अश्लील गालीगलौजको संवाद सार्वजनिक भएपछि पर्यटनमन्त्री आले विवादमा

फाल्गुन ३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले अश्लील गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका छन् ।

उनले अश्लील गाली गरेको अडियो सामाजिक संजालमा भाइरल भएको छ । मन्त्री पदमा बसेको व्यक्तिले सामाजिक मर्यादा प्रतिकूलको बाेलीवचन प्रयोग गरेको सार्वजनिक भएपछि सामाजिक संजालमा उनको राजीनामा माग्नेदेखि उनका विगतका कार्यशैलीमाथि टिप्पणी भएका छन् । मन्त्री आलेले अश्लील गाली गरेको अडियो भारतको मुम्बई बस्ने अछामका जगत ओलीले सार्वजनिक गरेका हुन् र स‌ंवाद पनि उनीहरुबीचको नै हो । 

सामाजिक सं‌जालमा किन नराम्रो लेखेको भन्ने विषय उठान गर्दै मन्त्री आलेले ओलीलाई अश्लील गाली गरेको अडियोमा सुनिन्छ । त्यसपछि ओलीले पनि मन्त्री आलेलाई अश्लील गाली गर्दै स‌ंवाद अघि बढाएको सुन्न सकिन्छ । मन्त्री आलेले उनलाई बसेकै ठाउँबाट उठाइदिने धम्की दिएको पनि अडियोमा सुनिन्छ । 

सोमबार रातिबाट सार्वजनिक भएको अडियो म‌ंगलबार दिउँसोसम्म सामाजिक स‌ंजालमा भाइरल भयाे । त्यसपछि मन्त्री आलेको सचिवालयले यो  विषयमा मुख खोल्यो । मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मीले प्रेस विज्ञप्ति जारी गर्दै पुरानो भिडियो स‌ंवाद तोडमोड गरेर सार्वजनिक भएको उल्लेख गरेको छ । 'यसबारे छानबिन गर्न प्रहरी प्रशासनलाई अनुरोध गर्दछाैं,' स्वकीय सचिव रेग्मीको विज्ञप्तिमा छ, 'हामीले कानुनी परामर्श थालिसकेका छौं ।'

विगतमा विवादित अभिव्यक्ति दिने र गतिविधि गर्ने मन्त्रीले पद गुमाएको उदाहरण छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भने मन्त्रीहरुका यस्ता गतिविधिहरुमा खासै चासो दिएका छैनन् । यसअघि भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवले हिंसा भड्काउने अभिव्यक्ति दिए पनि प्रधानमन्त्री अहिलेसम्म मौन छन् ।

यो पनि

आलेका स्वकीय सचिवले जारी गरेको  विज्ञप्ति

 

कान्तिपुर

Link copied successfully