजा क्याल्बोरोजा क्लेको सालिक निर्माण गरिएको छ । गुरुङ जातिको कर्मकाण्डीय वेद तथा शास्त्र सिक्ने र सिकाउने पाठशाला ‘क्होइँबो’ निर्माण गरिएको छ । गोर्खा पार्क, भ्युटावर, स्वर्गभूमि रंगशाला, बास्केटबल कोर्ट, उत्तरकन्या मन्दिर, चियाबारीलगायतका फराकिलो ठाउँले पर्यटकलाई आकर्षित गरेको पर्यटन समितिका कार्यालय सचिव दीर्घ घले बताउँछन् । घलेगाउँका अगुवा आसवीर गुरुङका अनुसार परम्परागत संस्कृति घाँटु, सोरठी, सेर्गालगायत नाच गाउँका प्रमुख सांस्कृतिक विशेषता हुन् । पाहुनालाई स्वागत गर्न गाइने र नाचिने ‘यालमी’ यस ठाउँकै मौलिकता बोकेको प्राचीन गीत हो ।
स्थानीय कमला घलेले सुरुका दिनमा घलेगाउँको गाउँबेंसी गर्दा निकै दुःख पाइन् । २ घण्टाको बाटो उकालीओरालीले सास्ती थियो । ‘गाउँले जिन्दगी, यस्तै होला भनेर बसें । खेतबारी थियो । सधैंको थकानले कहिल्यै सुख नपाइने रहेछ भनेर भाग्यलाई धिक्कार्थें,’ उनले भनिन्, ‘त्यतिबेलाको जिन्दगी सोंच्दा त अहिले निकै दुःख लाग्छ । शारीरिक रूपमा अहिले त सुख छ । उकालीओराली, घाँसदाउरा, कुवापँधेरो गर्नु परेको छैन ।’
पतिको निधनपछि उनलाई दुई छोरीको लालनपालनको चिन्ता थियो । त्यतिबेला नै गाउँमा होमस्टे बनाउने लहर चल्यो । सुरुमा उनले खोपीमा पाहुना राखिन् । आम्दानी हुँदै गयो । मकै र कोदो फल्ने नजिकैको बारीमा सागपात रोप्न थालिन् । पर्यटक आउनेबित्तिकै आम्दानी हात पर्न सुरु भयो । एक दशकअघि घलेगाउँसम्म सडक विस्तार भयो । मोटर चढेर पर्यटक आउन थालेपछि उनको आम्दानी बढ्न थाल्यो ।
आम्दानी बढ्दै गएपछि उनले थप संरचना निर्माण गरेर कोठाहरू बनाइन् । खानेपानीको धारा घरमै बन्यो । घरमै शौचालय बनाइन । इन्टरनेट छ, मोबाइल सेवा छ । अरूसँग ऋणपैंचो गरेर खानु परेको छैन । उनको दुःख पर्यटकले भुलाएको छ । मीठो मसिनो गरी खुवाउँदा, राम्रोसँग स्वागत सत्कार गर्दा पर्यटक खुसी हुने उनी बताउँछिन् । ‘कुनै दिन ५ पैसाको मुख देखेको थिएन । अहिले त पाहुना आयो भने महिनाकै २०/२५ हजार जति त बचाउँछु,’ उनले भनिन्, ‘हिजोको दुःख सम्झिँदा अहिले आँसु आउँछ । भोकै मरिएलाझैं लागेको थियो । कहिले त कता हो कता । ज्यानलाई त सुखैसुख छ ।’ नुनतेलबाहेक बजारबाट केही किन्न नपर्ने उनले बताइन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा कार्यरत स्थानीय बालकृष्ण घलेका अनुसार घलेगाउँमा प्राचीन सभ्यताको झल्को दिने सामुदायिक भेडीगोठ छ । सामुदायिक चिया बगान र प्रांगारिक खेतीले पर्यटक लोभिन्छन् । लमजुङ हिमालसँगै माछापुच्छ्रे, अन्नपूर्ण, डा. हर्क हिमाल, हिमालचुली, मनास्लु, गणेश हिमालको छहारीले घलेगाउँलाई रमणीय तुल्याएको छ । २०७३ माघ २२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँ परम्परागत गुरुङ संग्रहालय उद्घाटन गरेकी थिइन् । त्यसपछि घलेगाउँ आउने पर्यटक अझ बढेका हुन् ।
लमजुङ सदरमुकाम बेंसीसहरबाट ६ घण्टा हिँड्नुपर्ने घलेगाउँ अहिले डेढ घण्टामै मोटरमा पुगिन्छ । काठमाडौंबाट तनहुँको डुम्रे हुँदै बेंसीसहरसम्मको १७२ किलोमिटर छ । प्रदेश राजधानी पोखरादेखि बेंसीसहर ११० किलोमिटरको दूरीमा पर्छ । बेंसीसहरबाट घलेगाउँ पुग्न बेंसीसहरबाट २४ किलोमिटरको यात्रा गर्नुपर्छ ।
