किशोरीहरू कति सुरक्षित ?- समाचार - कान्तिपुर समाचार

किशोरीहरू कति सुरक्षित ?

जबर्जस्ती करणीको सिकार हुनेमध्ये ५६ प्रतिशत ११ देखि १८ वर्ष उमेर समूहका बालिका
जनकराज सापकोटा

काठमाडौँ — कलाकार पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेकै दिन मोरङ लेटाङकी १२ वर्षीया किशोरीलाई सोही ठाउँका ६४ वर्षीय दीपक गिरीले बलात्कारपछि हत्या गरेको खबर सार्वजनिक भयो । प्रहरीका अनुसार ६ कक्षामा पढ्ने बालिका विद्यालयबाट फर्किंदै गर्दा जबर्जस्ती करणी गरेर घाँटी थिची हत्या गरी गिरीले शव जंगलभित्र लुकाएका थिए ।

एकैदिन भएका यी दुई घटनामध्ये पलविरुद्ध लागेको आरोपबारे सामाजिक सञ्जाल र मिडियामा समेत विभाजित बहस सुरु भएको छ । यी घटनाले किशोरीहरू बलात्कार र यौन शोषणमा पर्नु नियमित आकस्मिकता मात्रै नभएर दैनन्दिनको घटना भएको देखिन्छ । मानव अधिकारकर्मी मोहना अन्सारीले पल पक्राउपछि उठेका प्रतिक्रियाको सार खिच्दै शनिबार ट्वीटरमा टिप्पणी गरिन् । उनले लेखेकी थिइन्, ‘नाबालिकालाई ललाइफकाइ ग्ल्यामरको संसारमा पुर्‍याउने, यौन शोषण र बलात्कार गर्ने, यसका विरुद्ध आवाज उठाउँदा सबका सब पक्षविपक्षमा विभाजित हुने के मेरो देशमा कानुन छैन, प्रहरी छैन, न्यायालय छैन...।’

त्यसो त यौन हिंसा र शोषणका सबै घटना सावर्जनिक हुँदैनन् । झन् किशोरीहरू पीडित भएका घटनामा त यस्ता विषय मुस्किलले सतहमा आउँछन् । पलमाथि १८ वर्षमुनिकी किशोरीले बलात्कार र यौन हिंसाको जाहेरी दिएपछि किशोरीहरू कति सुरक्षित छन् भन्ने बहस मात्रै उठेको छैन, पीडितमाथि उल्टै कसरी प्रश्न उठाइन्छ भन्ने प्रवृत्तिको पनि उजागर भएको छ । सामाजिक सञ्जालमा लाखौं ‘फ्यान फलोइङ’ भएका एकथरीले सामाजिक सञ्जालमार्फत पीडितमाथि लाञ्छना लगाउने खालका अभिव्यक्ति दिइरहेका छन् ।

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७८/७९ माघसम्म १ सय ४६ जना महिला जबर्जस्ती करणीको सिकार भएका छन् । जसमध्ये ९६ जना त बालिकामात्रै छन् । सबैभन्दा धेरै ६१ बालिका ११ देखि १६ वर्ष उमेरका छन् भने १७ देखि १८ वर्षका २१ जना छन् । अर्थात् जबर्जस्ती करणीको सिकार हुनेमध्ये ११ देखि १८ वर्ष उमेर समूहका बालिकाको संख्या मात्रै कुल पीडितको ५६ प्रतिशत छ । यो तथ्यांकले किशोरीहरू जबर्जस्ती करणीजस्ता गम्भीर अपराधको घटनाबाट सबैभन्दा धेरै जोखिममा रहेको बुझाउँछ ।

काउन्सिलिङ साइकोलोजी नेपालमा आबद्ध साइकोथेरापिस्ट एवं काउन्सिलिङ साइकोलोजिस्ट क्षितिजकिरण श्रेष्ठ किशोरकिशोरीमाथि हुने यौन हिंसाका कैयौं घटना गुपचुप नै रहने बताउँछन् । उनले यस्तो हुनुका पछाडि उनीहरूका कुराकानी अभिभावकले सुन्ने परिपाटीको अभाव र सुने भने पनि गम्भीरताका साथ नलिने अभ्यास जिम्मेवार ठान्छन् । उनले आफूकहाँ आएको एक घटना सुनाए । १२ वर्षीया किशोरीले आफूलाई एकजनाले अस्वाभाविक तरिकाले छुने, संवेदनशील भागतिर हात बढाउने गतिविधि गरिरहेको कुरा सुनाइन् । राजधानीमा बस्ने शिक्षित आमाले छोरीका कुरामा कुनै गम्भीरता देखाइनन् । बरु उल्टै उनलाई यस्ता कुरा कसैलाई नभन्नु भनेर सम्झाइन् ।

श्रेष्ठका अनुसार जब आफूमाथि यौन हिंसा वा दुर्व्यवहार भएको कुरा किशोरकिशोरीले सुनाउँछन्, तब अभिभावक शंका गर्दै उल्टै उनीहरूलाई गाली गर्छन् । उनले भने, ‘यस्ता अभ्यासले समय क्रममा बाबुनानीहरू आफूमाथि जस्ता घटना भए पनि सुनाउने आँट गर्दैनन् । यसले अभिभावकसँगको दूरी झनै बढ्छ ।’ उनका अनुसार यस्तो शैलीले हिंसाका घटना गुपचुप राख्ने सामाजिक परिपाटीलाई बढावा दिन्छ भने हिंसाका कुरा भित्रभित्रै दबाउँदा पीडितलाई ‘डिप्रेसन’ तर्फ धकेल्छ ।

मनोविश्लेषक करुणा कुँवरले दर्जनौं पीडित किशोरकिशोरीका कुरा सुनेकी छन् । जो आफ्नै परिवार, आफन्त वा चिनेजानेकै मान्छेबाट यौन हिंसाको सिकार भएका थिए, त्यसबारे बोल्न महिनौं वा वर्षौंसम्म आँट जुटाउन सकिरहेका थिएनन् । उनको बुझाइमा किशोरावस्थामा परिपक्व तरिकाले निर्णय गर्ने क्षमता कमजोर हुन्छ र त्यस्तो मनोविज्ञानको फाइदा पीडकहरूले उठाउँछन् । गत सातामात्रै उनीकहाँ एक किशोरी परामर्शका लागि आएकी थिइन् । नजिकको दाइबाट वर्षौंदेखि यौन हिंसाको सिकार भएको बताउँदै उनले त्यसबारे आफू बोल्न नसकिरहेको सुनाइन् । ‘यस्तै मनोदशाको सिकार भएका कैयौं किशोरी मकहाँ आइराख्छन्,’ उनले भनिन्, ‘ती सबैको साझा समस्या भनेको यस्तो कुरा बोल्दा परिवार वा चिनेजानेकाले के भन्लान् भन्ने डर देखिन्छ ।’

श्रेष्ठ र कुँवरले भनेजस्तै किशोरकिशोरीहरू आफूमाथि भएका हिंसा वा शोषणका घटना खुलेर भन्न सक्ने अवस्थामा देखिन्नन् । साढे तीन लाखभन्दा धेरै फलोअर्स भएको नेप्लिज टिनएजर्स कन्फेसन नामक फेसबुक पेजमा भने धेरै टिनएर्जसले आफ्नो खुल्दुली र छटपटी व्यक्त गरेका छन् । आफूले भोगेका घटनाबारे पनि खुलाएका छन् । पेजमार्फत सार्वजनिक भएका घटना पढ्दा किशोरकिशोरीहरू अलमल, छटपटी र भयको मनोदशामा देखिन्छन् । घटनाबारे उचित परामर्श कोसँग कसरी लिने र आफूले भोगिरहेको समस्याको निकास के हो भन्ने दोधारमा देखिन्छन् ।

काउन्सिलिङ साइकोलोजिस्ट श्रेष्ठ यौन शिक्षाबारे पढाउने चलन नहुँदा किशोरकिशोरी परिवारभित्रै वा चिनेजानेकाबाटै शोषणमा पर्ने गरेको बताउँछन् । परिवारभित्र सामसुम पार्नुपर्छ भन्ने मनोविज्ञान हाबी भएकाले यस्ता घटना हत्तपत्ती बाहिर नआउने उनले बताए । ‘पल शाह पक्राउ प्रकरणमा पनि सामाजिक सञ्जालबाट उल्टै पीडितमाथि लाञ्छना लगाउने र आफैं न्यायाधीश भए जसरी निष्कर्ष सुनाउने परिपाटी देखिएको छ,’ उनले भने, ‘यस्तो परिपाटीले भोलि कुनै पनि पीडित किशोरी आफूमाथि भएको हिंसाका घटनामा बोल्न नसक्ने परिस्थिति सिर्जना हुन सक्छ ।’

भारतको सर्वोच्च अदालतकी अधिवक्ता रुना भुयानले अनलाइन पोर्टल ‘दि क्विन्ट’मा सन् २०१८ मा एक लेख लेखेकी थिइन् । जसमा भारतका ७० प्रतिशत बालबालिकाले आफूमाथि भएको हिंसा विभिन्न कारणले सार्वजनिक नगर्ने उल्लेख छ । मनोविद् कुँवर भारतीय समाजको यो चरित्र नेपालभन्दा पृथक् नभएको टिप्पणी गर्छिन् । ‘पीडितलाई सुरक्षा र उचित मनोपरामर्श दिनेभन्दा पनि सामाजिक रूपमा बलिया पीडककै पक्षमा उभिने परिपाटीले हिंसाका घटनालाई झनै गुपचुप पार्न सिकाउने खतरा छ,’ उनले भनिन् ।

कानुनमा के छ ?
मुलुकी अपराध संहिता २०७४ ले जबर्जस्ती करणीको मुद्दामा पीडितको उमेरअनुसार सजायको फरक–फरक व्यवस्था गरेको छ । संहिताको परिच्छेद १८ मा करणीसम्बन्धी कसुरमा पीडित १६ वा त्यसभन्दा बढी १८ वर्षसम्मका महिला भए १० देखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ । पीडित १८ वर्षभन्दा माथि उमेरको महिला भए सात देखि १० वर्षसम्मको सजाय तोकिएको छ ।

प्रकाशित : फाल्गुन १७, २०७८ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

माओवादी सुदूरपश्चिम अध्यक्षमा चौधरी निर्वाचित

अर्जुन शाह

धनगढी — नेकपा माओवादी केन्द्र सुदूरपश्चिमको प्रदेश अध्यक्षमा हरिराम चौधरी निर्वाचित भएका छन् । उनले प्रदेश सरकारमा उद्योग, पर्ययटन, वन तथा वातावरण मन्त्रीसमेत रहेका मानबहादुर धामीले परारित गरेका हुन् ।

खसेको कुल २१० मतमध्ये चौधरीले ११४ मत पाएका छन् भने धामीले ९३ मत पाए ।

उपाध्यक्ष पदमा मानसिंह माल, अक्कल रावल र रणबहादुर कुँवर विजयी भएका छन् । उपाध्यक्ष पदमा उम्मेदवारी दिएका प्रेमप्रकाश भट्ट, लोकबहादुर बोहरा, दुर्गा बडुवाल र मीनबहादुर घर्ती पराजित भए । यस्तै, सचिवमा अमरसिंह चौधरीलाई पराजित गर्दै जनक बुढा निर्वाचित भएका छन् । सहसचिवमा नन्दबहादुर साउँद, रामबहादुर देवकर र अन्जिता श्रेष्ठ निर्वाचित भएका छन् भने प्रेमाकुमारी ओली र अमित दहित पराजित भए । कोषाध्यक्षमा विनिता विकलाई पराजित गर्दै कमलकुमारी शाह विजयी भएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

यसअघि मंसिर गत २८ गते आयोजित प्रदेश अधिवेशनमा आकांक्षीहरुको संख्या धेरै भएपछि पदाधिकारी चयन गर्न नसकी अधिवेशन स्थगित भएको थियो । यसैक्रममा प्रदेश समितिमा पदाधिकारी चयनका लागि सोमबार मतदान मतदान भएको हो । यसअघि चयन भएका २२३ सदस्यहरुमध्येबाट पदाधिकारीको चयन भएको हो ।

प्रकाशित : फाल्गुन १७, २०७८ ०८:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×