कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

युक्रेनी सीमामा कठ्यांग्रिँदै नेपाली

होम कार्की

काठमाडौँ — २८ किलोमिटर हिँडेर युक्रेनको सीमा पुगेका नवलपरासीका रमेश मगरले ३५ घण्टा बस्दा पनि पोल्यान्ड छिर्न पाएका छैनन् । उनी अझै करिब ५ हजार जनाभन्दा पछाडि नै छुटेका छन् । ‘पोल्यान्डको सिफातर्फ प्रवेश पाएको छैन । युक्रेनकै चेकपोस्टमा बढी लाइन लागेको छ । रातभरजसो हिउँ परिरहेको छ । हामी कठ्यांग्रिएका छौं,’ उनले टेलिफोनमा भने, ‘वरिपरि बस्न न्यानो ठाउँ छैन । मेरो खुट्टा सुन्निएको छ ।’ 

युक्रेनी सीमामा कठ्यांग्रिँदै नेपाली

युक्रेनतर्फको सीमामा प्रत्येक घण्टा हजारौं नागरिक थपिएका छन् । खानाको अभाव बढ्दो छ । ‘आँखा बन्द नगरेको तीन दिन भयो । स्थिति हेर्दा अत्यासलाग्दो छ । बिरामी परिन्छ कि भन्ने डर लागिरहेको छ,’ मगरले भने, ‘हिउँले लुगा भिजेर फेर्ने अर्को कपडा छैन ।’ युक्रेनी सेनाले महिला, बालबालिका र वृद्धवृद्धालाई भने पहिलो प्राथमिकता दिएको उनले बताए ।

युक्रेनको सीमा पार गरेपछि भने पोल्यान्ड सीमा सहजै पार गर्न सकिने अवस्था छ । ‘मलाई संसार जितेको जस्तो भयो । अब भने बाँचिन्छ,’ पोल्यान्ड प्रवेश पाएकी बिन्दु रानाभाटले भनिन् । उनका श्रीमान् भने अझै युक्रेनकै सीमामा रोकिएका छन् । सोमबारसम्म एक सय ३१ जना नेपाली पोल्यान्ड प्रवेश भइसकेको जानकारी पोल्यान्ड सरकारले जर्मनस्थित नेपाली दूतावासलाई दिएको छ । पोल्यान्डको मेडिका सीमा पार भइसकेपछि भने सहज छ । ‘समस्या र कष्ट सबै युक्रेन सीमामै देखिएको छ,’ राजधानी वार्साबाट झन्डै ४ सय ५० किमि टाढा मेडिका सीमामा पुगेका नेपाली दूतावासका प्रतिनिधि बोधराज सुवेदीले कान्तिपुरसँग भने, ‘पोल्यान्ड प्रहरीका प्रवक्तालाई भेटेर नेपालीलाई नरोक्न आग्रह गरेका छौं ।’

युक्रेनको सीमामा नेपालीलाई सहजीकरण गर्न सकिने अवस्था नै छैन । ‘पोल्यान्डको सीमामा आइसकेका नेपालीको अवस्था निकै दयनीय छ,’ मेडिका सीमामा नेपालीलाई लिन पुगेका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सुसन बर्देवाले भने, ‘कोहीसँग साथमा एउटा झोला पनि छैन । मानसिक तनावमा देखिन्छन् ।’

पोल्यान्डतर्फ जाने सीमामा निकै कठिन भएपछि नेपालीहरू स्लोभाकियातर्फ अगाडि बढेका छन् । मेडिकाबाट स्लोभाकियाको सीमा चार सय किलोमिटर टाढा पर्छ । स्लोभाकियातर्फ सहजीकरण गर्ने जिम्मेवारी पाएको नेपाली दूतावासका प्रतिनिधि जयप्रकाश शिवाकोटीले सम्पर्कमा आएका नेपालीलाई स्लोभाकियाको सीमामा आउन आग्रह गरेको बताए । ‘स्लोभाकियामा धेरै भीड छैन । पोल्यान्डमा बसेकालाई यतै बोलाइरहेको छु,’ उनले भने ।

सोमबारसम्म स्लोभाकियामा २९ नेपाली पुगेका छन् । उनीहरूका लागि शिवाकोटीले आफ्नै रेस्टुरेन्ट बन्द गरी सेल्टरमा परिणत गरेका छन् । स्लोभाकियाको सीमा पारपछि झन्डै ५ सय किलोमिटर यात्रा गरेपछि नेपालीलाई राजधानी ब्रातिशलाभामा लगिएको छ । ‘सीमाबाट राजधानीसम्म आउने प्रबन्ध निःशुल्क रूपमा मिलाइएको छ,’ उनले भने, ‘जति नेपाली आए पनि एक महिनासम्म खानेबस्ने प्रबन्ध मिलाइएको छ ।’ सम्पर्कमा आएका २ सय ५४ जनामध्ये १ सय ७४ जनाले युक्रेन छाडेर छिमेकी देशहरूमा शरण लिइरहेको नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित : फाल्गुन १७, २०७८ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×