कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लोसपा चोइटिँदै, वृषेशचन्द्र लालले तमलोपा ब्युँत्याउने 

मणि दाहाल

काठमाडौँ — मधेस आन्दोलनपछि महन्थ ठाकुरलाई नयाँ दल खोल्ने महत्वपूर्ण सहयोग गरेका नेता वृषेशचन्द्र लालले लोसपा छाेडेर तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)लाई ब्युँत्याउने भएका छन् । 

लोसपा चोइटिँदै, वृषेशचन्द्र लालले तमलोपा ब्युँत्याउने 

जनता समाजवादी पार्टीबाट विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संगठनात्मक संरचना निर्माणमा ठाकुरसहितको समूह सक्रिय रहेका बेला लाल लगायतका असन्तुष्ट नेताहरुले तमलोपालाई ब्युँत्याउन लागेका हुन् । लालले विभिन्न जिल्लाका नेताहरुसँग यस विषयमा सम्पर्क र छलफल भइरहेको बताए ।

‘लोकतान्त्रिक रुपमा सञ्चालन गर्ने, आन्तरिक लोकतन्त्रको मजबुत भएको र संस्थागत निर्णय हुने पार्टी बनाउन खोजेका हौं’ लालले भने, ‘यस विषयमा तराई मधेसका विभिन्न जिल्लाका साथीहरुसँग छलफल गरिरहेका छौं ।’

लालले पुरानो तमलोप दर्ता गरेर निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरिसकेेको बताए । ‘अहिले यस क्षेत्रमा मौसम त्यही अनुकूल छैन । त्यसैले जिल्ला भेलाहरु आयोजना गर्न सकेका छैनौं तर विभिन्न माध्यमहरुको प्रयोग गरेर सरसल्लाहमा रहेका छौं’ लालले भने ।

लाल निकटका नेताहरु फागुनभित्र नयाँ दलले आकार लिइसक्ने बताउँछन् । लालको यो अभियानलाई संविधानसभाका सदस्य विजयकुमार सिंहले साथ दिँदै आएका छन् । जनकपुर नगरपालिकाका पूर्व मेयर लाल मधेस आन्दोलनपछि नेपाली कांग्रेस छाडेका ठाकुरलाई तमलोपा गठन गर्नका लागि महत्वपूर्ण सहयोग गरेका थिए ।

लालले मधेस आन्दोलनले उठाएको विषयलाई अहिलेको मधेसवादी दलका नेतृत्वले सही रुपमा अघि बढाउन नसक्ने दाबी गर्दै आएका छन् ।

‘मधेसमा उठाएको समानता, समावेशिता, स्वशासनको मुद्दाहरु नेपालका लागि ऐतिहासिक थियो । ती मुद्दाहरुलाई मधेसका पार्टीहरुले अघि बढाउन सकेनन् । त्यसको कारण नेतृत्व नै प्रमुख हो’ लालले आफ्नो सम्पर्कमा आएका नेताहरुलाई भन्ने गरेका छन् ‘नेतृत्वले यो सबै कुरालाई तोडमडोर गरेर प्रस्तुत गर्‍यो । सबै आन्दोलनको उर्जालाई सत्ता र सरकारमा भजाउन खोज्यो । अहिले सत्ता र सरकारको गठबन्धनका लागि मधेस केन्द्रीय दल हामी हौं भन्न पनि छाडेका छन् ।’

उनले अहिलेका मधेसवादी दलहरुले संघीयतालाई सफल बनाउन नसक्ने धारणा राख्दै आएका छन् । जनकपुरमै बसेेर राजनीति गर्दै आएका लालले लामो समयदेखि सानो समूहले नभई पार्टीलाई संस्थागत निर्णयको आधारमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका थिए ।

त्यसैगरी लालले वामपन्थी दलको गठबन्धनमा मधेसवादी दलको सहभागितालाई रुचाएका थिएनन् । विभिन्न जिल्लाका नेताहरुसँग छलफलमा उनले मधेसका जनताहरु लोकतान्त्रिक रहेको तर मधेसवादी दल र नेताहरुले जबरजस्ती वामपन्थी बनाउन खोजेको आरोप लगाउने गरेका छन् ।

‘मधेसका जनता लोकतान्त्रिक छन र लोकतन्त्रमा विश्वास गर्छन् तर अहिलेका मधेसवादी दल र त्यसको नेतृत्व चाँही वामपन्थीहरुको पछि लागेका छन् । सम्पूर्ण मधेसलाई जबरजस्ती वामपन्थी बनाउन गरेका छन्,’ लाललाई उद्धृत गर्दै एक नेताले भने ।

लालले मधेस आन्दोलनका माग र प्राप्त उपलब्धीलाई अहिलेका मधेसवादी दलहरुले तोडमोड गरेको र नयाँ नेतृत्वलाई अवरुद्ध पारेको आरोप लगाउने गरेका छन् । तमलोपा अघि बढाउन नेताहरुले आन्दोलन विकास गरेको नेतृत्वलाई पनि नेतावाद कुटुम्बवादको नाममा अवरुद्ध पारेको आरोप लगाउने गरेका छन् ।

‘समानुपातिक प्रतिनिधित्वमा मनलाग्दी भयो आन्तरिक लोकतन्त्रको कुरा गर्नेहरुलाई विरोध ठान्ने काम भयो । त्यसलाई मास्ने प्रयास भयो’ उनीहरुको धारणा रहेको छ ।

लोसपा गठन हुँदा समेत उठाएका विषयलाई अध्यक्ष ठाकुरसहित नेतृत्वमा रहेको समूहले कार्यान्वयन नगरेको भन्दै उनीहरु असन्तुष्ट रहेका छन् ।

‘संस्थागत रुपमा पार्टी सञ्चालनका लागि राजपा(राष्ट्रिय जनता पार्टी)को स्थापनादेखि नै कुरा उठाए पनि लागू भएन । लोसपा निर्माण गर्दा पनि भनेको हो । लोकतान्त्रिक पार्टी बन्दैन, लोकतान्त्रिक हिसाबले चल्दैन भने केही व्यक्तिहरुको प्राइभेट कम्पनी जस्तो भयो भने पार्टीको कुनै अर्थ नै छैन’ ती नेताले भने ।

मधेस आन्दोलनपछि २०६४ साल कांग्रेस र एमालेको केन्द्रमा राजनीतिमा गरिरहेका मधेस पृष्ठभूमिका नेताहरुले ठाकुरको नेतृत्वमा तमलोपाको गठन गरेका थिए । अन्य मधेसवादी दलहरुको जस्तै तापलोपामा पनि पटक-पटक विभाजन भएको छ ।

प्रकाशित : माघ २१, २०७८ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?