पदाधिकारीलाई काममा रोक लगाएको अवस्थामा केन्द्रले पठाएका कर्मचारीसमेत फर्किएपछि प्रतिष्ठानको उपचार सेवा प्रभावित
सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या सुधार गर्न भन्दै आएका डा. श्यामसुन्दर यादव स्वास्थ्य मन्त्रालयमै फर्किएका छन् । उनलाई सरकारले माघ ६ गते मन्त्रालयका प्रमुख विशेषज्ञका रूपमा प्रतिष्ठान पठाएको थियो । उनका सहयोगीका रूपमा आएका सुनसरीको इनरुवास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख चिरिञ्जीवी अधिकारी पनि आफ्नै कार्यालय फर्केका छन् ।
आठ महिनायता प्रतिष्ठानमा राजनीतिक नियुक्ति लिएर आएका पदाधिकारीले आर्थिक अनियमितता गरेको भन्दै प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिमा आबद्ध चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीहरूले आन्दोलन चर्काएपछि विभिन्न उच्चस्तरीय कार्यदलले छानबिन गरेका थिए । प्रधानमन्त्री कार्यालयबाट प्रतिष्ठानको समस्या पहिचान र समाधानका लागि आएको बैकुण्ठ अर्यालको संयोजकत्वको आठ सदस्यीय कार्यदलले विस्तृत प्रतिवेदन तयार गरेर बुझाएको थियो । नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सा शिक्षा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पनि स्थलगत छानबिन गरेर प्रतिवेदन तयार गरेका थिए । अख्तियारको प्रतिवेदन भने गोप्य राखिएको छ । प्रतिष्ठानभित्रै पनि आन्तरिक छानबिन भएको थियो भने महालेखा परीक्षकको कार्यालयले पनि प्रतिष्ठानको विषय समेटेर आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको थियो ।
तिनै प्रतिवेदनका आधारमा सरकारले प्रतिष्ठान सुधार्न र पदाधिकारीलाई कारबाही प्रक्रिया अगाडि बढाउन भन्दै डा. यादव र अधिकारीलाई आर्थिक र प्रशासनिक अधिकार दिएर माघ ६ गते पठाएको थियो ।
प्रतिष्ठानका पदाधिकारीलाई सञ्चालक परिषद् (सिनेट) वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत वैधानिक रूपमा कारबाही नगरी काममा मात्र रोक लगाइएको छ । उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्राडा गुरु खनाल र अस्पताल निर्देशक प्राडा गौरीशंकर साहलाई सरकारले माघ पहिलो सातादेखि नै काममा रोक लगाएको छ । डा. यादव र अधिकारीले प्रतिष्ठान सञ्चालन गर्न सरकारले आर्थिक र प्रशासनिक अधिकार दिएको पत्र प्रशासन शाखामा दर्ता गर्न दिएका थिए । तर कर्मचारी प्रशासनले उनीहरूलाई प्रतिष्ठानको ऐन र नियमावलीको पुस्तिका देखाउँदै ‘यो ऐन र नियमावलीको कुन दफा, उपदफाले तपाईंहरूलाई चिन्छ, त्यो देखाएपछि मात्र आर्थिक र प्रशासनिक अधिकार प्रयोग गर्न सक्नु हुन्छ’ भन्दै सचेत गराएका थिए । २०४९ सालको संसद्ले पास गरेको प्रतिष्ठानको ऐन र नियमावलीले आर्थिक र प्रशासनिक अधिकार उपकुलपतिबाहेक अरूलाई दिने कल्पना गरेको छैन । सरकारले भने उनीहरू दुवैलाई खातासमेत सञ्चालन गर्ने अधिकार दिएर पठाएको थियो ।
प्रतिष्ठानमा आर्थिक कारोबार र प्रशासनिक काम गर्न नसक्ने अवस्था भएपछि डा. यादव स्वास्थ्य मन्त्रालयमै फर्किएका हुन् । प्रतिष्ठानको नियमावलीमा आर्थिक अधिकार उपकुलपतिलाई दिइएको छ । ‘प्रतिष्ठान सञ्चालन गर्ने ऐन र नियमावलीले हामीलाई नचिन्ने भएपछि फेरि परामर्शका लागि स्वास्थ्य मन्त्रालयमा फर्किएको हो,’ डा. यादवले भने, ‘मंगलबार यसै विषयमा मन्त्रालयमा बैठक हुँदै छ ।’
पदाधिकारीलाई काममा रोक लगाएपछि र केन्द्रबाट आएका कर्मचारी पनि फर्किएपछि प्रतिष्ठानको उपचार सेवा प्रभावित हुन थालेको छ । प्रयोगशालामा रिएजेन्ट, किट, केमिकलको समेत अभाव हुन थालेको छ । मेडिकल स्टोर प्रमुख सञ्जीव कर्णले खरिद र आपूर्तिमा समस्या उत्पन्न भएपछि अस्पतालमा अनिवार्य चाहिने स्प्रिट सकिन लागे पनि खरिद गर्न नसकेको बताए । ‘अपरेसन थिएटरमा बिरामीको शल्यक्रिया गर्दा चाहिने कट्री मेसिन खरिद रोकिँदा ओटीसमेत प्रभावित हुन थालेको छ,’ उनले भने ।
प्रतिष्ठानका एक वरिष्ठ चिकित्सकले सरकारले प्रतिष्ठानलाई जिल्ला अस्पताल जस्तो सम्झेको बताए । ‘प्रतिष्ठानमा पदाधिकारीहरूले फट्याई गरेका छन् भनेर सबै प्रतिवेदनले भनिसके । समाधानको उपाय पनि दिएका छन्,’ उनले भने, ‘सिनेट बसेर पदाधिकारीलाई कारबाही गर्दा भइहाल्थ्यो ।’
प्रतिष्ठानका मेडिसिन विभाग पूर्व प्रमुख प्राडा सञ्जीव शर्माले संवेदनशील क्षेत्रको समस्या समाधान गर्न सरकार नै संवेदनशील नभएको बताए । प्रतिष्ठान सुधार्नका लागि प्रतिष्ठानकै ऐन नियमावलीअनुसार सरकारले प्रक्रिया नचाल्दा बिरामीको उपचार सेवा प्रभावित हुने अवस्थामा पुगेको उनको भनाइ छ । ‘चिकित्सकले त ओपीडीमा बिरामीको जाँच गर्ला तर सामान्य सियोधागो वा कटन नै खरिद हुन नसकेपछि कसरी शल्यक्रिया हुन्छ ?’ उनले भने, ‘प्रयोगशालामा किट, रिएजेन्ट, केमिकल सकिएपछि कसरी ल्याब रिपोर्ट दिन सकिन्छ ?’ समस्या समाधान गर्नुको साटो सरकारले प्रतिष्ठानलाई पेन्डुलम बनाएको उनले आरोप लगाए ।
