जसपा र लोसपा फेरि विभाजनतिर

जनता समाजवादीमा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच शक्ति बाँडफाँटका लागि सुरू भएको विवाद उत्कर्षमा पुगेको छ भने लोसपा अध्यक्ष ठाकुरको एकलौटी निर्णय गर्ने कार्यशैलीप्रति असन्तुष्ट नेता–कार्यकर्ताले पार्टी छाड्न थालेका छन् 

फाल्गुन १३, २०७८

मधु शाही

काठमाडौँ — मधेसमा वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाएका मधेसवादी दलहरू पुनः विभाजनको मुखमा पुगेका छन् । सात महिनाअघि विभाजित उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा पुनः नेताहरूबीच शक्तिसंघर्ष चुलिएको हो ।

जनता समाजवादीमा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच शक्ति बाँडफाँटका लागि सुरु भएको विवाद उत्कर्षमा पुगेको छ भने लोसपा अध्यक्ष ठाकुरको एकलौटी निर्णय गर्ने कार्यशैलीप्रति असन्तुष्ट नेता–कार्यकर्ताले पार्टी छाड्न थालेका छन् । 

जसपा अध्यक्ष यादवले लामो समयदेखि केन्द्रीय समिति बैठक नराखेको भन्दै भट्टराई पक्षले आपत्ति जनाउँदै आएको छ । भट्टराई पक्षकै दबाबमा यादवले शुक्रबार (फागुन १३) का लागि बैठक राखेका छन् । जसपाका कार्यकारिणी सदस्य प्रशान्त सिंहले एमसीसीको राष्ट्रिय मुद्दाको विषयमा पनि उपेन्द्र मौन बस्दा पार्टीमा कार्यकर्ता र नेतालाई राजनीतिक जवाफदेही हुन कठिन भएको बताए । ‘अध्यक्षले के गर्दै हुनुहुन्छ ? पार्टी कता जाँदैछ ? त्यतिसम्म पनि केन्द्रीय नेतालाई थाहा हुँदैन,’ उनले भने, ‘उहाँले एकलौटी तरिकाले काम गर्दा पार्टीमा विवाद आएको हो ।’

त्यस्तै, यादवले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशिता नअपनाएको भन्दै विवाद चर्किएको एक कार्यकारिणी सदस्यले बताए । देउवा सरकारमा जसपाबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव, महिन्द्र राय यादव र रामसहाय यादव गरी चार मन्त्री छन् । ‘पार्टी समावेशी छैन,’ जसपाकी कार्यकारिणी सदस्य अमृता अग्रहरी भन्छिन्, ‘नेतृत्व नै असमावेशी छ । पार्टी पनि विधि र विधानमा चलेको छैन । यसको सम्पूर्ण जिम्मेवारी अध्यक्षले लिनुपर्छ ।’ उनले अध्यक्ष यादवले पार्टी विधि र विधानअनुरूप नचलाएको आरोप लगाइन् । 

एमसीसिको विषयमा पनि अध्यक्ष यादव र भट्टराई विभाजित भएका छन् । भट्टराई पक्ष एमसीसी अनुमोदन गर्न तयार छ भने यादव पक्ष–विपक्षमा देखिएको छ । केन्द्रीय समिति बैठक बस्ने निश्चित भएपछि मात्रै संसदीय दलको बैठक बस्ने अडान भट्टराई पक्षले राखेको छ । ‘पार्टीको बैठक त बस्नैपर्नेे हो तर एमसीसीजस्तो राष्ट्रिय मुद्दामा कुनै छलफल हुन नसक्दा अन्योलमा छौं,’ कार्यकारिणी सदस्य सिंहले भने । 

उपेन्द्रनिकट नेता प्रकाश अधिकारीले भने पार्टीमा विवाद नभएको दाबी गरे । ‘विचारको राजनीति हुनु स्वाभाविक हो तर मनमुटाव छैन,’ उनले भने, ‘विधानमा पार्टीलाई समावेशी चरित्रको बनाउने भनिएको छ । दुई अध्यक्ष राख्ने भनिएको छ तर कुन जातिको राख्ने भनिएको छैन । त्यसैले जातीय अध्यक्ष राख्नु जरुरी छैन । पार्टी अध्यक्षले स्वविवेक प्रयोग गर्नुहुन्छ । बैठक आवश्यकताअनुसार बोलाउनुहुन्छ, बाध्यकारी छैन ।’ 

राजनीतिक विश्लेषक तुलानारायण साहले कुनै पनि पार्टी विभाजन हुनु वा विवादित हुनुको कारण सत्तामोह रहेको बताए । ‘भट्टराईजीलाई सेरेमोनियल पदमा बस्न मन नलागेर कार्यअधिकार खोज्नुभयो, त्यसैले त विवाद सुरु भएको हो,’ उनले भने । उनले जुनसुकै पार्टीमा पनि नेताहरूबीच कार्यकारी शक्तिको लडाइँ हुन थालेपछि फुट र विभाजन हुने बताए ।

यता, जसपाबाट फुटेर ०७८ भदौ १ मा दर्ता भएको लोसपाका नेता–कार्यकर्ताले नेतृत्वले पार्टीलाई गतिशील बनाउन नसकेको आरोप लगाउँदै आएका छन् । अध्यक्षको एकल निर्णय गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै लोसपा केन्द्रीय कार्यकारणी समिति सदस्य वृशेषचन्द्र लाल, विजयकुमार सिंहलगायत नेता–कार्यकर्ता मंगलबार पार्टी परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टीमा आबद्ध भएका थिए । जुन ऊर्जाका साथ पार्टी गठन भएको थियो, त्यसअनुसार काम गर्ने वातावरण नभएपछि तमलोपा ब्युँताउनुपरेको लालले बताएका छन् । 

अध्यक्ष ठाकुरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अरू केही नेता–कार्यकर्ता पार्टी छाड्ने तयारीमा रहेको अर्का एक केन्द्रीय सदस्यले जानकारी दिए । उनका अनुसार ती नेता–कार्यकर्ता जसपा परिषद् अध्यक्ष भट्टराईसँग छलफलमा छन् । ‘उपेन्द्रजीको नेतृत्वमा कोही जाँदैनन्,’ उनले भने, ‘भट्टराईजीको पक्ष बलियो भयो भने लोसपामा असन्तुष्ट ठूलै जमात जसपामा जानसक्ने सम्भावना छ ।’

ठाकुरको अध्यक्षतामा लोसपा दर्ता भएको ७ महिना बित्दा पनि केन्द्रीय कार्यकारिणी बैठक बसेको छैन । पार्टी विस्तार र चलायमान नहुँदा धेरै कार्यकता र नेता ठाकुरप्रति असन्तुष्ट छन् । तीन महिनापछि मंगलबार शीर्ष नेताको बैठक बसेको थियो । बैठकमा अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, अनिलकुमार झा र सर्वेन्द्रनाथ शुक्ला सहभागी थिए । विधान परिमार्जन र संसद्मा पेस भएको एमसीसी सम्झौतामा भूमिका प्रष्ट पार्नेबारे बैठकमा छलफल भएको कार्यकारिणी सदस्य केशव झाले बताए । ‘शीर्ष नेताले तीन महिनापछि सँगै बसेर छलफल गर्नुलाई पनि ठूलै उपलब्धि मान्नुपर्छ,’ एक कार्यकारणी सदस्यले बताए ।

अध्यक्षले पार्टीलाई जानकारी नै नगराई १७ वटा जिल्लाको अध्यक्ष मनोमानी ढंगले तोक्नु, मधेस प्रदेशको अध्यक्ष जितेन्द्र सोनललाई बनाउनु, राष्ट्रिय सभाका उम्मेदवार श्याम सरदार र रूपा यादवलाई मधेस प्रदेशको अध्यक्ष बनाउनु, संसदीय दलको विधान नै नबनाई र संसदीय दलको नेता नै चयन नभई एकलौटी ढंगले उमाशंकर अरगरियालाई प्रमुख सचेतक बनाउनुलगायत कारणले महन्थप्रति नेताहरूको असन्तुष्टि चुलिएको हो ।

पाँच पक्ष मिलेर बनेको पार्टीमा सबैसँग छलफल गरेर निर्णय हुनुपर्ने लोसपाका एक कार्यकारिणी सदस्यले बताए । अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच बोली बाराबार नै भएको एक नेताले बताए । ‘पार्टीमा अध्यक्षले के गरिरहेका छन्, अब के हुन्छ ? कुनै पनि सामूहिक धारणा बन्न सकेको छैन,’ कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले भने, ‘बैठक नै बस्न सकिएको छैन, अरू त के ठूला कुरा गर्नु ?’

बैठक नबस्दा केन्द्रीय समिति बन्न नसकेको कार्यकारिणी समिति विस्तार नभएको, राजनीतिक समिति नबनेको, केन्द्रीय समितिमा पदाधिकारी नभएको, केन्द्रीय विभागहरू गठन हुन नसकेको, भातृ संगठन र प्रदेश समितिहरू बन्न नसकेको कार्यकारिणी सदस्य झाले बताए ।

केन्द्रीय कार्यकारिणी सदस्य नीलम बर्माले भने पार्टीभित्र कुनै असन्तुष्टि नरहेको दाबी गरिन् । उनले केन्द्रीय समीति बैठक बसिसकेको र त्यही बैठकले अध्यक्षलाई निर्णायक अधिकार दिएको बताइन् । ‘लोसपाको भ्रातृ संगठन बनेको छैन तर तमलोपा हुँदा मैले नेतृत्व गरेको महिला संगठनलाई नै अध्यक्षज्यूले मान्यता दिनुभएको छ,’ उनले भनिन् । ठाकुरले एकलौटी ढंगले जिल्ला अध्यक्ष बनाएको विरोधमा पुस ११ मा जिल्ला र प्रदेशका नेताले बबरमहलस्थित पार्टी कार्यालय घेराउ गरेका थिए ।

तमलोपादेखि लोसपासम्मको यात्रामा आइपुग्दा ठाकुरलाई उनकै पक्षधरले साथ छोड्दै आएका छन् । उनको एक्लै निर्णय गर्ने कार्यशैली र सबैलाई समेट्ने नेतृत्व क्षमता अभावका कारण वरिष्ठ नेताहरू टाढिँदै गएको लोसपाका केन्द्रीय नेताहरूले बताएका छन् । राष्ट्रिय जनता पार्टी हुँदा र तराई मधेस लोकतान्त्रिक पार्टीको नेतृत्वमा गर्दा निकट नेता गुमाउँदै आएका छन् । तमलोपा हुँदाका नेता हृदयेश त्रिपाठी, जंगीलाल राय, ईश्वरदयाल मिश्र, बृजेश गुप्ता, पशुपतिदयाल मिश्र, नन्दन कुर्मी, अनिता यादव, विमल श्रीवास्तवलगायत राजपामा सामेल भएनन् । जसपाबाट लोसपा बनिसकेपछि पूर्वमन्त्री एवं सांसद नवलपरासीका गोविन्द चौधरी, रौतहटका गोविन्द चौधरी, प्रदेश सदस्य सुरेश मण्डल पनि लोसपामा आएनन् ।

मधु

Link copied successfully