राष्ट्रिय सभाका २० सांसद : उत्साही प्रवेश, खल्लो बिदाइ

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले शुक्रबार साँझ ५ बजे सबै सांसदहरूलाई बिदाइका लागि सिंहदरबार छेउको एक होटलमा बोलाएका छन् ।

फाल्गुन १९, २०७८

जयसिंह महरा

काठमाडौँ — राष्ट्रिय सभामा ४ वर्षे कार्यकाल पूरा गरेर २० सांसद शुक्रबार बाहिरिँदै छन् । राष्ट्रिय सभामा ४ वर्षको अनुभव बाँड्न भने उनीहरूले नपाउने भएका छन् । २०७६ फागुनमा दुई वर्षे कार्यकाल पूरा गरी बाहिरिने सांसदले राष्ट्रिय सभाको रोष्ट्रमबाट अनुभव बाँड्न पाएका थिए । गत ६ महिनादेखि प्रतिनिधिसभाको विषयलाई लिएर प्रमुख प्रतिपक्ष एमालेले राष्ट्रिय सभा अवरोध गर्दै आएकाले अहिले ४ वर्षपछि बिदा हुन लागेका उपाध्यक्ष शशिकला दाहालसहित २० सांसदले अनुभव साट्न नपाउने भएका हुन् ।

शुक्रबारबाट बाहिरिनेमा राष्ट्रिय सभाका संसदीय समितिका तीन सभापति पनि छन् । दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण विडारी र विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङ बाहिरिन लागेका हुन् । 

त्यस्तै, कांग्रेसबाट राष्ट्रिय सभाको संसदीय दलका नेता सांसद राधेश्याम अधिकारी, राष्ट्रिय सभामा माओवादी केन्द्र संसदीय दलका नेता दिनानाथ शर्मा, राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता सुमनराज प्याकुरेल रहेका छन् ।

राष्ट्रिय सभामा कार्यकाल सकिनेमा एमालेका सबैभन्दा बढी सांसद छन् । जसमा अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्र स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार सुमनराज प्याकुरेल गरी ८ जना रहेका छन् । 

एकीकृत समाजवादीका चार सांसदको कार्यकाल सकिन लागेको हो । उनीहरू उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवर  छन्। माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका खिमकुमार विक, जीवन बुढा, दिनानाथ शर्मा र शशिकला दाहाल कार्यकाल सकिएकाे हो ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेसका तीन जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ । त्यसमा राधेश्याम अधिकारी, दृगनारायण पाण्डेय र तारादेवी भट्ट रहेका छन् । राष्ट्रपतिबाट मनोनीत रामनारायण विडारीको पनि कार्यकाल सकिन लागेको छ । 

राष्ट्रिय सभाबाट बिदाइ हुन लागेका सांसदहरूले २०७४ सालमा राष्ट्रिय सभामा प्रवेश गर्दाखेरिको जस्तो बिदाइ हुन नपाएको बताएका छन् । अपेक्षित रूपमा राष्ट्रिय सभाको कार्यकालको सुरुवात राम्रो भए पनि बिदाइका क्रममा भने मुलुकको राजनीतिक वातावरण खल्लो भएसँगै सभा नै निष्क्रिय जस्तो भएको उनीहरूको भनाइ छ । 

सुरुका दुई वर्ष राष्ट्रिय सभालाई व्यवस्थित गर्नमा बितेको र पछिल्ला दुई वर्ष भने राजनीतिक विवाद र कोरोना भाइरसको संक्रमणको चपेटामा परेको सांसदहरूले बताएका छन् ।

'पहिलो दुई वर्ष उत्साहित थिए । धेरै काम गर्न सकिन्छ भन्ने उमंगताका साथ राष्ट्रिय सभामा प्रवेश गरेका थियौं । राष्ट्रिय सभालाई नयाँ संविधानअनुसार व्यवस्थित गर्ने काम भयो । समितिको व्यवस्थापन गर्ने, सञ्चालन विधि र प्रक्रियाको सुनिश्चिता भयो । सबै कुरालाई ट्रयाकमा ल्याएर राम्रो काम गरिएको थियो,' माओवादी सांसद दीनानाथ शर्माले भने, 'पछिल्लो दुई वर्ष निराशाजनक रहे । कोभिडका कारण देश लकडाउन भयो र संघीय संसद् चल्न सकेन । त्यसपछि राष्ट्रिय राजनीतिमा अन्योलता आयो । हाल प्रतिनिधिसभाको समस्या पनि राष्ट्रिय सभामा लगेर प्रतिपक्षी एमालेका सांसदले समस्या निर्माण गरे ।'

राष्ट्रिय सभालाई सुरुदेखि नै प्रतिनिधिसभाको छाया भएको भन्दै प्रश्न उठ्न लागेका थिए । विज्ञहरूको सभा भनिएपनि राष्ट्रिय सभा सदस्यमा पार्टीका कार्यकर्ता बाहिरका व्यक्तिहरूले प्रवेश नपाएकाले त्यो प्रश्न उठ्ने गरेको थियो । प्रतिनिधिसभाको विषयलाई लिएर राष्ट्रिय सभामा जारी अवरोधले ती प्रश्नलाई बल पुगेको र आगामी दिनका लागि सोच्नुपर्ने विषय बनेको कांग्रेसका राधेश्याम अधिकारीको भनाइ छ । 'अहिले संसद्को जुन हालत छ यस किसिमको हालत बढ्दै गयो भने फेरि समग्रतामा सोच्नुपर्छ । संसदीय व्यवस्था भनेको यै हो त भन्ने प्रश्न उठ्छ । ६ महिनासम्म अवरोध गर्ने भन्ने हुन्छ ? जनताको भाषा बोल्ने समस्याको समाधान गर्ने थलो भनेर बनायौं । राष्ट्रिय सभा झन परिपक्व सभा हो भनियो र जुन ढंगले काम गर्नुपर्ने हो त्यो हुन पाएन,' उनले भने, 'संसद् बन्द गरेर कसैको भलो हुँदैन ।'

प्रतिनिधिसभामा एमालेमाथि सभामुख अग्निप्रसाद सापकोटाले अन्याय गरेकाले त्यसको असर राष्ट्रिय सभामा देखिनु अन्यथा नभएको एमाले सांसद कोमल वलीको भनाइ छ । उनले भनिन्, 'प्रतिनिधिसभा नचल्दा राष्ट्रिय सभा चल्नुको अर्थ थिएन । राष्ट्रिय सभा विज्ञहरूको सभा होतर प्रतिनिधिसभामा जुन किसिमको समस्या उत्पन्न भयो त्यो समाधान नभएसम्म राष्ट्रिय सभा चल्नुको कुनै अर्थ छैन ।' कानुन निर्माण गर्नका लागि दुवै सदन खुल्नुपर्ने भएकाले राष्ट्रिय सभामात्र चलेर कानुन निर्माण नहुने भन्दै उनले राष्ट्रिय सभा अवरोधको बचाउ गरिन् । 

एकीकृत समाजवादीकी सांसद उदया शर्मा पौडेलले भने प्रतिनिधिसभाको विवादले राष्ट्रिय सभालाई प्रभावित पारेको र त्यसप्रति नेतृत्वको साथ रहेको बताइन् । 'नेतृत्वले निष्कृयता र उदासिनता देखाउनुभएको छ । हामीले पनि देखाएका छौं । प्रतिनधिसभामा देखिएको विवादले राष्ट्रिय सभालाई छुनै नहुने हो,' उनले भनिन् । 

माओवादी सांसद शर्माले राष्ट्रिय सभा खोल्न भन्दा पनि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साथ दिएको बताए । 'अध्यक्षले पनि पार्टीको लाइनसित सहभागी भएर राष्ट्रिय सभालाई समस्यामा पार्ने काम गर्नुभयो । सभालाई अध्यक्षले गरिमामय रूपमा अगाडि बढाउन र प्रतिनिधिसभाका समस्या दलले राष्ट्रिय सभामा ल्याएका विषय समाधान गर्न खोज्नुभएन,' उनले भने । 

सांसदहरूले एकपटक भएपनि विदाइका लागि राष्ट्रिय सभा बैठक बोलाएर बिदाइका शब्द राख्न दिन भनेर सांसदहरूले कुरा उठाएको तर त्यो नसुनिएको सांसद रामनारायण विडारीले बताए । उनले भने, 'हाम्रो कार्यकालको अन्तमा राष्ट्रिय सभामा प्रतिनिधिसभाको विषयलाई लिएर अवरोध भयो । अरु विषयका लागि नचले पनि १ पटक चलाएर हामी जानेहरूलाई आफ्ना कुरा भन्नबाट समेत वञ्चित भएका छौं ।त्यसका जिम्मेवारहरूले मनन गरून् भन्ने आग्रह छ ।'

होटलमा बिदाइ 

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले शुक्रबार साँझ ५ बजेका लागि सबै सांसदहरूलाई सिंहदरबार छेउको एक होटलमा बोलाएका छन् । राष्ट्रिय सभा पुस ५ गतेयता एक दिन पनि बस्न सकेको छैन । चालु अधिवेशनमा राष्ट्रिय सभा मंसिर २८ र पुस ५ गरी दुई दिन मात्रै चलेको छ । 

राष्ट्रिय सभा अध्यक्षको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले यसबीचमा पटकपटक सभाको बैठक आह्वान गर्दै सूचना जारी गरेरै सार्दै आएका थिए । अन्तिम पटक माघ १६ गते अनिश्चित कालका लागि संसद् बैठक स्थगित भएको सूचना जारी गरिएको छ ।

अध्यक्ष तिमिल्सिना यसबीचमा संसदीय समितिका बैठकमा सहभागी भएका थिए । प्रतिनिधिसभाको दलीय विवादलाई राष्ट्रिय सभामा ल्याएर अवरोध नगर्न कुनै पहल नगरेका उनले संसदीय समितिमा गएर समितिबाटै सांसदलाई विदाइ गर्दै आएका थिए । संसदीय समितिमा सांसद र समिति सभापतिले राष्ट्रिय सभा खोलेर रोष्ट्रमबाट आफ्ना कुरा राख्न पाउनुपर्ने कुरा अध्यक्षलाई सुनाएका थिए । तर दलीय विवाद भन्दै उनी उम्किने गरेका थिए । 

होटलमा हुन लागेको विदाइमा आफ्ना कुरा राख्ने सांसदहरूले बताएका छन् । एकीकृत समाजवादीकी सांसद शर्माले भनिन्, 'अध्यक्षले होटेलमा बोलाउनुभएको छ । उहाँले संसद् भवनमा नै बोलाएको भए हुन्थ्यो । समितिमा पनि सभापति र माननीयहरूले उहाँसामू ती कुरा राखिएका थिए । कमसेकम विदाइका लागि खोल्न भन्नु भनिएको थियो,' उनले भनिन्, 'होटलमा राखिएको बैठकमा समय पाएसम्म कुरा राख्छौं । ४ वर्षका अनुभव, राष्ट्रिय सभा खोल्न सक्नुभएन वा सकिएन भन्ने कुरा राख्छु ।'

अबको राष्ट्रिय सभा कस्तो ?

राष्ट्रिय सभाको औचित्यमाथि प्रश्न उठिरहेका बेला र त्यसलाई बल पुग्ने गरी सभामा गतिविधि हुँदा त्यसबाट शिक्षा लिनुपर्ने चार वर्षे कार्यकाल पूरा गरेर निस्किन लागेका सांसदले बताएका छन् । आफ्नो पहिचान कायम गर्नका लागि सभामा रहेका दल र सांसद तथा नेतृत्वले भूमिका खेल्नुपर्ने उनीहरूको भनाइ छ । 

एमाले सांसद परशुराम मेघी गुरुङले आगामी दिनमा राष्ट्रिय सभाले आफ्नो पहिचान कायम राख्नुपर्ने बताए । 'प्रतिनिधिसभाबाट प्रभावित हुनु भएन । राष्ट्रिय सभाले आफ्ना क्रियाकलाप नियमित सञ्चालन गर्नुपर्छ । विधायिकी अभ्यासमा परिपक्वता देखाउन सक्नुपर्छ,' उनले भने, 'राष्ट्रिय सभा । राष्ट्रिय सभाको पहिचान कायम राख्नका लागि नियम कानुनको अभाव छैन । हाम्रो नियमावली कार्यान्वयन भइरहेको छैन त्यसलाई पालना गरेर अगाडि बढ्नुपर्छ ।'

राष्ट्रिय सभाको उद्देश्यअनुसार व्यक्तिको चयन भएमा भविष्यमा यसको गरिमा बढ्ने विडारीको भनाइ छ । राष्ट्रिय सभामा सदस्य चयनको विधिलाई मान्दै विज्ञ ल्याउन राजनीतिक दलहरूले ध्यान दिनुपर्ने उनले बताए । 'राष्ट्रिय सभालाई राष्ट्रिय बनाउने उद्देश्यले सबै निकाय वा ठाउँबाट प्रतिनिधत्व होस् भन्ने किसिमले प्रतिनिधत्व गराइएको छ । जो मान्छे बढी कामयावी हुन्छन् तिनलाई ल्याउन पर्छ,' उनले भने, 'सही प्रतिनिधित्वमा गडबडी भएको छ।महिला ल्याउने ठाउँमा महिला नैं ल्याउनुपर्यो्, दलित र अपांग ल्याउने ठाउँमा सोही समुदायको ल्याउनुपर्छ । त्यसमा कस्ता व्यक्ति ल्याउनुपर्छ भन्ने समीक्षा हुनुपर्छ । ती समूहबाट राष्ट्रिय सभाको गरिमा र मागअनुसार बुद्धिजिवी ल्याउनुपर्छ भन्ने हो ।'

कांग्रेस सांसद अधिकारीले भने सरकारलाई संसद्प्रति जवाफदेही बनाउने र जनताका कुरा उठाउने थलोका रूपमा राष्ट्रिय सभा रहनुपर्ने बताए । संसद्मा मन्त्रीहरूसँगको प्रश्नोत्तरलाई प्रभावकारी बनाउनुपर्ने, सांसदहरूले संकल्प प्रस्ताव,समाजसँग सरोकार राख्ने प्रस्ताव र विषय उठाउनुपर्ने उनको भनाइ छ । त्यसका लागि राजनीतिक दलहरूले संसदीय अभ्यासमा निर्वाह गर्नुपर्ने दायित्व निर्वाह गर्नुपर्ने उनको सुझाव छ । 

शनिबार नयाँ सांसदहरूको शपथ 

राष्ट्रिय सभामा निर्वाचित भएर आएका १९ सांसदहरूको शपथ ग्रहण कार्यक्रम फागुन २१ गते ११ बजे तय गरिएको छ । संघीय संसद् सचिवालयमा शपथ कार्यक्रम राखिएको छ । शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि 'संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने र परिचयात्मक कार्यक्रम' राखिएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । 

माघ १२ गते भएको राष्ट्रिय सभाका १९ सिटमा कांग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका थिए । एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाह (गरिमा) निर्वाचित भएका छन् भने माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की छन् । 

एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर आएका छन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully