देउवा, दाहाल र नेपालबीच भेटवार्ता

काठमाडौँ — सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच अमेरिकन सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा छलफल भएको छ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसीबारे छलफल भएको हो ।

देउवा, दाहाल र नेपालबीच भेटवार्ता

प्रधानमन्त्री देउवालाई भेट्न दाहाल र नेपाल बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । स्रोतका अनुसार भेटमा दाहाल र नेपालले अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसकिने भन्दै अझै केही समय लिएर मात्रै अघि बढाउनुपर्ने बताएका थिए ।

कम्तीमा चुनावअघि एमसीसीलाई अघि बढाउन नसकिने भनाइ थियो । तर, प्रधानमन्त्री देउवाले भने आफूले दिएको समयसीमाभित्रै एमसीसी अनुमोदन गराउनुपर्नेमा अडान लिएका छन् ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले यसअघि सामुहिकरुपमा एमसीसीलाई पत्राचार गर्दै फेब्रुअरी २८ भित्र संसद्‌बाट एमसीसी अनुमोदन गराउने वचन दिएका थिए । तर, माओवादी अध्यक्ष दाहाल त्यो प्रतिवद्धताबाट पछि हटेका छन् ।

बिहीबार बिहानमात्रै माओवादी अध्यक्ष दाहालले कांग्रेस नेता शेखर कोइरालासँगको भेटमा एमसीसी सम्झौता तत्काल संसद्‌मा प्रवेश नगराउने गरी प्रधानमन्त्रीसँग छलफल भइरहेको बताएका थिए । एमसीसीलाई चुनावपछिसम्मको समय माग्नुपर्ने उनको भनाइ थियो ।

संसद्‌बाट एमसीसीसँगको सम्झौता अनुमाेदन गर्ने सम्बन्धमा सत्ता गठबन्धनभित्रै मतभेद छ । शीर्ष नेताहरु एमसीसी पास गर्नुपर्ने पक्षमा मत्थर देखिएपनि विपक्षमा बोल्न पार्टीभित्र नेता कार्यकर्ताको दबाब छ । नेकपा एकिकृत समाजवादीनिकट भ्रातृ संस्थाहरुले त एमसीसी सम्झौता संसदबाट अनुमाेदन गर्न नहुने भन्दै आन्दोलनको घोषणा नै गरिसकेका छन् ।

प्रकाशित : माघ २७, २०७८ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?