कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५
दाहाल–कोइराला भेटवार्ता

दाहालले कोइरालालाई भने– 'चुनावी गठबन्धनले सबैलाई फाइदा छ, विरोध नगरिदिनुस्'

कोइरालाको जवाफ– 'चुनावमा गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा छैन, त्यो पुरानै सिकाइ हो । कांग्रेसले तपाईंलाई भोट हाल्छन् । तर, तपाईंका कार्यकर्ताले रुखमा भोट हाल्दैनन्, बरु एमालेतिरै लाग्छन् ।'

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइराला र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । नेता कोइराला दाहाललाई भेट्न बिहीबार बिहान खुमलटारस्थित उनको निवास पुगेका थिए । कोइराला–दाहालबीच समसामयिक राजनीतिक विषयहरूमा करिब डेढ घण्टा कुराकानी भएको छ ।

दाहालले कोइरालालाई भने– 'चुनावी गठबन्धनले सबैलाई फाइदा छ, विरोध नगरिदिनुस्'

भेटमा पछिल्ला राजनीतिक घटनाक्रमहरू अमेरिकाको मिलेनियम च्यालेन्ज (एमसीसी) सम्झौता, संसद् सञ्चालन र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको नेता अमरेशकुमार सिंहले जानकारी दिए । भेटमा माओवादी केन्द्रका अध्यक्ष दाहालले नेता कोइरालालाई सत्ता गठबन्धनलाई चुनावी गठबन्धनमा लैजाने विषयमा सहयोग गर्न आग्रह गरेका थिए ।

‘अहिलेको सत्ता गठबन्धन दलहरूकैबीच चुनावी गठबन्धन पनि गरौँ भनेर छलफल भइरहेको छ, हामीहरूबीच गठबन्धन गर्दा सबैलाई फाइदा छ । तपाईं निर्णय गर्ने ठाउँमा हुनुहुन्न । तर, निर्णय प्रभावित गर्ने ठाउँमा हुनुहुन्छ,’ दाहालले भनेका थिए, ‘गठबन्धन गरौँ । तपाईंले चुनावी गठबन्धनको विरोध नगरिदिनुस् ।’

अध्यक्ष दाहालले आगामी चुनावमा गठबन्धन गर्दा अहिलेको सरकार पनि बच्ने तथा संविधान र लोकतन्त्रको रक्षाका निमित्त समेत गठबन्धनले आफ्नो उदेश्यबमोजिम काम गर्न सक्ने बताएका थिए ।

जवाफमा नेता कोइरालाले भने गठबन्धन गर्दा कांग्रेसलाई कुनै फाइदा नहुने बताएका थिए । ‘सरकारमा गठबन्धन छँदैछ, आगामी सरकारमा पनि गठबन्धन गर्न सकिन्छ,’ कोइरालाले भनेका थिए, ‘तर, अहिले चुनावमा गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा छैन, त्यो पुरानै सिकाइ हो । कांग्रेसले तपाईंलाई भोट हाल्छन् । तर, तपाईंका कार्यकर्ताले रुखमा भोट हाल्दैनन् । बरु एमालेतिरै लाग्छन् । त्यसैले गठबन्धन गर्दा तपाईंलाई र कांग्रेस दुवैलाई फाइदा छैन ।’

नेता कोइरालाले एमसीसी संसद्‌बाट अनुमोदन गर्ने विषयले राष्ट्रिय राजनीति नै प्रभावित र विभाजित भएको भन्दै त्यसलाई छिटो टुंगोमा पुर्‍याउन आग्रह गरेका थिए । ‘एमसीसीबारे तपाईंको धारणा प्रष्ट हुनुपर्‍यो । सरकारमा बसेर यसलाई गिजोल्नुभएन । यसले राष्ट्रिय राजनीतिलाई प्रभावित गर्छ,’ कोइरालाले भनेका थिए, ‘कम्तिमा एमसीसीलाई संसदमा टेबल गराउनुस् । त्यसपछि त्यहाँ छलफल हुन्छ र त्यसलाई पास गराएर अघि बढ्न सहज हुन्छ । संसद्‌मा टेबल गर्न नै अवरोध गर्ने कुरा राम्रो होइन ।’

अध्यक्ष दाहालले भने चुनावअघि एमसीसी पास गर्न नसकिने बताएका थिए । ‘एमसीसीबारे हामी छलफलमै छौँ । तर, चुनावअघि एमसीसी पास गर्न सकिँदैन । मैले प्रधानमन्त्रीजीसँग अनुरोध गरिरहेको छु, यसलाई अझै समय लिएर छलफल गरेरमात्रै टुंगोमा पुर्‍याउन सकिन्छ,’ दाहाललाई उदृत गर्दै छलफलमा सहभागी नेता सिंहले भने, ‘चुनावअघि एमसीसी पास गराउन असहज छ ।’

भेटमा नेता कोइरालाले सत्ता गठबन्धन र सरकारले संसद् सञ्चालनका लागि पहल लिनुपर्ने बताएका थिए । ‘धेरै समयदेखि संसद् अवरुद्व भएको छ । यसले कसैलाई पनि फाइदा गरेको छैन, गठबन्धन र सरकारले यसबारे पहल लिनुपर्‍यो, संसद् खुलाउनुपर्‍यो, संसद्‌मा जनताका समस्या र सवालहरूमाथि छलफल हुनुपर्‍यो,’ कोइरालाले भनेका थिए ।

भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ समेत सहभागी थिए ।

प्रकाशित : माघ २७, २०७८ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?