महाकालीमा नेपाल-भारत जोड्ने पुल निर्माण गरिँदै

माघ १८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — भारत सरकारको अनुदान सहयोगमा दार्चुलास्थित महाकाली नदीमा भारतको धार्चुला जोड्ने पुल निर्माण गरिने भएको छ । भारतको उत्तराखण्डस्थित धार्चुला र नेपालको सुदूरपश्चिमस्थित दार्चुला जोड्ने उक्त पुल निर्माणको लागि मंगलबार भारतीय पक्षसँग सम्झौता भएको हो ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकारको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताको क्रममा नेपालको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवको समेत उपस्थिति थियो ।

उक्त 'मोटरेबल' पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्डबीच 'सीमापार कनेक्टिभिटी' सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमाका समुदायको सम्पर्कलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

उक्त सम्झौताबारे काठमाडौंस्थित भारतीय राजदूतावासले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । दुवै देशका सरकारले वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीच सम्बन्ध सुव्यवस्थित बनाउनका लागि उक्त परियोजना अघि सारेको जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै उक्त पुल छिट्टै निर्माण हुने योजना रहेको बताइएको छ ।

कान्तिपुर

Link copied successfully