बालुवाटारमा सहमति, बानेश्वरमा विमति

एकीकृत समाजवादीका वरिष्ठ नेता खनालले उठेर नारा लगाउँदा अध्यक्ष नेपाल बसिरहे, माओवादी प्रमुख सचेतक गुरूङलगायत नेताले विरोधमा बोले पनि अध्यक्ष दाहाल मौन रहे

फाल्गुन ९, २०७८

बबिता शर्मा

काठमाडौँ — नेपाल सरकार र अमेरिकी सहयोग नियोग एमसीसीबीच भएको अनुदान सम्झौता प्रतिनिधिसभामा पेस भएसँगै सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी थप अन्तरविरोधमा परेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सम्झौता संसद्‌मा टेबल गर्न गठबन्धनमा सहमति दिएका छन् भने सहकर्मी वरिष्ठ नेताहरूले आपत्ति जनाएका छन् । दुवै पार्टीका कार्यकर्ता सडकमा पनि उत्रिएका छन् । 

एकीकृत समाजवादीले सम्झौताको विरोध गर्दै आएको थियो भने माओवादीले दोहोरो नीति जारी राखेको छ । शीर्ष नेता सम्मिलित गठबन्धन बैठकले एमसीसी सम्झौता संघीय संसद्मा टेबल गर्ने सहमति गरेको हो । तर सम्झौता टेबल हुँदा माओवादी सांसदहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, अञ्जना विशंखेलगायतले उठेर विरोध जनाउँदा अध्यक्ष पुष्पकमल दाहाललगायतका केही सांसद भने बसिरहे । त्यस्तै एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले प्रस्ताव पेस हुँदा उठेर नाराबाजी गर्दै विरोध जनाए । त्यति बेला अध्यक्ष नेपाललगायतका सांसद भने आफ्नो सिटमा बसिरहेका थिए । 

संसद् बैठक सकिएपछि नेता खनालले केही नेता मिलेर गलत नजिर बसाउन लागेको भन्दै आपत्ति जनाए । ‘महाशक्तिको दबाबमा सम्झौतालाई अनुमोदन गर्ने भनेर सरकारले टेबल गर्नु नेपालका लागि लज्जाको विषय हो । सम्पूर्ण नेपाली जनताको शिर निहुरिने काम हाम्रो देशका केही नेताले गर्नुभएको छ,’ उनले भने । यथास्थितिमा एमसीसी सम्झौता संसद्मा टेबल गर्नै नहुने अडान राख्दै आएका खनाल र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई नेपाल र दाहालले गठबन्धनको बैठकमा सहभागी गराएका थिएनन् । 

एकीकृत समाजवादीको स्थायी कमिटीले एमसीसी सम्झौता संसद्मा पेस गर्न दिने तर विपक्षमा उभिने निर्णय शनिबार नै गरेको थियो । नेता खनालले भने पार्टी निर्णयविपरीत सम्झौता संसद्मा टेबल गरिएको दाबी गरे । तर एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले खनालको प्रस्तावअनुसार नै एमसीसी सम्झौतामाथि संसद्मा छलफल गर्ने वातावरण बनाउन पार्टीले निर्णय गरेको बताए । 

‘शनिबारको स्थायी कमिटी बैठकमा उहाँ (खनाल) ले अब एमसीसीलाई अड्काएर राख्नु हुँदैन, संसदीय पद्धतिअनुसार छलफल गर्ने वातावरण सिर्जना गरौं भन्नुभएको थियो । त्यहीअनुसार निर्णय भएको हो,’ उनले भने, ‘सम्झौतामा हाम्रा असहमति धेरै छन् । छलफलमा हाम्रा कुरा राखौं । हामीलाई यो सम्झौता नेपालको हितमा छैन भन्ने लाग्यो भने त्यसलाई फेल गरौं भन्ने निर्णय हो ।’ 

गठबन्धनको निर्णयप्रति माओवादी नेताले संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि विरोध दर्ज गरेका छन् । समितिको बैठकमा माओवादीले एमसीसीलाई कार्यसूची बनाउने विषयमा लिखित असहमति राखेको छ । प्रमुख सचेतक देव गुरुङ, सांसदद्वय रेखा शर्मा र जयपुरी घर्तीले प्रमुख प्रतिपक्षीको अवरोध जारी रहेको र एमसीसीका केही प्रावधान संशोधन गर्नुपर्ने भन्दै असहमति राखेका थिए । स्रोतका अनुसार यसो गर्न उनीहरूलाई अध्यक्ष दाहालले अनुमति दिएका हुन् । प्रमुख सचेतक गुरुङले त सभामुखबाट समय लिएर बोल्दै सदन खुलाएर मात्र एमसीसी सम्झौता अगाडि बढाउन माग गरे । ‘एमसीसीबारे हामीले विगतदेखि नै भन्दै आएका छौं– यसमा गम्भीर प्रकारका, राष्ट्रिय हित र स्वाधीनता प्रतिकूल प्रावधान छन् । त्यसकारण यसलाई परिमार्जन गर्नुपर्छ, संशोधन गर्नुपर्छ, तब मात्र यो प्रक्रिया अघि बढ्न सक्छ,’ गुरुङको भनाइ थियो । 

स्वतन्त्र वातावरणमा गम्भीर बहसबिना सम्झौता निर्णय प्रक्रियामा लगेर लोकतन्त्रको उपहास गरेको मान्छन् माओवादीका नेता श्रेष्ठ । ‘अहिलेसम्म वैदेशिक सहायतासम्बन्धी कुनै पनि सम्झौता नेपालको संसद्मा पेस नगरिएको अवस्थामा एमसीसी सम्झौता मात्र किन संसद्मा पेस गर्ने ? आगामी दिनमा अरू दातृ निकाय वा राष्ट्रले त्यस्तै माग गरे के गर्ने भन्ने सम्बन्धमा कुनै सहमति बनिसकेको छैन । अझ प्रमुख प्रतिपक्षको अवरोध रहेका बेला सामान्य विधेयक वा प्रस्तावसमेत संसद्मा पेस नभइरहेको अवस्थामा दूरगामी महत्त्वको सम्झौता निर्णय प्रक्रियामा लैजाने गरी अघि बढाउन कसरी मिल्छ ?’ उनले कान्तिपुरसँग भने । 

माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले भने विवेक पुर्‍याएर पार्टीले निर्णय लिएको दाबी गर्दै सम्झौता टेबल भइसकेपछि 

संसद्मा बल्ल खास संघर्ष सुरु भएको बताए । ‘गठबन्धनविरुद्ध पर्दा पछाडि भएका षड्यन्त्र रोक्न पार्टीले निर्णय लिएको हो,’ उनले भने, ‘कसैप्रति झुकेर, नजानेर टेबल गर्न दिइएको होइन । यसबारे सरकार, सदन र सडकमा संघर्ष सुरु भएको छ । कोही भ्रममा पर्न हुँदैन ।’ उनले अध्यक्ष दाहालले एमसीसी अनुमोदन प्रक्रिया चुनावपछि सार्न बारम्बार प्रयत्न गरेको बताउँदै अब निर्णय सार्वभौम संसद्ले गर्ने बताए ।

संसद् भवनबाहिर माओवादी केन्द्र र एकीकृत समाजवादी, नेमकिपा, जनमोर्चा, राप्रपालगायतका विभिन्न पार्टीका कार्यकर्ताले प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको थियो । गठबन्धन सम्बद्ध केही प्रदर्शनकारी घाइते भएका छन् । माओवादी अध्यक्ष दाहालले प्रदर्शनकारीमाथि प्रहरी दमन भएको भन्दै विरोध जनाएका छन् । उनले पार्टी र संसदीय दलले गरेको निर्णयअनुसार यथास्थितिमा एमसीसी अनुमोदन नहुने स्पष्ट पारेका छन् । ‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ,’ दाहालको सचिवालयले भन्यो । नेताहरूका अनुसार राजनीतिक मुद्दा सुरक्षित गर्न दाहाल र नेपालले कार्यकर्तालाई सडकमा उतारेका हुन् । एकीकृत समाजवादीका उपमहासचिव तुलाधरले भने सडक र सदनमा दोहोरो चरित्र देखाएको भन्नु गलत भएको दाबी गरे । ‘हाम्रो जनसंगठन छुट्टै हो । पार्टी छुट्टै हो,’ उनले कान्तिपुरसँग भने, ‘पार्टीका कतिपय नीति निर्देशनलाई जनसंगठनले नमान्न पनि सक्छन् । आफ्नै ढंगले उनीहरू जान पनि सक्छन् ।’ 

एमसीसी सम्झौताबारे प्रमुख प्रतिपक्षी एमालेकै नीतिमा पनि अन्तरविरोध देखिएको छ । एमालेका सांसदले वेलमा पुगेर पूर्ववत् नारा लगाए पनि भीम रावलले भने छलफलमा भाग लिए । उनले सभामुखसँग समय नै लिएर एमसीसीको विरोधमा आफ्नो भनाइ राखे । संसद् अवरोध सुरु भएपछि एमालेका कुनै पनि सांसदले छलफलमा भाग लिएका थिएनन् । 

अब सम्झौता टेबल नै भएपछि संस्थागत निर्णय गर्न पनि एमालेमाथि दबाब परेको छ । लामो समयदेखि सदन अवरोध जारी राख्दै आएको एमालेका नेताहरूले सम्झौता 

संसद्मा टेबल भएपछि निर्णय लिने बताएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सम्झौता संसद् सचिवालयमा दर्ता गराएको थियो । त्यसैले एकातिर एमसीसी सम्झौताको विपक्षमा उभिनै नसक्ने नैतिक दबाब छ भने अर्कातिर अनुमोदनकै लागि सदन खोलेको सन्देश गए आगामी चुनावमा असर पर्ने भय पनि एमालेलाई छ । 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले सदन खोल्ने वातावरण बनाए एमसीसीबारे पार्टी धारणा त्यहीं राख्ने बताए । ‘एमसीसीमा छलफल र अनुमोदनपूर्व सरकारले हाम्रा माग सम्बोधन गरेर सदन खोल्ने वातावरण बनाउनुपर्छ । त्यसपछि हामी छफलमा भाग लिन्छौं र संस्थागत निर्णय दिन्छौं,’ उनले कान्तिपुरसँग भने । एमालेले पार्टी विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै सभामुख अग्नि सापकोटाको राजीनामा वा माधव नेपालसहितका १४ सांसदमाथि कारबाहीको सूचना टाँस हुनुपर्ने माग राखेर संसद् अवरोध गर्दै आएको छ । ‘छलफलको वातावरण भएपछि संस्थागत ढंगले एकढिक्का भएर आफ्ना धारणा अगाडि सार्छौं । माथि झन्डा हल्लाइरहने, कार्यकर्तालाई टायर बाल्न लगाउने दोहोरो भूमिकामा हामी छैनौं,’ ज्ञवालीले भने । 

एमाले अध्यक्ष ओलीले गत माघ ९ मा विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनकै नेताहरूले दिइरहेका विरोधाभासपूर्ण अभिव्यक्तिले विकास परियोजनालाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन भूमिका खेलेको टिप्पणी गरेका थिए । अमेरिकी अधिकारीहरूसँग एक खालको र आफ्ना कार्यकर्तासँग बेग्लै कुरा गर्ने गठबन्धन नेताहरूले जनतालाई दिग्भ्रमित पारिरहेको आरोप ओलीको थियो । ओलीले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता अगाडि बढाउन धेरै पटक प्रयास गरेका थिए । 

सोही कारण तत्कालीन सभामुख कृष्णबहादुर महरा र हालका सभामुख सापकोटासँग उनको सम्बन्ध राम्रो बन्न सकेन । एमसीसी सम्झौता संसद्मा निर्णयार्थ पेस गर्न सभामुखले रोकेको आरोप उनले लगाउँदै आएका थिए ।

बबिता शर्मा कान्तिपुर दैनिकमा राजनीतिक ब्यूरोमा कार्यरत छिन् ।

Link copied successfully