गैंडा मरेपछि वन्यजन्तुमैत्री निर्देशिका !

कार्यान्वयनमा आए मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण हुने, वन्यजन्तुको सडक दुर्घटना घट्ने, दुर्लभ वन्यजन्तुको ओहोरदोहोर सुरक्षित हुने

फाल्गुन १५, २०७८

अब्दुल्लाह मियाँ

काठमाडौँ — चितवनमा सडक विस्तार गर्ने क्रममा खनिएको खाल्डोमा परेर एकसिंगे गैंडा मरेपछि सरकार बल्ल वन्यजन्तुमैत्री पूर्वाधार निर्देशिका कार्यान्वयनमा ल्याउन कस्सिएको छ । मन्त्रिपरिषद्को भौतिक पूर्वाधार समितिमा हालै दुई पटक छलफलपछि निर्देशिका कार्यान्वयनमा ल्याउन लागिएको हो । 

‘चितवनको घटनापछि सबैको चेत खुलेजस्तो भयो,’ वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले भने, ‘मन्त्रिपरिषद्को भौतिक पूर्वाधार समितिमा दुई पटक छलफल भयो । अब केही दिनभित्रै यो निर्देशिका टुंगोमा पुर्‍याइँदै छ ।’ मन्त्रालयले सडक, रेल, जलविद्युत्को बाँध, ग्यास पाइपलाइन, सिँचाइ, नहर, नदी नियन्त्रणसम्बन्धी बाँध तथा तटबन्धजस्ता ठूला संरचना बनाउँदा अनिवार्य रूपमा वन्यजन्तुमैत्री हुनुपर्ने व्यवस्थासहितको ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका २०७८’ को मस्यौदा गत असोजमै मन्त्रिपरिषद्मा पेस गरेको थियो । मस्यौदामा वन्यजन्तुको आवतजावत सुरक्षित बनाई दुर्घटना कम गर्न तथा मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तु हिँडडुल गर्ने क्षेत्रमा हुने निर्माण वन्यजन्तुमैत्री बनाउनुपर्ने उल्लेख छ । 

मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले निर्देशिका जारी भएपछि पूर्वाधार निर्माणका कारण खण्डीकरण हुँदै गएको वन्यजन्तुको बासस्थान र जैविकमार्ग जोगिने तथा अब बन्ने पूर्वाधार वन्यजन्तुमैत्री हुने बताए । अब निकुञ्ज, आरक्ष, जैविकमार्ग र वनभित्र वन्यजन्तुको ओहोरदोहोरमा अवरोध नपुग्ने गरी पूर्वाधार निर्माण गर्नुपर्ने उनको भनाइ छ । ‘सडक, सिँचाइ र बाँधजस्ता भौतिक संरचना वन्यजन्तुमैत्री नहुँदा बर्सेनि सयौं वन्यजन्तु दुर्घटनामा परेर मर्ने गरेका छन्,’ कँडेलले भने, ‘त्यस्ता घटना नहुन् र वन्यजन्तुका कारण मान्छेको क्षति रोकियोस् भनेर निर्देशिका ल्याउन लागिएको हो ।’ 

राजमार्गमा सवारी दुर्घटना, जैविकमार्ग, बाँध र नहरलगायतका संरचनामा परेर हात्ती, गैंडा र बाघजस्ता ठूला वन्यजन्तुसमेत मर्ने/घाइते हुने घटना भएका छन् । निर्देशिकामा कमिलादेखि बाघ, गैंडा, जंगली हात्तीलगायत वन्यजन्तु र चराचुरुंगीको ओहोरदोहोरलाई सहज गराउने उद्देश्य राखिएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव मेघनाथ काफ्लेले निर्देशिकामा उल्लेख भएको प्रावधानअनुसार भौतिक पूर्वाधार निर्माण गर्न सकिए वन्यजन्तु र मानव दुवैका लागि हितकर हुने बताए । ‘यो निर्देशिका कार्यान्वयनमा ल्याउँदा दुर्लभ वन्यजन्तुको ओहोरदोहोरलाई सुरक्षित गर्न, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमार्फत सहअस्तित्व कायम गर्न र वन्यजन्तुको सडक दुर्घटना न्यून गर्न सहयोग पुग्छ’, काफ्लेले भने । उनका अनुसार अति संवेदनशील क्षेत्रभन्दा बाहिर निर्माण गर्ने गरी पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययन गर्नुपर्ने हुन्छ । संवेदनशील क्षेत्र भन्नाले वातावरण संरक्षण क्षेत्र, संरक्षण क्षेत्र, वन संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र र विभिन्न प्रकारका बासस्थानको संगम क्षेत्र बुझिन्छ । संवेदनशील क्षेत्रभित्र मानवबस्ती भएका हकमा भने पूर्वाधार निर्माण गर्न निर्देशिकाले रोक लगाएको छैन । 

ओभरपास संरचना बनाउँदा जमिनमा विचरण गर्ने जंगली हात्ती, गैंडा प्रजातिका लागि संरचनासम्मको पहुँचको भिरालोपन २० डिग्रीभन्दा बढी नहुने गरी र चौडाइ कम्तीमा २० मिटर हुने गरी निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको छ । ‘एउटा रूखबाट अर्को रूखमा विचरण गर्ने बाँदर, लोखर्केजस्ता प्रजातिका लागि डोरी, तार तथा अन्य सामग्री प्रयोग गरी नहर, सडक, रेलमार्ग जस्ता पूर्वाधारभन्दा कम्तीमा पाँच मिटरमाथि रहने गरी क्यानोपी ब्रिज निर्माण गर्नुपर्नेछ,’ निर्देशिकामा उल्लेख छ । पूर्वाधार तथा वन्यजन्तुमैत्री संरचना बनाउँदा वन्यजन्तुको बासस्थान, जैविकमार्ग र पारिस्थितिकीय प्रणालीमा असर पर्ने कार्य गर्न पाइने छैन । 

वन्यजन्तुको वर्गीकरण
निर्देशिकामा वन्यजन्तुको वर्गीकरणसमेत गरिएको छ । जंगली हात्तीलाई धेरै ठूला वन्यजन्तु प्रजातिभित्र राखिएको छ । गैंडा, बाघ, भालु प्रजाति, ठूला मृग प्रजाति, झारल, घोरल, नीलगाई, गौरी गाई, अर्ना ठूला वन्यजन्तु प्रजातिअन्तर्गत पर्छन् । साना जंगली बिरालो प्रजाति, नीर बिरालो, जंगली कुकुर (ढोले), स्याल, ब्वाँसो, लिंक्स, साना मृग प्रजाति, कृष्णसार, चौका, हुँडार, चितुवा प्रजाति, डल्फिन (सोंस), बँदेल प्रजातिलाई मझौला वन्यजन्तु प्रजातिमा राखिएको छ । 

कछुवा प्रजाति, सर्प प्रजाति, गोहोरो प्रजाति, गोही प्रजाति, छेपारो प्रजाति, भ्यागुताजस्ता उभयचर तथा सरीसृप प्रजाति, लोखर्के प्रजाति, खरायो प्रजाति, दुम्सी प्रजाति, सिभेट प्रजाति, ओत प्रजाति, न्याउरी मुसा, बाँदर प्रजाति, सालक प्रजाति, हाब्रे, चरिबाघ, लिङसाङ, चमेरो जस्ता साना स्तनधारी प्रजातिलाई साना वन्यजन्तु प्रजातिमा समेटिएको छ ।

अब्दुल्लाह

Link copied successfully