१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सत्ताधारीलाई 'पिर' को पिरलो

रीना मोक्तान

काठमाडौँ — कुनै कुनै सिर्जनाले दिल र दिमाग दुवै एकसाथ छेड्छ । जुन सिर्जनाले यथार्थ बोल्छ, त्यस्ता सिर्जना कहिलेकाहिँ सत्ता र त्यसका आसेपासेहरूका लागि टाउको दुखाइ बन्छ । जसको पछिल्लो उदाहरण हो- युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रहेको प्रकाश सपुतको गीत 'पिर' ।

सत्ताधारीलाई 'पिर' को पिरलो

'पिर'बोलको यो गीतले माओवादी केन्द्रका नेताहरूलाई चिन्तित पारेको छ । सामाजिक सञ्जालमा माओवादीका कार्यकताहरू गीत हटाउनुपर्छ भन्दै उफ्रिरहेका छन् । अर्कोतर्फ अभिव्यक्ति स्वतन्त्रताको पक्षधरहरु गीतको पक्षमा उभिएका छन् ।

गीतमा के छ ?
जनयुद्धमा पार्टी, शीर्ष नेताका लागि आफ्नो प्राण दिन पनि पछि नहट्ने योद्धाहरूको कथा गीतमा समेटिएको छ । १६ मिनेट लामो गीतको म्युजिक भिडियो सुरु हुन्छ, बाबु र उनकी पत्नी ऊर्जाको कथाबाट । दुवै जनयुद्धका पूर्वलडाकु । युद्धभूमिमै दुईले बिहे गरे । सशस्त्र युद्धपछि बाबुले जीविका चलाउन 'परिवर्तन मासु पसल' खोलेका हुन्छन् । तर‚ पसलको आम्दानीले घरभाडा तिर्न सक्दैनन् । उनी पसल बन्द गरेर ट्याक्सी किन्ने सोचमा पुग्छन् । घरको आर्थिक परिस्थिति र छोरीको उज्ज्वल भविष्यका लागि ऊर्जा विदेश उड्छिन् । तर‚ विदेशमै बन्धक हुन्छिन् । बाबु युद्धमा होमिएका पार्टीका शीर्ष नेताहरूकहाँ सहयोगको हारगुहार गर्न पुग्छन् । तर युद्धमा जसका लागि गोलीसमेत खाए तीनै नेताले उनको समस्या बुझिँदिदैनन्, नचिने झैं गरिदिन्छन् ।

त्यही दृश्यलाई बोल्ने शब्दहरू गीतमा गुञ्जिन्छ-

'आफ्नो विचार वैरी भयो, कहाँ जाम कहाँ जाम भाछ । ज्यानकै बाजी थापेको थिएँ, कल्लाई हिसाब मागम ।'

युद्धले देशमा गणतन्त्र, संघियता, धर्मनिरपेक्षता ल्याए पनि परिवर्तनका लागि लड्ने योद्धा पिँधमै छन् भन्ने कुरालाई बाबु र ऊर्जाको कथाबाट गीतले भन्न खोजेको छ । गीतमा ऊर्जा र बाबुसँगै अर्की योद्धाको कथा पनि देखाइएको छ । जो दैनिकी चलाउनकै लागि आफ्नो शरिर बेच्न बाध्य भएकी छन् । यही दृश्यलाई लिएर अधिकांशले गीतको चर्को आलोचना गरिरहेका छन् ।

नेकपा (माओवादी केन्द्र) सम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जनयुद्धका कारण केही मन्त्रीहरू, माननीयहरूको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस आवश्यक भए पनि जनयुद्धमा सहभागी महिलालाई शरीर बेच्ने काममा संलग्न देखाइएको भन्दै गीत हटाउन चेतावनी दिएकी छन् ।

'सहिद परिवार, बेपत्ता परिवार ,पूर्वजनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखबर भने छैन । कतिपय प्रयत्नहरू सफल हुन सकेका छैनन् । व्यवस्थापनमा केही नभएको भन्ने पनि होइन । विभिन्न तहमा प्रयत्नहरू भइरहेका पनि छन् तर व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपुत जीले युट्युबमा अपलोड गरिएको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ,' उनले लेखेकी छन्, 'जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको; राज्यका हरेक निकायमा ३३% प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा प्रकाशजी तपाईंलाई बुझाइरहनु नपर्ने हो । जनयुद्धमा सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातीय विभेदविरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाँडै भुल्नुभयो । तिनै दिदिबहिनीहरूमाथि अपमान हुने गरी बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको यस्तो गैरजिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।’

तत्कालीन युद्धको नेतृत्वकर्तासमेत रहेका जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले भने गीतमा आपत्ति मान्नुपर्ने कुरा नरहेको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यसनिम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने?'

गीत अभिव्यक्ति स्वतन्त्रताको माध्यम हो । स्रष्टाको सिर्जना हो । सत्तालाई प्रश्न गर्ने, व्यवस्थाको असली रुप देखाइदिँदा स्रष्टाको सिर्जनामाथि सत्ताले सधैँ अंकुश लगाउने प्रयास गरेको छ । यसअघि भ्रष्टाचार, घुसखोरीको विषय समेटिएको गायक पशुपति शर्माको 'लुट्न सके लुट कान्छा'ले पनि सत्तामा रहेकाहरूबाट चर्को आलोचना खेपेपछि गीत युट्युबबाट हटाइएको थियो । गीतमा नेपाल वायू सेवा निगमको वाइडबडी विमान खरिद, ३३ किलो सुन प्रकरण, राष्ट्रपतिले महँगो हेलिकप्टर चढेकोलगायतका विविध प्रसंगहरू समेटिएका थिए । चौतर्फी आलोचना र दबाबपछि शर्माले गीत युट्युबबाट हटाए । गायक सपुतले भने विवादबारे बोलिसकेका छैनन् । सपुत र शर्माको गीतमाथि सोझै सत्ता हाबी भइदिएको छ ।

हुन त सिर्जनामाथिको अंकुश नयाँ विषय भने होइन । फिल्ममाथि सेन्सरसीप हुन्छ ।भिटेन र दुर्गेश थापाहरू गीतमा प्रयोग गरिएका शब्दहरुकै कारण प्रहरी हिरासतमा पुगेका छन् । सपुतको सिर्जनामाथि अंकुशमात्रै होइन, सामाजिक सञ्जालमा ठाडो धम्काउनेहरु पनि छन् ।

लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजी 'पिर' युट्युबबाटै हटाउनुपर्ने किसिमको नरहेको बताउँछन् । 'सर्जकहरुले समाजलाई हेर्ने नजर अलि पृथक हुन्छ । त्यसले गर्दा समाजमा भएका सबै किसिमका गतिविधिलाई सर्जकले सिर्जनामार्फत प्रस्तुत गर्छ । कहिलेकाहीँ एउटा उपचारको लागि खाएको औषधिले अर्को साइड इफेक्ट गर्न सक्छ । त्यस्तो भएको हो कि जस्तो लाग्छ । समाजमा केही असर गरेन भने त्यो सिर्जनाको के अर्थ रह्यो र ? प्रश्न गर्दै उनले भने,'त्यसैले गीतले हामीलाई नै भन्यो भनेर तातिनुपर्छ जस्तो मलाई लाग्दैन । सिर्जना त जनचेतना पनि त हो नि, यस्तो भइदियो भने के होला भन्ने । सजग हुनुपर्‍यो । हिजो ज्यान फालेर हिँड्नेहरु अवस्था यस्तै होला । हिजो मर्न तयार भएकाहरुलाई बाँच्नका लागि जिउँदै मर्न तयार छन् है भन्ने सन्देश त मलाई अगतिलो जस्तो मलाई लागेन । व्यक्तिगत रुपले समुहले थर्काएर, हप्काएर गीत बन्द गर्नुपर्छ भन्ने कुराको अर्थ छैन । गीत जनमानसमा गइसक्यो । गल्ती गरेकाहरु सुध्रिनुपर्‍यो, नगरेकाहरु सचेत हुनुपर्छ ।'

बिजीका अनुसार हिजो शाही शासनमा पनि गीत गाउँदा जेल हाल्थे । 'हरेक कुराको राम्रो पक्ष लिने अनि नराम्रो कुरा नलिने गर्नुपर्छ । तर‚ राज्य नै एउटा सिर्जनाले हल्लिन्छ भने सिर्जनाको शक्ति कति ठूलो रहेछ भन्ने पुष्टी गर्‍यो'बिजीले भने ।

र्‍यापर बालेनको भनाइ पनि उस्तै छ । 'सिर्जनाको शक्ति कति बलियो हुन्छ, अथवा एउटा सिर्जनाले हल्लाउन सक्ने व्यवस्था कति कमजोर भन्नेतर्फ पनि गीतले बहस उठाइदिएको छ । 'यदि कुनै पनि गीत वा सिर्जनाले कुनै व्यवस्था, पार्टी हल्लिन्छ भने सिर्जना बलियो हैन, त्यो व्यवस्था र पार्टी कमजोर हो । यथार्थलाई अंगालेर, आफ्नो कमजोरीलाई हटाउनलाई धम्काएर हटाउने हैन कि उसले भनेको गल्ती कुरालाई सुधार्ने हो । परिवर्तन भनेको नै यही हो,'हालै काठमाडौंको मेयरमा उठ्ने घोषणा गरेका र्‍यापर बालेन शाहले फेसबुकमा लेखेका छन् ।

'पिर'बोलको गीतमा क्रियटिभ डिरेक्सनको जिम्मा सम्हालेका गायक सपुतका भाइ देवेन्द्र बब्लु आफूहरूले गीत सिर्जनात्मक हिसाबले बनाएको बताउँछन् । 'यस्तो किसिमको विवाद आउला कि भन्ने एकखाले मानसिक तयारीमा थियौं । तर‚ हामीले सिर्जनात्मक तरिकाले खोज्दै जाँदा यो कथा देखिएको हो । हामीले सिर्जनात्मक रुपले नै यो कथा लेखियो, देखाइयो । यो भइरहेको यथार्थ नै हो । यो विषयलाई जसले हेर्नुपर्ने हो ती व्यक्तिहरुले गर्न नसक्दा ढाकछोप गर्ने गर्छन् सायद अहिले त्यही भएको हो,' उनले भने, 'कलाकारको हिसाबले हामीले यो गीतलाई हटाउनुपर्छ भनेर हेरेका छैनौं । हामी देशका नागरिक भएका हुनाले देशमा भएको कुरालाई उजागर गर्ने हाम्रो पनि जिम्मेवारी हुन्छ । यस्तो पनि समस्या छ, यता पनि ध्यान दिनु है भनेर हामीले देखाउन खोजेका मात्र हौं ।'

'गीत हटाउनुपर्छ, माफी माग्नुपर्छ भन्ने वाहीयात कुरा हुन्'
आहुती, लेखक/विश्लेषक
नेपाल अचम्मको देश हो । यहाँ सिर्जनामाथि सर्वोच्च अदालतमा मुद्दा हाल्ने चलन छ, अनि अदालतले फैसला गरिदिन्छ । कला, सिर्जना अभिव्यक्ति स्वतन्त्रतासँग सम्बधित हुन्छ । कलाको सिर्जना बेठीक छन्, नराम्रा छन्, हानिकारक छन् भने आलोचना गरेर दर्शकलाई सुचित गर्नुपर्ने हुन्छ । तर‚ त्यसमाथि प्रशासनिक कारबाही गर्न मिल्दैन । प्रशासनिक कारबाही गर्दै जाने हो भने प्रत्येक धार्मिक ग्रन्थहरूलाई बन्द गर्दै जानुपर्ने हुन्छ । यी पनि कलात्मक सिर्जना नै हुन् । नेपालमा लोकतान्त्रिक चेतनामा कमी छ । विशेषत: संसद्‌वादी राजनीतिक पार्टीका नेता/कार्यकर्ताले सिर्जनात्मक लोकतन्त्र, सिर्जनात्मक अभिव्यक्तिसँग कसरी व्यवहार गर्ने भन्ने चेतनामा समस्या छ । त्यसकारण कुनै पनि सिर्जना आफूलाई मन परेन भने प्रशासनिक कारबाही गर्ने, बन्द गर्ने र धम्क्याउने हुन्छ ।

आलोचना गर्न पाइन्छ तर गीत हटाउनुपर्छ, माफी माग्नुपर्छ भन्ने वाहीयात कुरा हुन् । गीत आलोचना गर्न लायक पनि छ नि । उत्कृष्ट रचना त होइन । त्यसको समाजशास्त्र पनि मिलेको छैन । नेपाली महिलाहरूको मुख्य पक्षको चित्रण पनि होइन त्यो । माओवादी आन्दोलनमा आएको समस्यामात्रै छैन, त्यो आन्दोलनबाट पाठ सिकेर देश र जनताको निम्ति लड्ने ठूलो पंक्ति पनि छ ।

प्रकाशित : फाल्गुन २९, २०७८ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?