२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

फुट्यो लोसपा, लालको नेतृत्वमा तमलोपालाई सक्रिय बनाइने

श्यामसुन्दर शशि

जनकपुर — फुटको शृंखलालाई निरन्तरता दिँदै एउटा मधेसवादी पार्टी मंगलवार पुन:  टुक्रिएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं पूर्व राष्ट्रियसभा सदस्य वृशेषचन्द्र लाल, संविधासभा सदस्य विजयकुमार सिंहलगायतका नेता कार्यकर्ताहरू लोसपा परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टीलाई ब्युँताउने उद्घोष गरेका छन् ।

फुट्यो लोसपा, लालको नेतृत्वमा तमलोपालाई सक्रिय बनाइने

जिल्ला समन्वय समिति, धनुषाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा वृशेषचन्द्र लालले लोसपा परित्याग गरेको तथा फागुन १५ गते तमलोपामा प्रवेश गर्ने जानकारी दिएका छन् । लालले मधेसवादी दल तथा नेतृत्व पंक्तिमाथि जनता,जनताको विद्रोहपूर्ण संघर्षको ऐतिहासिक एजेन्डालाई थाम्न नसकेको, गन्त्व्यको दिशामा अगाडि बढ्न नसकेको तथा जनताले दिएको अभिमत, समर्थनलाई सत्ता र सरकारमा सहभागिताको स्वार्थमा शक्तिको हातमा सुम्पेको आरोप लगाए ।

‘बृहत् राजनीतिक शक्ति निर्माणको नाममा सरकारहरु बनाउन भएका एकीकरण वा विभाजनले मधेसकेन्द्रित दलहरुको अस्तित्व नै रहेन । नेतृत्व पंक्ति मधेस केन्द्रित नामबाटै तर्सिने काम गर्न थालेका छन् । स्वाभवत : लोकतन्त्रवादी मधेसी जनतालाई वामपन्थीको खोल ओढाउन थालिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संविधानसभा सदस्य विजयकुमार सिंहले मधेसकेन्द्रित दलले आफूलाई राष्ट्रिय दल देखाउन आफ्नो नामबाट मधेस शब्द झिकेको बताए । उनले भने, ‘क्षेत्रीयता बना संघीयता सफल हुन सक्दैन । हाम्रो दल क्षेत्रीय दल हुने छ । क्षेत्रीयतामार्फत हामी राष्ट्रिय एकताको उद्घोष गर्छौ । क्षेत्रको विकासमार्फत राष्ट्रको विकास गर्छौ ।’

लाल र डा.सिंहको नेतृत्वमा पूर्व तमलोपा पार्टी आवद्ध झण्डै सय जना नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेको स्वघोषणा गरेका छन् । जसमा लोसपाका रामजी राय,धीरेन्द्र बहादुर सिंह,सतिस लाल दास,योगेन्द्र राय,उमेश मण्डल र मोहम्मद असगर अलिलगायतका प्रमुख छन् ।

लाल र सिंहले लोसपाभित्र आन्तरिक लोकतन्त्रको आभाव भएको आरोप लगाए । लोसपा अध्यक्ष महन्थ ठाकुरनिकट मानिएका लाल र सिंहले पछिल्लो पटक ठाकुरको कार्यशैलीको कडा विरोध गर्दै आएका थिए । दुई वर्षअघि सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा दुई वर्षे कार्यकाल सम्पन्न गरेका वृशेषचन्द्र लाललाई पुन : उम्मेदवार नबनाई पैसाको बलमा मृगेन्द्रनारायण सिंह यादवलाई उम्मेदवार बनाएको भन्दै त्यतिबेला चर्को बिरोध भएको थियो ।

मंसिरमै गठन भएको थियो ‘तमलोपा’

लाल र सिंहलगायतका नेता कार्यकर्ताहरु फागुन १५ गते प्रवेश गर्ने भनिएको तराई मधेस लोकतान्त्रिक पार्टी २०७८ साल मंसिर १७ गते नै निर्वाचन आयोगमा दर्ता भइसकेको छ । जसका अध्यक्ष जनकपुरधाम उपमहानगर पालिका–४का रविशंकर कुमार कर्ण छन् भने उपाध्यक्ष धनौजी गाउँपालिका–५ बहुअर्वाका रमेश प्रसाद अधिकारी(मण्डल) तथा महामन्त्री जनकपुरधाम २ का विमला साह छन् ।

तमलोपाका उपाध्यक्ष रमेशप्रसाद अधिकारीले लाल र सिंहलगायतका नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गर्न आएर स्वागत गर्ने बताएका छन् । ‘हामी मधेस र मधेसीको सेवा गर्न दल दर्ता गराएका हौं । पार्टी प्रवेश गर्न आउने सबैलाई स्वागत गर्छौँ,’ उनले भने ।

प्रकाशित : फाल्गुन १०, २०७८ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?