१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

ग्रिस छिर्न खोज्दा ज्यान गुमाउँदै नेपाली

विभिन्न माध्यमबाट टर्की पुगेर मानव तस्करको सहयोगमा ग्रिस जान खोज्ने नेपालीको संख्या बढ्दो
जनकराज सापकोटा

काठमाडौँ — टर्कीबाट अवैध रूपमा ग्रिस छिरेपछि फकाईएकामध्ये १९ जनाको शव सीमाछेउमा भेटिएको एक साता भइसक्दा पनि सनाखत हुन सकेको छैन । सीएनएनको वेबसाइटमा गत बिहीबार प्रकाशित समाचारका अनुसार व्यापक हिमपात भएका बेला ग्रिसबाट फर्काइएकाहरूको अत्यधिक चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो । गैरआवासीय नेपाली संघ टर्कीका अध्यक्ष उज्ज्वलकुमार घिसिङका अनुसार उक्त घटनामा नेपाली पनि परेको आशंका गरिएको छ । 

ग्रिस छिर्न खोज्दा ज्यान गुमाउँदै नेपाली

संगठित मानव तस्करको फन्दामा परेर टर्की पुग्ने र त्यहाँबाट जटिल भौगोलिक अवस्था भएको स्थलमार्ग छिचोल्दै ग्रिस छिर्न खोज्नेहरूमा दर्जनौं नेपाली हुने गरेका छन् । बंगलादेशी प्रवासी फोरम नामक फेसबुक पेजमा रियाज नामका बंगलादेशीले आफूसहित नेपाली, पाकिस्तानी र केही अफ्रिकीलगायत करिब ५० जना टर्कीबाट अवैध रूपमा ग्रिस प्रवेश गरेलगत्तै सीमा सुरक्षा अधिकारीले पक्राउ गरेको उल्लेख गरेका छन् । उनले भिडियोमा भनेका छन्, ‘सबैलाई प्रहरीले थुनामा राख्यो । खान पनि दिएन । जुत्ता र बाक्लो कपडा खोलेर चड्डी र बनियानसहित सीमावर्ती नहर कटाएर छोडिदियो ।’ उनले टर्की फर्किने क्रममा १९ को मृत्यु भएको जनाएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गत बिहीबार घटनाबारे सार्वजनिक अभिव्यक्ति दिँदै प्रत्येक पल्ट ग्रिसले आप्रवासीलाई गैरकानुनी तरिकाले बलपूर्वक फिर्ता पठाउने गरेको वासिङ्टन पोस्टले उल्लेख गरेको छ । टर्कीका आन्तरिक मामिलामन्त्रीका अनुसार सीमावर्ती क्षेत्रमा भेटिएकाहरू जुत्ताविहीन र कपडाविहीन अवस्थामा भेटिएका छन् । एकजनालाई जीवितै उद्धार गरिए पनि तिनको अस्पतालमा मृत्यु भएको र मृतकहरू कुन देशका हुन् भन्ने नखुलेको ती मन्त्रीको भनाइ छ ।

गैरआवासीय नेपाली संघ टर्कीका अध्यक्ष घिसिङले ४२ जना डिपोर्ट भएकामा ८ जना नेपाली रहेको सूचना आफूहरूले पाएको बताए । ‘आठमध्ये सात नेपाली टर्की फर्केको जानकारी छ । एक जना नेपालीको अवस्था अझैसम्म थाहा हुन सकेको छैन,’ उनले भने । ज्यान बचाएकाहरूले दिएको जानकारीअनुसार फर्कने क्रममा बाटामा हिउँ जमेकाले अत्यन्त चिसो थियो । ग्रिस प्रहरीले धेरैको जुत्ता र ज्याकेटसमेत खोसिदिएको थियो । ‘बिरामी दुईमध्ये एक जनालाई बोकेर ल्याइए पनि एक जना बाटोमै छुटेको भनिएको छ । तिनको अवस्था अज्ञात छ,’ घिसिङले भने । बाटैमा छुटेका नेपाली कैलालीका दिव्यदेव अवस्थी रहेको जनाइएको छ । अवस्थीका भिनाजु वीरेन्द्रराज जोशीले ७ जना हिमपात र चिसो छल्दै टर्कीको इस्तानबुल आइपुगेकामा र आफ्नो सालो बाटोमै छुटेर बेपत्ता भएको जानकारी आएको बताए ।

जोशीका अनुसार अवस्थी गत दसैंअघि सिनामंगलको मिट्टा इन्टरनेसनल मेनपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएर टर्की पुगेका थिए । परिवारका सदस्यहरूका अनुसार मिट्टाले त्यति बेला ८ जनालाई टर्की पठाउने तारतम्य मिलाएको थियो । उनीहरूले जनही ७ देखि ८ लाख रुपैयाँसम्म खर्च गरेको पाइएको छ । उनीहरूले ग्रिस छिर्न जनही तीन लाख रुपैयाँ संगठित मानव तस्करका सदस्यहरूलाई बुझाएको देखिन्छ ।

गत कात्तिक २५ मा पनि ग्रिसको राजधानी एथेन्सबाट ५ सय २ किलोमिटर पूर्वको सीमावर्ती क्षेत्रमा भएको कार दुर्घटनामा ४ नेपालीसहित ७ आप्रवासीको ज्यान गएको थियो । मानव तस्करको सहयोगमा टर्कीबाट ग्रिस छिर्न खोज्ने क्रममा सीमा सुरक्षाकर्मीलाई छल्न तीव्र गतिमा गाडी कुदाएका बेला भएको उक्त दुर्घटनामा भएको थियो । दुर्घटनामा मृत्यु भएका नेपालीको शव नेपाल पठाएको भोलिपल्ट १९ जना आप्रवासीको शव भेटिएको हो ।

गैरआवासीय नेपाली संघ टर्कीका अध्यक्ष घिसिङले पछिल्ला वर्षमा टर्कीबाट मानव तस्करको सहयोगमा जोखिमपूर्ण तरिकाले ग्रिस छिर्न खोज्ने नेपालीको संख्या बढ्दै गएको बताए । उनका अनुसार गत साताको घटनाबारे अस्ट्रियाको भियनामा रहेको नेपाली कन्सुलेट र पाकिस्तानस्थित नेपाली दूतावासमा अनौपचारिक जानकारी गराएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी प्रमुख टेकप्रसाद राईले उक्त घटनाबारे आफूहरूले थाहा नपाएको र घटनामा नेपाली परेको विषयमा कोही पनि सम्पर्कमा नआएको बताए ।

प्रकाशित : माघ २६, २०७८ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?